आदर्श अभिभावकत्वको कला

शनिबार, २१ बैशाख २०७६, १३ : ५५ प्रकाश जंग थापा

मेरो चिनजानका एक जना दाजु थिए, उमेश। उनी घर नजिकैको सरकारी विद्यालयमा पढ्थे। प्रेम सम्बन्धमा फँस्ने उनको उमेर थिएन। भर्खरै कक्षा आठ पढ्दै गरेको भए पनि उनी आफ्नै सहपाठीसँग आकर्षित भए। नाम थियो, सपना। आफ्नै सहपाठी भए पनि उनले मनको कुरा भन्न सकेनन्।

मन परेकोलाई सिधा प्रस्ताव राख्नु गाह्रो काम हो। स्वभाविक रुपमा उमेशले असहज महसुस गरे। अझ भनौँ प्रस्तावका लागि हिम्मत जुटाउन सकेनन्। त्यसैले एक महिला साथीको सहयोग लिए, नाम थियो– विपना। सपना र विपना मिल्ने साथी थिए। विपनाले उमेशका बारेमा राम्रो ब्रिफिङ गरेको हुनुपर्छ। नत्र सपना सजिलै आकर्षित हुने थिइनन्। यसपछि प्रेम दुई तर्फी बन्यो। भेट बाक्लो हुन थाल्यो। जवानीसँगै प्रेम पनि हुर्किँदै गयो। लामो अवधि प्रेम चलेको हुनाले गाउँमा हावा सरी हल्ला फैलियो।

दुई प्रेमी (उमेश र सपना) हल्लाको पर्वाह गर्दैनथे। प्रेमको संसारमा मस्त थिए। विशेषगरी सपनाको परिवार सम्बन्धप्रति सकारात्मक थिएनन्। दुई परिवारको स्तर नमिल्ने कुरा गर्थे। प्रेमको सुगन्धलाई दुर्गन्ध मानेका थिए। यसर्थ दुईजनाको साथ छुट्याउन दबाब दिइरहे। सपना परिवारबाट मानसिक र शारीरिक तनाव भोग्न बाध्य थिइन्। एकदिन परिवारको कुटपिट हदैसम्म भएर मध्यरात घरबाट निस्केर उमेशको घरमा पुगिन्। दुवै जना भागी विवाह गर्ने निर्णयमा पुगे। यसमा दाजुको परिवारबाट सहमति थियो। हनिमुन मनाउन टाढाको गाउँ गए।

भागी विवाह त सम्भव भयो, केही दिन उनीहरु प्रेमलीलामा पनि रमाए। यता सपनाको परिवार भने आक्रोशित थियो। उमेश र सपनाकोे खोजी हुन थाल्यो। हनिमुन गन्तव्य पत्ता लागेपछि जोडी अलग गरियो। हनिमुन पिरियड हप्ता दिन पनि टिकेन।  एउटा धनीमानी केटा खोजेर सपनाको जबर्जस्ती बिहे गरियो। उमेश दाइ विक्षिप्त भए। बिछोडको पीडा सहन सकेनन्। पागलजस्तो हर्कत देखाउन थाले।

यस परिस्थितिमा कसैको साथ उनलाई अति आवश्यक थियो। विगतमा दुईको प्रेम स्थापित गराउन मुख्य भूमिका खेल्ने विपनाले दाजुको ख्याल गर्न थालिन्। टुटेकालाई जोड्ने काम गरिन्। नयाँ जीवन जिउन प्रेरणा पनि दिइन्। यत्तिकैमा दुईचार वर्ष सकियो। यस अवधिमा उमेश र विपना नजिक भइसकेका थिए। दुईबीच प्रेम टुसाउन थाल्यो। गाउँमा अनावश्यक गन्ध फैलनु अगाडि बिहेको लागि दुवै तयार भए। यसपटक दाजुको परिवार सकारात्मक थिएनन्। केटी तल्लो जातको भनेर अस्वीकृत गरियो। दाजु दोस्रो प्रेम सफल बनाउन चाहन्थे। उनलाई जातभातले रोकेन। परिवारको इच्छाविपरीत बिहे गरे। यसकारण परिवारबाट अलग हुन पुगे, तिरस्कृत हुन पुगे। टोलभित्र पस्न उनलाई अनुमति थिएन। सबैतिरबाट तुच्छ व्यवहार भयो।

