coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अलबिदा, सगरमाथा चुम्ने प्रथम महिला!

काठमाडौं- एकचालीस वर्षअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारभरका महिलालाई साहसिक र जोखिमपूर्ण काम गर्न हौस्याएकी जापानी पर्वतारोही जुनको ताबेईको निधन भएको छ।

ताबेई सन् १९७५ मे १६ (२०३२ जेठ २) मा सगरमाथामा विजयी झन्डा फहर्‍याई सर्वोच्च  शिखर पुग्ने पहिलो महिला बनेकी थिइन्। त्यसबेला उनी ३५ वर्षकी थिइन्। गत बिहीबार (कात्तिक ४ गते) निधन हुँदा उनी ७७ वर्षकी थिइन्। उनी चार वर्षदेखि क्यान्सरसँग लडिरहेकी थिइन्। ताबेईको साहसिक कदम पछ्याउँदै नेपालकी पासाङल्हामु शेर्पा सन् १९९३ मा सगरमाथा शिखर पुग्ने पहिलो नेपाली महिला बनेकी थिइन्।

'पहिलोपटक एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले सगरमाथा चुम्दा संसारभर जति चर्चा भएको थियो, त्यसको २२ वर्षपछि ताबेई पहिलो महिला आरोहीका रूपमा शिखर पुग्दा त्यस्तै चर्चा भएको थियो,' नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले शनिबार नागरिकसँग भने, 'सगरमाथाकै कारण संसारमाझ चिनिनुभएकी उहाँ त्यसपछि वर्षैपिच्छे नेपाल आइरहनुहन्थ्यो।'

ताबेईलाई त्यसबेला गाइड गर्दै सगरमाथा शिखर पुर्‍याएका नेपाली आरोही आङछिरिङ शेर्पाको भने १२ वर्षअघि नै निधन भएको अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार सगरमाथापछि ताबेईले बीचमा नेपालका धेरै साना हिमाल आरोहण गरे पनि २३ वर्षपछि सन् १९९९ मा संसारकै छैठौं अग्लो हिमाल चोयुको सफल आरोहण गरेकी थिइन्।

'म आफैं आयोजक भएर बनाएको आरोहण दलमा सहभागी भएर ताबेईले ८ हजार २ सय १ मिटर अग्लो चोयु आरोहण गर्नुभएको थियो,' युनियन अफ एसियन अल्पाइन एसोसिएसन (युएएए) का निवर्तमान अध्यक्षसमेत रहेका शेर्पाले अनुभव सुनाए, 'चोयुपछि उहाँले २००४ मा ८ हजार १ सय ६३ मिटर उचाइको आठौं अग्लो हिमाल मनास्लु आरोहण प्रयास गरे पनि सफल हुन सक्नुभएन।'

ताबेई पछिल्लोपटक गत वैशाख तेस्रो साता नेपाल आएकी थिइन्। पर्वतारोहण संघले मनास्लु र ल्होत्से हिमालमा पहिलो आरोहण भएको ६० वर्ष पुगेको अवसरमा आयोजना गरेको हिरक महोत्सवमा सहभागी हुन ताबेइ यहाँ आएकी थिइन्।

'गत वैशाख १८ मा महोत्सवका बेला उहाँलाई भेट्दा नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रको विकास तथा वातावरण सुधारमा सधैं काम गरिरहने बताउनुभएको थियो,' संघ अध्यक्ष शेर्पाले भने, 'त्यसबेला उहाँको स्वास्थ्य राम्रो थियो। त्यही राति हामीले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थियौं।'

डेढ दशकअघि सोलुखम्बुको लुक्लाभन्दा माथिको गाउँ छोप्लुङमा ताबेईले सगरमाथाको उचाइ (८८४८ मिटर) जतिकै संख्या ८ हजार ८ सय ४८ थान स्याउको विरुवा रोपेर बगैंचा स्थापना गरेको शेर्पाले जानकारी दिए। उनले सगरमाथादेखि नेपालका विभिन्न हिमाल सफाइ अभियान पनि सञ्चालन गरेकी थिइन्। हिमाली वातावरण सुधार र सफाइका काम गर्न ताबेईले जापानमा 'हिमालयन एड्भेन्चर ट्रस्ट अफ जापान' (ह्याट्ज) नामको संस्था चलाएकी थिइन्। यसको नेपालसहित विभिन्न देशमा शाखा छन्।

शेर्पाका अनुसार सन् २०१५ मा नेपाल आएपछि ताबेइले सोलुको तेङ्बोचेसम्म र गत वैशाखमा आएर सगरमाथा आधारशिविरसम्म ट्रेकिङ गरेकी थिइन्। उनले सगरमाथामा पहिलो पटक पाइला पुर्‍याएको अवसरमा पर्वतारोहण संघले आयोजना गरेको ३०औं वार्षिकोत्सव र २०७२ सालमा आयोजना गरेको ४०औं वार्षिकोत्सवमा पनि उनी नेपाल आएकी थिइन्।

२०७२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि संघले आयोजना गरेको सगरमाथामा महिलाको सफल आरोहण सुरुवातको ४०औं वार्षिकोत्सवमा सहभागी हुन ताबेइ श्रीमान, छोरी, छोरा र बुहारीसहित नेपाल आएकी थिइन्। त्यसबेला उनले सगरमाथामा एउटै सिजनमा सयौं आरोहीलाई आरोहण गर्न दिन नहुने धारणा राखेकी थिइन्। ३०औं वार्षिकोत्सवमा भने एउटा रमाइलो संयोग परेको थियो। ताबेईले सगरमाथा शिखर चुमेको नौ दिनपछि तिब्बती भेगबाट शिखर पुगेकी तिब्बतकै महिला आरोही फेन्दो र ताबेइबीच काठमाडौंमा रमाइलो भेट भएको थियो। उनीहरूसँग संसारभरका अधिकांश महिला आरोही पनि थिए।

शेर्पाका अनुसार काठमाडौंबाट हिँडेको दुई महिनापछि ताबेइले त्यसबेला साधारण रुट (दक्षिणी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेकी थिइन्। आधारशिविरबाट शिखर पुग्न उनलाई डेढ महिना लागेको थियो। त्यसबेला 'आइसफल रुट' नभएका कारण शिखर पुग्न धेरै दिन लाग्थ्यो।

'नेपालको पर्यटन, पर्वतारोहण र हिमाली वातावरण संरक्षण तथा सुधारमा सधैं लागिपर्ने एक असल मित्र ताबेइलाई गुमाउनुपर्दा हामी दुःखी छौं,' पर्वतारोहण संघका अध्यक्ष शेर्पाले भने, 'उहाँको निधनले नेपालको पर्वतीय पर्यटनमा अपूरणीय क्षति पुगेको छ।'

प्रकाशित: ७ कार्तिक २०७३ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App