८ वैशाख २०८१ शनिबार
समाज

लाङटाङ लिरुङमा आरोहण अनुमति

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।

सात हजार दुई सय ३४ मिटर उचाइको यो हिमाल यसअघि लामो समयसम्म आरोहण गरिएको थिएन। यसको उचाइमा पुग्न नसकिने र पुगेर फर्किए पनि कम समय मात्रै बाच्ने भएकाले लामो समयदेखि आरोहण नभएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाले बताए। ‘यो हिमाल चढ्ने क्रममा नै कतिको मृत्यु भएको थियो,’ उनले नागरिकसँग भने, ‘चुचुरोमा पुगेर फर्किएका पनि धेरै समय बाँचेका छैनन्।’ यो हिमालमा सन् १९७३ मा ब्रिटिस टिमले बेस क्याम्प निर्माण गरेका थिए।

सानो आवाजले पनि हिउँ पहिरो जाने भएका कारण अति जोखिम रहेको पर्यटन तथा होटल व्यवसायी निसान गजुरेलले बताए। ‘यसअघि आरोहणका लागि गएका केही अपाङ्ग भएका छन् भने केहीको मृत्यु भएको इतिहास छ,’ उनले भने। अहिले आरोहणका लागि अनुमति पाएको समूहले आरोहण शुल्कबापत हजार डलर (लाख १० हजार सात सय रुपैयाँ) राजस्व बुझाएको छ। नेपालको तेस्रो गन्तव्यस्थलका रूपमा परिचित लाङटाङ जानेहरू अन्य पिक चढ्ने गरेका छन्। लाङटाङ र क्यान्जिन वरिपरि एक दर्जन भन्दा बढी हिमाल छ। त्यहाँ रहेका अधिकांस हिमालको नाम तिब्बतीयन भाषाबाट राखिएको छ। हिमालको बनावट, विशेषता र अविस्थितीको आधारमा नाम राखिएको छ। त्यहाँ पुग्नेहरू लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङ्मा, लाङटाङ री, पेम्दङकर्पु, पाङरी गुल्दुम, गाङछोम्बा लगायतका पिक तथा हिमाल चढ्न जाने गरेका छन्।

चालु आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा १२ हजार स्वदेशी तथा विदेशी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन्। निकुञ्ज भित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १२ हजार २ सय ६४ पर्यटक आएका हुन्। जसमध्ये ३ हजार ३७ नेपाली, ९ हजार ४५ विदेशी र ३ हजार ९ सय ६ सार्क राष्ट्रका पर्यटक छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। पर्यटकीय मौसम सुरु भएसँगै दैनिक ८०÷१०० को हाराहारीमा पर्यटक जिल्ला आइरहेका छन्। पर्यटन विभागका अनुसार २०१९ मे ३ सम्ममा ३० वटा हिमाल आरोहणका लागि ८ सय ४२ समूहले अनुमति लिएका छन्। यो सिजनमा ८ सय ४० जना र समर सिजनका लागि २ जना गरी ८ सय ४२ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन्। यी आरोहीबाट शुक्रबारसम्म ४९ करोड १७ लाख ६४ हजार २ सय ८२ रुपयाँ राजस्व उठेको छ।

प्रकाशित: २२ वैशाख २०७६ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App