५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

थाइल्याण्डका राजाको राज्याभिषेक समारोह

तस्बिरः एजेन्सी

काठमाडाैं– थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन्। थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ।

पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ। स्थानीय समयानुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। दिउसो १ बजे सम्म समारोह चलेको थियो। राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित भएका थिए। थाई नरेश वजिरालंगकर्णले केही दिन अगाडी मात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका थिए।

अहिले विहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन्। सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरिसकेकी छन्। शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइनन्। राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए। पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन्। थाईल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उहाँका छोरा वजिरालंगकर्ण राजा बनेका हुन्। थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ। राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ। थाईल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही गरेको कडा कानूनी व्यवस्था छ। रासस

प्रकाशित: २१ वैशाख २०७६ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App