coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खँदिला मुक्तक

छोटो भैकन पनि चोटिलो हुने भएकाले मुक्तक लोकप्रिय छ। संस्कृत साहित्यमा पाइने चतुष्पदीलाई नै नेपाली मुक्तकको मूल आधार मानिन्छ। छोटो आयाम, सूत्रात्मक संरचना एवं सूक्तिमय भावचेतना मुक्तकीय सिर्जनाको विशेषता।

मुक्तकमा पहिलो, दोस्रो र चौथो पाउमा अन्त्यानुप्रास हुन्छ भने तेस्रो पाउचाहिँ स्वतन्त्र हुन्छ। पहिलो र दोस्रो पाउले उठाएको विषयलाई चौथो हरफले सम्पूर्ण भाव छर्लङ्ग पार्दै समापन गर्छ र ती सन्दर्भलाई जोड्ने तेस्रो हरफमा भने अन्त्यानुप्रासको प्रयोग पाइँदैन। यस्तो प्रयोगले मुक्तकमा सांगीतिक लय सिर्जना गर्छ ।
यसै सिलसिलामा पोखराका मुक्तककार नेपालहरि रानाभाट ‘सुबोध’ले ‘समयका स्वरहरू’ नामक मुक्तक संग्रह ल्याएका छन्। यसभित्र राजनीति, नैतिकता, प्रेम सम्बन्ध, समय परिस्थिति, सामाजिक, धनसम्पत्ति, आत्म ज्ञान र जिन्दगी भनेर छुट्टाछुट्टै प्रसंगका ८० वटा मुक्तक छन्। 

‘राजनीति’ शीर्षकका मुक्तकहरूले वर्तमान नेताको चरित्र, भ्रष्टाचार, लुट आदिको राम्रो चित्रण गरेका छन्। ‘नैतिकता’ शीर्षकमा १० मुक्तक समावेश छन्। यस शीर्षकका मुक्तकहरूले स्वाभिमानी भएर बाँच्न प्रेरणा दिन्छन्।  
त्यसै ‘प्रेम सम्बन्ध’मा १२ मुक्तक छन्। यसमा मुक्तककार रानाभाट प्रेमिल बनेका छन्। अनि ‘समय परिस्थिति’ शीर्षकमा ८ मुक्तक छन्। त्यसैगरी ‘सामाजिक’ शीर्षकमा ६ मुक्तक छन्। ‘धनसम्पत्ति’मा तीन मुक्तक छन् भने ‘आत्म ज्ञानमा’ १५ वटा  र ‘जिन्दगी’ शीर्षकमा ८ मुक्तक छन् ।

रानाभाटले भगवान् भेट्न मन्दिर, मस्जिद, चर्च र गुम्बै जानु नपर्ने बताएका छन्। ईश्वर त मनभित्रै हुन्छ। सत्कर्मबाट ईश्वर प्राप्त गर्न सकिन्छ।   यसरी ‘समयका स्वरहरू’ मुक्तक संग्रहमा सामाजिक विकृतिप्रति तीखो व्यंग्य छ। समकालीन नेपाली समाज र राजनीतिमा देखिएका विकृति, विसंगति, शोषण आदिको प्रतिबिम्बन संग्रहका मुक्तकमा पाइन्छ। 

संग्रहका मुक्तक खँदिला छन्। रसिला पनि। मुक्तकीय विशेषताले पूर्ण। कलात्मक प्रस्तुति र शिल्पगत परिष्कारले कृति संग्रहणीय बनेको छ। मुक्तकसँगै कलाकार उमेशचन्द्र अधिकारीका आकर्षक चित्र छन्। आवरण कला पनि आकर्षक छ। नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको ‘समयका स्वरहरू’को मूल्य २५० रुपैयाँ छ।

प्रकाशित: २१ वैशाख २०७६ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App