coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एक सय २० दुर्घटना

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुर्घटनामा परि छोरीको मृत्यु भएपछि भावविह्वल अवस्थामा पुष्पाको आमा उमा। तस्बिरः नागरिक

रुपन्देही–बुटवल–१२, तामनगरकी १९ वर्षीय पुष्पा भण्डारी कक्षा १२ को परीक्षा सकेर बुबासँग घर फर्कँदै थिइन्। तर, उनको घरसम्मको यात्रालाई बीचमै रोकिदियो लु२ख १९०३ नम्बरको टिपरले।  सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत पुष्पाले कालिका उच्च मावि बुटवलमा बिहीबार परीक्षा सकाएर बुबासँग स्कुटीमा घर फर्किँदै थिइन्। बुबा घनश्यामसँग सुरक्षित हुने भएकाले सुस्त गतिमा स्कुटी अघि बढ्दै थियो तर, पश्चिमबाट तीव्र गतिमा आएको टिपरले ठक्कर दिँदा पुष्पाको घटनास्थलमै ज्यान गएको हो।

लु४५प ७२३४ नम्बरको स्कुटी उछिटिएर सडक किनार पुग्यो। स्कुटी चालक घनश्याम घाइते भए। तर, छोरी पुष्पा भने पूर्वपश्चिम राजमार्गमै बजारिँदा टाउको फुटेको छ। छोरीले पढेर जीवनमा केही गर्ने आशा पालेका परिवारमा टिपरको ठक्कर ज्यान लिएपछि परिवार विक्षिप्त बनेका छन्। आमा उमा भण्डारी लुम्बिनी प्रादेशिक अस्पतालमा रुँदै थिइन्।

गत चैत १८ गते सिद्धार्थ गौतमबुद्ध क्याम्पसकै प्राध्यापक डोलराज अर्याल पनि टिपरकै ठक्करबाट मृत्यु भयो। देवदह खैरहनीबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २२३२ नम्बरको टिपरले प्राध्यापक अर्याल सवार लु२२प ४९७९ नम्बरको मोटरसाइकललाई बुटवलको रामनगरस्थित धागो कारखाना नजिकै ठक्कर दिँदा प्राध्यापक अर्यालको ज्यान गएको थियो। बिस्तारै सवारी हाक्ने प्राध्यापक अर्याल पनि टिपरको तीव्र गति र लापर्बाहीकै कारण ज्यान गुमाउनु परेको प्रत्यक्षदर्शी बताउँछन्। ‘प्राध्यापक सरको मृत्यु भएको एक महिनामा फेरि अर्को विद्यार्थी टिपरकै ठक्करबाट गुमाउनुप-यो,’ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डेले भने, ‘टिपरको लापर्बाही रोकिएन।’ उनले एक महिनाको बीचमा प्राध्यापक र विद्यार्थी गुमाउनुपर्दा निकै पीडा भएको बताउँदै टिपरको आतंक रोक्न ट्राफिक प्रहरीको ध्यानाकर्षण गराए।

२०७५ साउनदेखि चैत मसान्तसम्म प्रदेशमा सवारी दुर्घटनामा परि ५ सय ४३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले टिपरका लागि टाइम कार्डको व्यवस्था गरे पनि यसको आतंक भने रोकिएको छैन। टिपर देख्ने बित्तिकै पैदलयात्रु र अन्य सवारी साधन चालकहरू त्रसित हुने गरेका छन्। बजार क्षेत्रमा समेत तीव्ररूपमा टिपर गुडाउन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन्। समग्रमा टिपरबाट मृत्यु हुनेको संख्या कम देखिए पनि यसको आतंक भने जनमानसमा बढ्दै गएको ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन्। ‘टिपर आफैँमा हेभि सवारी हो, त्यसमा लोड पनि त्यत्तिकै हुन्छ, ठोक्किएपछि मानवीय क्षति बढी नै हुन्छ,’ प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी माधवप्रसाद बुढाथोकीले भने।

उनले छोटो दूरीमा बुटवल गोलपार्कदेखि धागोकारखानासम्म र लामो दूरीका सबै क्षेत्रमा टाइमकार्ड लागू गरिएको बताए। तर, पूर्वपश्चिम र भित्र बजार क्षेत्रमा ढुंगा, बालुवा, गिट्टी, माटो बोकेर हिँड्ने टिपरलाई चाहेर पनि टाइमकार्ड लागू गर्न नसक्ने हुँदा तिनीहरूबाट बढी दुर्घटना हुने गरेको डिएसपी बुढाथोकीले बताए। प्रदेश ५ का १२ जिल्लामा हालसम्म टिपर र ट्रक गरी १ सय २० वटा दुर्घटना भएका छन्। २०७५ साउनदेखि चैत मसान्तसम्म प्रदेशमा सवारी दुर्घटनामा परि ५ सय ४३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। ७ सय ७८ वटा दुर्घटना हुँदा ३ सय २३ पुरुष, १ सय ४४ महिला, ४९ बालक र २७ जना बालिकाको मृत्यु भएको छ। ७ सय २२ जना मानिस घाइते भएका छन्। दुर्घटनामा परि ज्यान गुमाउनेमा दाङ अगाडि देखिएको छ। नौ महिनामा दाङमा १ सय ५७ जनाको मृत्यु भएको छ। यसपछि रुपन्देहीमा ७८ जनाको मृत्यु भएको छ। यसैगरी पश्चिम नवलपरासीमा २७, कपिलवस्तुमा ५०, पाल्पामा ५६, गुल्मीमा १५, अर्घाखाँचीमा १८, बाँकेमा ५४, बर्दियामा २२, प्युठानमा २४, रोल्पामा ४२ जनाको मृत्यु भएको छ। रुकुम पूर्वमा भने हालसम्म दुर्घटनामा परि मानवीय क्षति नभएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७६ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App