उमेश दाइ जागिरे थिएनन्। कमाइ नभएको र घरमा प्रवेश पनि नपाएकाले उनी ससुरालीमा बस्नुपर्ने बाध्यता आइप-यो। यस्तो लाचार ज्वाइँलाई ससुरालीले कति दिन पालोस्! एकदिन ससुराली तर्फबाट उमेशलाई भनियो– घर जानुस्, आफ्नो अंश मागेर आउनोस्। अनि मात्र तपाईंलाई पाल्न सक्छौँ।

त्यसपछि उमेश अंश दाबी गर्न हिँडे तर त्यो दिन घर छिर्न सकेनन्। बेलुकी ससुराली फर्किए तर खाली हात फर्केकाले उनलाई बास दिइएन। केही दिन बाहिर खाए, बाहिरै सुते। कयौँ दिन भोकै बसे। घर जाने प्रयास गरिरहे। एकदिन रिसले चुर हुँदै घर पुगे। आँगनमा बसिरहेको बाउलाई एक्कासि लात्तीले हाने, मुक्का पनि बर्साए। आक्रमक शैलीमा उमेश दाइले बाउलाई भन्दै थिए, ‘तैँले मलाई किन कहिल्यै बेलामा गाली गरिनस्? एकदुई चड्कन र लात्ती हानेको भए मेरो यस्तो हालत हुन्थ्यो? मेरो जीवन बिग्रने थिएन, म बिग्रिने थिइनँ। तैँले मलाई किन लात्तीले हानिनस्? अब म तँलाईं हान्छु। ला खा!’

यो एउटा समाजको प्रतिनिधि घटना हो। अहिलेका बच्चाहरु आफ्नै आमाबुबालाई हात हाल्ने गल्ती मात्र गर्दैनन्। अन्य निन्दनीय क्रियाकलापमा पनि सक्रिय हुन्छन्। ग्याङ फाइट, बलात्कार, लागुऔषध, आत्महत्या, पिएर होहल्ला, देहव्यापार आदि। यस्तो गतिविधि सञ्चालन गर्ने बच्चाहरू जन्मदै खराब होइनन्। उनीहरु कस्तो वातावरणमा हुर्के, प्यारेन्टिङ कस्तो रह्यो आदि कुराले ठूलो फरक पार्छ।

वातावरणको प्रभाव
बच्चाहरु थरीथरीका हुन्छन्। कोही डेन्डेलिओन जस्ता हुन्छन् त कोही सुनगाभा जस्ता। कोही भने होपफूल मोन्सटर (आशवान राक्षस) हुन्छन्। डेन्डेलिओनहरू खासै सुन्दर फूल होइनन्, ती फूल लचिला हुन्छन्। जस्तोसुकै प्रतिकूल वातावरणमा पनि फस्टाउँछन्। स्याहार सुसार पनि आवश्यक पर्दैन। सुनगाभाहरु फरक हुन्छन्। यी फूलहरू अनुकूल वातावरणमा मात्र फस्टाउँछन्। उचित ख्याल गरिएन भने फूलहरू ओइलाउने र मर्ने गर्छन्। उचित रेखदेख गरियो भने सबसे सुन्दर फूलहरूको रुपमा फुल्छन्। यसलाई जेनेटिक्स खोज अनुसन्धानबाट बुझ्ने कोसिस गरौँ। अध्ययनले एउटा खराब जीनलाई सही वातावरण दिँदा सकारात्मक परिणाम प्राप्त हुने पुष्टि गरेको छ। अधिकांश मानिसको सामान्य ‘डिआरडि–४’ जीन हुन्छ। केही मानिसमा भने यस जीनको प्रकार ‘डिआरडि–४७ आर’ जीन हुन्छ। ७ आर जीनले मान्छेलाई अतिसक्रिय, ध्यान केन्द्रित गर्न नसक्ने, आवेग नियन्त्रण गर्न नसक्ने खालको बनाउँछ। यसकारण यो खराब जीन हो। ७ आर जीन हुने बच्चालाई रफ वातावरणमा लालनपालन गरियो भने? उनीहरुलाई दुरुपयोग र बेवास्ता गरियो भने? उनीहरु जँड्याहा र झगडालु बन्ने सम्भावना बढी हुन्छ तर ७ आर जीन भएको बच्चालाई सही वातावरण र प्यारेन्टिङ दिइयो भने? स्ट्यान्डर्ड डिआरडि ४ जीन भएको बच्चाभन्दा पनि असल र दयालु बन्न जान्छ। यहाँ वातावरणले फरक पार्छ।

