८ वैशाख २०८१ शनिबार
अन्य

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

बेनीबजारमा भेटिएका छाडा चौपाया। तस्बिर/नागरिक

म्याग्दी– सदरमुकाम बेनीमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ। एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो।

सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढे पनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै पनि निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएका छन्।

सवारीसाधनको चापका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनी हुँदै छाडाचौपाया भित्रिन थालेपछि दुर्घटनाका साथै तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको बेनीबजारबासीको भनाइ छ। ‘छाडाचौपायाले दैनिक क्षति पु-याउने गरेका छन्,’ बेनी नगरपालिका वडा नं ८  पिपलचोककी भगवती सुबेदीले भनिन्, ‘चौपायाकै कारण दुर्घटनासमेत हुने गरेको छ।’

बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर चोकबासीले व्यवस्थापनका लागि नगरपालिकाको पटक–पटक ध्यानार्कषण गराउँदासमेत नगरपालिकाले व्यवस्थापनमा चासो देखाएको छैन।

केही दुर्घटनाको कारण छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ छ।

दुई वर्षअघि मध्यरातमा मोटरसाइकलले ठक्कर दिँदा न्युरोडमा गाई मरेको थियो। केही दुर्घटनाको कारण पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ छ। दिनभरि बजारका चोक, गल्ली–गल्लीमा देखिने छाडा चौपाया साँझ परेपछि बेनी अस्पतालमा थुप्रिँदा अस्पतालमा बिरामीलाई आवतजावतामा समेत समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

उनले नगरपालिका र वडास्तरबाटै चौपायाको व्यवस्थापनका लागि प्रयास गर्नुपर्ने बताए। यता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण भए पनि प्रयास जारी रहेको बताए।

‘पशुधनीको पहिचानमै समस्या भइरहेको छ,’ श्रेष्ठले भने, ‘छाडा चौपाया लैजानेलाई सित्तैमा दिन्छौं।’ उनले सार्वजनिक सूचना समेत जारी गरिए पनि समस्या भएको बताए। गाईले दूध दिने बेलासम्म गोठमै राख्ने गरिए पनि दूध दिन छोडेपछि बजारमा छोड्ने प्रवृत्तिलाई निरूत्साहित गर्न नगरबासीको सहयोगको आवश्यकता रहेको बताए।

नगरपालिकाले छाडा पशुलाई नियन्त्रणमा लिएर लिलामसहितका दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने मेयर श्रेष्ठको भनाइ छ। छाडा चौपायालाई नियन्त्रणमा लिएर बिक्री गर्ने वा कान्जी घर बनाएरसमेत राख्न सकिन्छ। कान्जी घरमा राखेर आवश्यक प्रक्रिया पूरा गरी लिलाम गर्न सकिन्छ। स्थानीय सरकारमा छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था छ।

प्रकाशित: २१ वैशाख २०७६ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App