६ वैशाख २०८१ बिहीबार
समाज

हराभरा बन्दै बाँके र बर्दिया

बर्दिया - सरकारको प्राथमिकतामा परेका आयोजनामध्येमा पर्छन्– बबई (बर्दिया) र सिक्टा (बाँके) सिँचाइ आयोजना। पश्चिम तराईका बाँके र बर्दियाका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याएर उत्पादन बढाउने अठोटका साथ यी आयोजना सुरु गरिएका हुन्। तर तीन दशक बित्दा पनि यी आयोजना पूरा हुन सकेका छैनन्। भारतीय हस्तक्षेप, बजेट र दक्ष जनशक्तिको अभावमै यी आयोजना बेलैमा बन्न नसकेका हुन्।

‘नेपालको पानी नेपालमै’ भन्ने मुख्य नारासहित यी आयोजना सुरु गरिएको हो। तर, पछिल्लो समयमा आयोजनामा भएको प्रगतिले सरकारी अठोट यथार्थमा बदलिँदै छ। योजनामा भएको प्रगतिले भारततर्फ बगिरहेको पानी नेपाली किसानको खेतमा पु-याउने सरकारको अठोट पूरा हुने आशा पलाएको छ। यतिखेर बबई सिँचाइ आयोजनाले विस्तार गरेको ४२ किलोमिटर नहरमा बबई नदीको पानी बग्दैछ। यस्तै, सिक्टा सिँचाइको २० किलोमिटर नहरमार्फत किसानको खेतमा पानी पुगिरहेको छ।

आयोजनामा देखिएको प्रगतिले बर्दिया र बाँकेका किसानले पुनः सपना देख्न थालेका छन्– थोरै जग्गामा धेरै नगदेबाली उब्जाउने। किसानका सपना साकार बनाउने सरकारको प्राथामितामा परेका यी आयोजनाले पछिल्लो समयमा लिएको गतिले किसानमा उत्साह थपेको छ। वैशाख ३ गते ‘ब्रेक थ्रु’ भएको भेरी–बबई डाईभर्सनको सुरुङबाट खेत–खेतमा पुग्ने पानीले बाँके र बर्दिया गुल्जार बन्दै छन्। समय अवधिभन्दा एक वर्षअघि नै ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) भएको हो। उक्त आयोजनाको सुरुङबाट माघ महिनासम्म आठ हजार क्युमेक्स पानी बबई नदीमा खसाल्न सरकारले अन्तिम तयारी थालेको छ।

लयमा हिँड्दै बबई र सिक्टा सिँचाइ आयोजना

बबईको पानीबाट बाह्रैमास बाँके र बर्दियाका अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजना प्रमुख बताउँछन्। त्यसैका लागि भूर्गभविद्, जलस्रोतविद् र आयोजना कार्यालयका प्रमुख यतिबेला अध्यन र अनुसन्धानमा व्यस्त छन्। बबई नदीमा खसालेको भेरीको पानी बबई र सिक्टा आयोजनाले बाँके र बर्दियामा विस्तार गरेको नहरबाटै ५१ हजार हेक्टर जग्गा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ। लक्ष्य साकार भए बर्दियाको अधिकांश भूभागमा अर्थात् ३६ हजार हेक्टरमा बाह्रैमास सिँचाई सुविधा पुग्नेछ। यस्तै, प्रारम्भिक रिपोर्टबाट सिक्टा सिँचाइको क्षतिग्रस्त पाँच किलोमिटर नहरबाहेक बाँकी नहरबाट ९ हजार हेक्टरमा सिँचाइ पुग्ने अनुमान छ।