आशवान राक्षस त्यस्ता व्यक्ति हुन् जो म्युटेसनका कारण आम मानिस भन्दा बिल्कुल अद्वितीय हुन्छन्। यी व्यक्ति पनि सही वातावरण पाएको अवस्थामा महान बन्न पुग्छन्। उदाहरणका रुपमा माइकल फेल्प्सलाई लिऊँ। फेल्प्सको शारीरिक बनावट सही छैन। उनको उचाइ ६ फिट ४ इन्च छ। खुट्टा छोटो र ट्रंक (टाउको र हातखुट्टा अतिरिक्त शरीरको भाग) लामो छ। हात र खुट्टाको आकार ठूला छन्। यसले फ्लिपर्सको लागि विशेष सहयोग गर्छ। साधारण मानिसको दुबै हात दायाँबायाँ बिस्तार गरेर औँलाको टुप्पो बीचको दुरी र त्यस मानिसको उचाइ समान हुन्छ। फेल्प्सको पक्षमा यो लागु हुँदैन। उनको हातको फैलावट ६ फिट ७ इन्च छ। लामो पाखुराले शक्तिशाली स्ट्रोक लिन मद्दत गर्छ। उनले १५ वर्षको उमेरमा अमेरिकी ओलम्पिक टिममा आबद्ध हुने मौका पाए। उनको शरीर जमिनमा हिँड्न भन्दा पानीमा पौडन उपयुक्त छ। उनी समयमै सही वातावरण पाउन सफल भए। ओलम्पिकमा सबैभन्दा धेरै गोल्ड मेडल जित्नेमा उनकै नाम आउँछ। उनले उपयुक्त समयमा उपयुक्त वातावरण पाएको हुनाले महान् ओलम्पियन बन्न सके।

हेलिकप्टर प्यारेन्टिङ
आफ्नो बच्चाहरूलाई हामी धेरै भन्दा धेरै माया गर्छौँ। उनीहरुको उपलब्धि हेर्न चाहन्छौँ। उनीहरूको लागि प्रदाता र संरक्षक बन्न चाहन्छौँ। यसकारण सामाजिक एवं आर्थिक सुरक्षा दिइरहेका हुन्छौँ।

प्रतिस्पर्धाको जमाना छ। त्यसैले सम्भव भएसम्म फाइदा दिलाउँदै जान्छौँ। यसैक्रममा बच्चाहरु प्रति अतिरक्षात्मक बन्न पुग्छौँ। उनीहरुलाई निकै नजिकबाट नियाल्न थाल्छौँ। उनीहरुको जीवनमा संलग्न हुन थालेको हामीलाई पत्तै हुँदैन। यसैलाई हेलिकप्टर प्यारेन्टिङ भनिन्छ।

हेलिकप्टर टाइपका अभिभावक तीन किसिमका व्यवहार देखाउँछन्। एक, सुचनाको माग। बच्चाहरू कहाँ जान्छन्, के गर्छन् त्यसको सबै जानकारी चाहन्छन्। सम्पूर्ण समय तालिका बारेमा चासो राख्छन्। यति मात्र होइन, शैक्षिक ग्रेडिङ र उपलब्धिको रिपोर्टिङसमेत माग्छन्। दुई, सिधा हस्तक्षेप। बच्चाहरूको साथी, रुममेट, रोमान्टिक जोडी लगायत हाकिमसँग झगडामा उत्रने गर्छन्। तीन, सीमित स्वतन्त्रता। बच्चाहरूलाई गल्ती गर्ने छुट हुँदैन। अभिभावकले जीवन नियन्त्रण गरेको र निर्णय लिन सहयोग नगरेको अनुभव गर्छन्।

