६ वैशाख २०८१ बिहीबार
खेल

आइभन र प्रेरणालाई उपाधि

काठमाडौं - सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार आइभन हो लिसानेविच र प्रेरणा कोइराला च्याम्पियन बनेका छन्। पुरुष सिंगल्समा आइभन तथा महिलामा प्रेरणा च्याम्पियन भएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे।

महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन्। प्रेरणाले अश्लेषालाई ६–३ र ६–२ को सीधा सेटमा हराउँदै उपाधि रक्षा गरिन्। एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो। गत बैशाखमा प्रेरणाले सिटिजन्स बैंक खुला टेनिस उपाधि जितेकी थिइन्। त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपिएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन्। पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए।

मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भयो। फाइनलमा सो जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगायो। पहिलो हुनेले ३५ हजार र दोस्रोले १७ हजार ५ सय नगद पुरस्कार हात पारे। पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घले पहिलो भए। उनले फाइनलमा कमल थापालाई ६–४ र ६–४ को सेटमा पाखा लगाए। कृष्णले १५ हजार तथा कमलले ७ हजार नगद पुरस्कार पाए।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षत्रीको जोडीले बाजी मा¥यो। गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीविरुद्धको फाइनलमा सुदर्शन र राजुको जोडी २–६, ६–१ र १०–६ ले विजयी भयो। विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार थापे।

पुरुष ४५ वर्षमाथि सिंगल्स फाइनलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१ र ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे। चन्द्रले २५ हजार तथा राजुले १२ हजार ५ सय रुपियाँ पुरस्कार प्राप्त गरे। विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाख्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भएका थिए।

विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। छदिने प्रतियोगितामा ५ विदेशीसहित १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो। कुल नगद पुरस्कार राशि ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App