भेरी–बबई डाईभर्सनका प्रमुख सञ्जीब बराल, बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ र सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्ण नेपालले बिहीबार परेवाओडारस्थित बबई सिँचाइ आयोजनाको हेड वक्र्सको स्थलगत अनुगमन गरे। राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यी भिन्न–भिन्न आयोजनाका प्रमुख एकैसाथ अनुगमन गर्नुको उद्देश्य भने एउटै थियो– बाँके र बर्दियाका खेत–खेतमा कसरी पानी पुग्छ ? यसका लागि उनीहरूसँग तीनटा विकल्प छन्। पहिलो– बबई नदीको चेपाङदेखि पाँच किलोमिटर सुरुङ खनेर पानी पु¥याउने। दोस्रो– बर्दिया र बाँकेको सीमास्थित मानखोलाको पूर्वतर्फ थप नहर निर्माण गर्ने। तेस्रो– बबई सिँचाइको पूर्वी नहर प्रणालीको उत्तरतर्फ थप नहर निर्माण गरेर सिँचाई सुविधा पु¥याउने।

लिफ्टिङ प्रविधि
भेरी–बबई डाइभर्सनको पहिलो चरणअन्र्तगत सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाले दोस्रो चरणका प्रक्रिया थालेको छ। आयोजनामा बाँध बाँधेर सुरुङबाट भेरीको पानी बबई नदीमा खसाल्न सकिने हुनाले तत्कालका लागि आठ हजार क्युमेक्स पानी लिफ्टिङ प्रविधिबाट आपूर्ति गर्ने अवधारणा छ। यसको लागत २० करोड रुपैयाँ लाग्ने अनुमान छ। यसका लागि ठेक्का प्रक्रिया अघि बढेको भेरी–बबई डाइभर्सन आयोजना प्रमुख बरालले बताए।

‘६ किलोमिटर टनेल रिक्स जोनमा थियो,’ उनले भने, ‘उक्त जोनभन्दा अघि नबढेसम्म टनेल पूरा नहुने खतरा थियो। त्यो खतरा ट-यो। त्यसपछि दोस्रो चरणको काम तीव्र रुपमा अघि बढेको छ।’ यसअन्तर्गत सिभिल निर्माण, इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान, हाइड्रोमेकानिकल निर्माण तथा जडान कार्य भइरहेको छ।
पर्यटकीय गन्तव्य

बर्दियासँग सीमा जोडिएको सुर्खेत–भेरीगंगा नगरपालिका–५, हात्तीखालमा निर्माण भइरहेको सुरुङ पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ। भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको पहिलो चरणको सुरुङ निर्माण सम्पन्न भएपछि स्थानीय पनि दंग छन्। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) बाट आयोजनाको १२ हजार २ सय मिटर लामो सुरुङ निर्धारित समयभन्दा एक वर्षअघि खनिएको छ। सो टनेल बनेपछि विकासका अन्य गतिविधि बढ्न थालेको अनुभूति स्थानीयले गर्न थालेका छन्। नयाँ प्रविधिबाट बनेको यो सुरुङ हेर्न आन्तरिक पर्यटक आउने गरेका छन्।

सो सुरुङ निर्माण जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले लिएको थियो। २१ जेठ ०७२ मा सुरुङ निर्माण थालेको कम्पनीको म्याद १५ चैत ०७६ सम्म थियो। धमाधम काम हुँदा निर्धारित समयअघि नै काम पूरा भएको आयोजना प्रमुख बराल बताउँछन्। आयोजनाका अनुसार सुरुङ निर्माण लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल बजेटको ३५ प्रतिशत हो। चिनियाँ शैलीमा काम हुँदा सुरुङ समयअघि नै सम्पन्न भएको बरालको भनाइ छ। उनका अनुसार सुरुदेखि नै राती र दिउँसो गरी दुई सिफ्टमा काम भएको थियो।