हेलिकप्टर प्यारेन्टिङमार्फत् बच्चाहरूको सुरक्षित ग्रोथ हुने तर्क गरिन्छ। यस तरिकाको अभिभावकत्व कलाले विभिन्न नकारात्मक परिणाम देखाउन सक्छन्। बच्चाले स्वतन्त्र रुपमा निर्णय लिन सक्दैनन्। आमाबुबाप्रति निर्भर हुन पुग्छन् र सिक्ने अवसर पाउँदैनन्। जीवन उपयोगी कौशल विकास हुँदैन। स्वतन्त्रता साथ जिम्मेवारी सम्हाल्न सक्दैनन्। अध्ययनले देखाएको छ, जुन बच्चाहरुको शैक्षिक जीवनमा अभिभावकको अत्यधिक संलग्नतामा हुन्छ, ती बच्चाहरूमा चिन्ता र डिप्रेसनको शिकार हुने सम्भावना बढी हुन्छ। यस्ता बच्चाहरूमा आत्मविश्वासको कमी हुन्छ। सन् २०१० को एउटा अध्ययनले बच्चाहरूको बाल्यकाल अवधि, किशोर अवस्था लम्बिदै जाने अनि यसले उनीहरुको व्यक्तित्वमा असर गर्ने पत्ता लगाएको छ।

प्यारेन्टिङ टिप्स
बच्चाहरु अभिभावकको सिको गर्छन्। यो चेतन तथा अवचेतन मनमा हुने गर्छ। प्रायः अभिभावक जस्ता छन्, बच्चाहरु त्यस्तै बन्न पुग्छन्। त्यसैले अभिभावक भएपछि आफ्ना गतिविधिमा सचेत हुनु जरुरी छ। आदर्श अभिभावक बन्न निम्न टिप्स अनुसरण गरौँ।

उचित वातावरण व्यवस्थापन गर्ने
हार्वर्ड ग्रान्ट स्टडी सबैभन्दा लामो चलिरहेको अध्ययन हो। यस अध्ययनले खुसी र सफल जीवनका दुई चिज महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको छ। पहिलो, प्रेम हो। खुसी हुन मानवीय प्रेम चाहिन्छ। अर्थात् आफ्नो श्रीमान् श्रीमती, पार्टनर, साथीभाइ, परिवार आदि प्रति प्रेम। बच्चालाई बाल्यकाल अवस्थामा हुँदा नै प्रेम गर्ने तरिका सिकाउनुपर्छ। आफूलाई प्रेम गर्न जाने मात्र अरुलाई प्रेम गर्न सकिन्छ। बच्चाले स्वयं आफूलाई प्रेम गर्न जान्नुपर्छ। यसका लागि बच्चालाई शर्तहीन प्रेम दिनुहोस् अनि आफूलाई प्रेम गर्न जानेपछि बच्चा अरुप्रति प्रेम व्यक्त गर्न माहिर हुन्छ। दोस्रो, वर्क एथिक्स (कार्यनीति) हो। जो कोही व्यक्तिको प्रोफेसनल सफलता उसले बच्चामा घरायसी काम गरेको छ या छैन भन्ने कुराले निर्धारण गर्छ। कुनै पनि संस्था वा व्यवसायमा सफल हुन पिच इन मानसिकता चाहिन्छ। यस्तो मानसिकता विकास गरेका व्यक्ति यसो भन्छन्, ‘अप्रिय काम आइपरेको छ। कुनै एक व्यक्तिले काम गर्नैपर्छ। यस्तो हो भने म किन अग्रसर नहुने?’ यही मानसिकताले न हो कार्यक्षेत्रमा सफलता दिलाउने! जुन व्यक्ति बच्चा अवस्थामा घरायसी काममा संलग्न हुन्छ उसमा पिच इन मानसिकता विकास हुन्छ। जीवनमा सफल हुन काम गर्नुको विकल्प नभएको अनुभूत गर्छन्। काम गर्ने अवसर खेर जान दिँदैनन्। सफलता प्राप्त गरेरै छाड्छन्। बच्चा अवस्थामा घरायसी काममा सरिक नहुने व्यक्तिले अग्रसरता देखाउन सक्दैनन्, सुरुवात गर्न जान्दैनन्। हाकिमको आदेश वा सहकर्मी साथीको सुझाव कुरेर बस्छन्। अन्ततः असफलतातिर धकेलिन्छन्। त्यसैले आफ्नो बच्चालाई घरको सरसफाई, लुगा धुने, खाना पकाउने, भाँडा माझ्ने जस्ता काम गर्न प्रोत्साहित गर्नुहोस्। प्रेम संप्रेषण र कार्य सम्पादनको लागि उचित वातावरण व्यवस्थापन गर्नुहोस्।

चुनौती मोल्न प्रेरित गर्ने
अभिभावक आफ्नो छोराछोरीले चुनौती लियोस् भन्ने चाहँदैनन्। सुरक्षित र सहज बाटो हिँड्न सुझाएका हुन्छन्। चुनौती कति महत्त्वपूर्ण छ? बार्नेकल हाँसको जीवन चक्रबाट बुझ्न सकिन्छ। यो हाँसले जहाँ पायो त्यहीँ गुँड बनाउँदैन। भिर, पखेरा वा रुखको प्वाल रोज्छ। यस्तो अक्कर ठाउँमा गुँड हुनाले हाँस, अण्डा र बच्चा हिंस्रक जनावरबाट सुरक्षित रहन्छ। मानौँ हाँसले रुखको प्वालमा गुँड बनाएको छ! मानौँ, हाँस दशवटा अण्डा लिएर ओथारो बसेको छ। हाँस अण्डा कोरलेको केही दिनपछि गुँड छाडेर बाहिर जान्छ। बच्चालाई ख्याल गर्न बन्द गरिदिन्छ। रुखको फेदनिर बसेर वा अलि टाढा स्थानमा बसेर आवाज निकाल्दै आफ्नो बच्चालाई बोलाउँछ। बच्चा गुँड बाहिर निस्कन प्रेरित हुन्छ। रुखको प्वालनिर आएपछि आफूलाई सयौँ मिटर उचाइमा पाउँछ। यस्तो अवस्थामा बच्चासँग दुई वटा विकल्प हुन्छ। गुँडमा बस्ने वा त्यहाँबाट हाम फाल्ने। माउबाट देखभाल नपाएको अवस्थामा बच्चा गुँडमै बसे केही दिनपछि मर्ने निश्चित हुन्छ। माउ भएनिर पुग्न गुँडबाट हाम फाले पनि बच्चाको मर्ने सम्भावना उत्तिकै रहन्छ। यस्तो परिस्थितिमा बच्चाले हाम्फाल्ने निर्णय गर्छन्। अनि दशवटै बच्चा गुँडबाट एकएक गर्दै हाम फाल्छन्। सबै बच्चा बाँच्न सफल हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। केही मर्न सक्छन्। केही घारीमा हराउन सक्छन्। केही बेहोस हुन्छन्। सबै बच्चा जमिनमा आएपछि माउ हाँसले केही समय कुर्छ। मानौँ दश वटा बच्चामध्ये छवटा माउ नजिक पुग्यो। अब माउ यही छ वटा बच्चालाई लिएर हिँड्छ। हिंस्रक जनावरको खतराबाट बचाउन बाँकी बच्चालाई खोज्न लाग्दैन। यसबाट के बुझ्ने? बच्चाले गुँडबाट फाल हान्ने हिम्मत नगरेको भए गुँडमै मर्नु पथ्र्यो। फाल हान्ने चुनौती लिएको कारण बच्चाले संसार देख्न पायो। त्यसैले हाँसबाट शिक्षा लिउँ। बाँच्नको लागि मर्न तयार हुनुपर्छ। त्यसैले आफ्नो सन्तानलाई रिस्क लिन प्रेरित गर्नुहोस्। धेरै रक्षात्मक पनि नहुनुहोस्।