मूल नहर विस्तार अन्तिम चरणमा
बबई सिँचाइ आयोजनाको मूल नहर विस्तार अन्तिम चरणमा छ। बबई सिँचाइ आयोजनाले पूर्वी र पश्चिम मूल नहर प्रणालीअन्तर्गत ४२ किलोमिटर निर्माण सम्पन्न गरिसकेको छ। पूर्वी नहर प्रणालीमार्फत १३ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। पश्चिम नहर प्रणाली विस्तार गरेर १५ हजार हेक्टरमा सिँचाई गरिने छ। यसको काम धमाधम भइरहेको छ। तीन दशकअघि सुरु भएको आयोजनाले पश्चिम नहर प्रणालीअन्तर्गत अन्तिम चरणको थप दस किलोमिटर बनाउन अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण गरिसकेको आयोजनाले जनाएको छ। बबई सिँचाइ आयोजनाले पश्चिम मूल नहर प्रणालीअन्तर्र्गत मधुवन नगरपालिकाको सानोश्री र तारातालदेखि गुलरियासम्म दस किलोमिटर नहर निर्माण कार्य अघि बढाएको छ।

मुआब्जा विवादका कारण दुई वर्षसम्म स्थगित नहर निर्माण कार्य पुनः सुरु भएको जानकारी आयोजना प्रमुख श्रेष्ठले दिए। उनका अनुसार २०७१ र ७२ सालमा जग्गा अधिग्रहणको सूचना जारी गरी जग्गा प्राप्ति ऐन– २०३४ अनुसार निर्धारित मुआब्जा वितरण कार्य सुरुवातमा विवादका कारण रोकिएको थियो।

साबिक सानोश्री, ताराताल (हाल मधुवन नगरपालिका) र गुलरिया नगरपालिका–१ को ६.७९ हेक्टर जग्गा अधिग्रहण कार्य सम्पन्न भइसकेको र १५ करोड २२ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार अधिकांश जग्गाधनीले मुआब्जा लिइसकेका छन्। बर्दियामा कृषि प्रणाली विकास अपरिहार्य भएपछि सरकारले बृहत सिँचाइ आयोजनाको काम पूरा गर्न आन्तरिक स्रोतबाट २०४५ सालदेखि बबई सिँचाइ आयोजना अघि बढाएको हो।

स्थानीयमा उत्साह
भेरीको पानी बबई नदीमा खसालेर बाह्रैमास पूर्वी र पश्चिम नहरबाट जग्गा सिञ्चित गर्ने लक्ष्य साकार हुने देखिएपछि स्थानीय उत्साहित भएका छन्। ‘तीन दशकदेखि निर्माण सुरु भइरहेको नहरबाट पानी आउने भएपछि किसान खुसी भएका छन्,’ एक स्थानीयले भने, ‘बबई सिँचाइले पनि जग्गा अधिग्रहण र भौतिक निर्माण कार्य धमाधम गरिरहेकोे छ।’

बबई सिँचाइ आयोजनाले काम पूरा भएमा कालिका, महम्मदपुर, मोतीपुर, मैनापोखरलगायत ११ गाविस र गुलरिया नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ। अहिले सिँचाइ पुगेका ठाउँमा किसानले व्यावसायिक खेती गर्न थालेका छन्। सिँचाइ पुगेको ठाउँमा तेब्बरभन्दा बढी धान उत्पादन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।

सिँचाइ सुविधा भएपछि वर्षमा तीन बालीसम्म उत्पादन गर्न सकिने भएकाले आयोजनाले किसानलाई आधुनिक कृषितर्फ आर्कषण गर्न थालेको आयोजना प्रमुख श्रेष्ठले बताए। ‘बाह्रैमास नहरमा पानी हुन्छ,’ उनले भने, ‘नगदेबालीमा किसानले जोड दिन जरुरी छ।’ चैते धानको हबको रुपमा परिचित कन्काईमा किसानलाई भ्रमण गराउन लागेको जानकारी पनि उनले दिए। ‘हामीले यहाँका किसानका लागि कन्काई सिँचाइ आयोजनाअन्तर्गत गरिने चैते धान खेती अवलोकन गराउन लग्दैछौं,’ उनले भने, ‘अर्को वर्ष यहाँका किसानले चैते धान भिœयाउने छन्।’ नगदेबाली उत्पादनमा किसानलाई आर्कषित गर्ने योजना अघि सारेको उनले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App