विश्वासको सम्बन्ध राख्ने
रिचर्ड ब्रान्सन विश्वका परिचित नाममध्ये एक हुन्। बच्चा अवस्थामा उनको एउटा नराम्रो बानी थियो। बेला मौकामा बुबाको पैसा झिक्ने गर्थे। अनि मिठाई पसलमा गएर पैसा खर्च गर्थे। क्याडबरी चकलेट उनको प्रिय थियो। एकदिन रिचर्ड र उनको बुबा त्यही मिठाई पसल पुग्छन्। पसलको साहुनी रिचर्डको बुबालाई भन्छिन्, ‘मिस्टर ब्रान्सन, तपाईंको बच्चा समस्यामा परेको देख्न चाहन्नँ। मलाई थाहा छैन उसले कहाँबाट त्यतिका पैसा ल्याउँछ। ऊ मेरो पसलको रेगुलर ग्राहक भएको छ। सायद उसले पैसा चोरेको हुनुपर्छ।’

त्यसपछि रिचर्डको बुबाले प्रतिक्रिया जनाउँदै भन्छन्, ‘तपाईंले कसरी हिम्मत गर्नुभयो? मेरो छोरालाई चोर दोष लगाउने?’ बुबाले आफूलाई बचाउ गरेको देखेर रिचर्ड चकित परे। बुबाले आफूप्रति गरेको विश्वास देखे। बुबाले सजाय दिनुहुन्छ भन्ने उनलाई लागेको थियो तर सजिलै माफी पाए। उनलाई पश्चाताप भयो। त्यस दिनदेखि पैसा चोर्ने काम बन्द गरे। यो प्रसंगबाट केही शिक्षा लिन सकिन्छ। आफ्ना सन्तानले केही गल्ती गरे दोस्रो मौका दिनुहोस्। आवश्यक परे तेस्रो मौका पनि दिनुहोस्। सजाय दिनु अनुत्पादक कार्य हो। ठूलो छाती बनाउनुहोस्। यही पद्धतिले बच्चा परिवर्तन हुनेमा विश्वास गर्नुहोस्। आमाबुबा र सन्तानबीच विश्वासको खडेरी हुनु हुँदैन।

तुलना नगर्ने
मल्टिपल इन्टेलिजेन्सको सिद्धान्तअनुसार हरेक बच्चाको ९ प्रकारको बुद्धि हुन्छ। यसको अर्थ हो, हरेकको फरकफरक क्षमता हुनु। सबै बच्चामा तार्किक, भाषिक, पारस्परिक, अन्तर्वैयक्तिक, शारीरिक, दृश्यसम्बन्धी, प्रकृतिसम्बन्धी, साङ्गीतिक र आध्यात्मिक बुद्धि हुन्छ। फरक यत्ति हो, त्यो बुद्धिको मात्रा समान हुँदैन। कसैमा तार्किक क्षमता बढी हुन्छ भने कसैमा शारीरिक। कसैमा साङ्गीतिक क्षमता बढी हुन्छ भने कसैमा आध्यात्मिक। कसैमा दृश्य क्षमता बढी हुन्छ भने कसैमा प्राकृतिक। कसैमा भाषिक क्षमता बढी हुन्छ भने कसैमा पारस्परिक। कोहीमा भने अन्तर्वैयक्तिक बुद्धि बढी हुन्छ। त्यसकारण कोही वैज्ञानिक बन्छन् त कोही खेलाडी। कोही सङ्गीतकार बन्छन् त कोही आध्यात्मिक गुरु। कोही चित्रकार बन्छन् त कोही फोटोग्राफर। कोही लेखक बन्छन् त कोही राजनितिज्ञ। कोही भने दार्शनिक बन्छन्। एउटा क्षमता भएको बच्चालाई अर्को क्षमता भएकोसँग तुलना गर्नु बुद्धिमानी होइन। त्यसैगरी हरेक बच्चाको फरकफरक व्यक्तित्व हुन्छ।  त्यहीअनुसार व्यवहार गर्नुहोस्, तुलनात्मक एप्रोच रोक्नुहोस्।

अभिभावक हुनु एउटा जिम्मेवारीसँगै लिगेसी पनि हो। आदर्श अभिभावक भएर बाँचौँ। आफ्नो लिगेसी महान् तरिकाले हस्तान्तरण गरौँ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...