गुरिल्ला पदमार्ग

जाऔं है जलजला

शनिबार, २१ बैशाख २०७६, ०८ : ५६ सुरेन्द्र राना

प्रकृतिको अनुपम भण्डार नेपाल भौगोलिक विविधता, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले संसारमै प्रख्यात छ। उच्च हिमाली, मध्य पहाडी र तराईको भूभाग र त्यहाँ बसोबास गर्ने पशुपक्षी, वनस्पति र जनजीवन गजबकै छ। यही विविधता हेर्न बर्सेनि लाखौं पर्यटक नेपाल आउँछन्। 

मध्यपश्चिममा पर्ने रोल्पाको सबैभन्दा अग्लो भूभाग जलजलाको नाम सुन्दा जति आनन्द लाग्छ, त्यहाँ पुग्दा धेरै गुणा सुन्दर र मनमोहक अनुभव हुन्छ। हरेक पटक त्यहाँ पुग्दा बेग्लै अनुभूति हुन्छ। चौथो पटक वैशाख पहिलो साता म फेरि जलजला पुगें, सय गन्तव्यमध्ये एक जलजलाको शुभारम्भ कार्यक्रममा।

उत्कृष्ट गन्तव्य
सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सिलसिलामा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले सय उत्कृष्ट गन्तव्यको घोषणा गरेका थिए। त्यही लहरमा रोल्पाको जलजला पनि सूचीकृत छ। वैशाख २ देखि ५ गतेसम्म गन्तव्य जलजलाको शुभारम्भ कार्यक्रम गरियो।

त्यो टोलीमा म पनि पुगेको थिएँ। विद्यार्थी, संचारकर्मी र आन्तरिक पर्यटक गरी हामी ३० जनाको समूह काठमाडौंबाट १२ घन्टा बस यात्रापछि रोल्पा सदरमुकाम लिवाङ पुग्यौ। ‘डेस्टिनेसन जलजला’ यात्राको आयोजना समृद्द रोल्पा फाउन्डेशनले गरेको थियो। उसलाई नेपाल पर्यटन बोर्ड र थवाङ गाउँपालिकाले सहयोग गरेका थिए भने यात्राको व्यवस्थापन लाइफस्टाइल होलिडेजले गरेको थियो।  

हामीलाई लिवाङमा रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले स्वागत गर्दै यात्राको शुभकामना दिए। त्यहाँबाट धवाङ हुँदै पेवासम्म २.३० घन्टा जीप यात्रामा पुग्दा स्थानीयले फूलमाला र बाजागाजासहित भव्य स्वागत गरे। हर्षले आँखा रसाए।  
त्यसपछि  पैदल यात्रा सुरु भयो। हाम्रो टोलीमा स्थानीय पनि थपिए। यात्रा निकै उत्साहसाथ अघि बढ्यो। जंगलको गोरेटो उकालो, जनमुक्ति सेनाको तालिमस्थल हुँदै जम्बो टोली जंगल छिचोल्दै करिब १.५ घन्टामा ओख्रेनी पुग्दा सुनछहारी गाउँपालिका–७ ले फेरि फूलमालाले स्वागत ग-यो। कालो बादलले आकाश ढाक्यो र केही छिन वर्षातले अलमलायो। ०७१ सालमा मित्र अमृत भादगाउँले र प्रदिप पोख्रेल भूमे पर्वमा आउँदा यहीँ ठाउँमा बेस्सरी झरीले चुटेको थियो। त्यतिबेला हामी नजिकैको गोठमा बास बसेका थियौं। 

माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा समेत समृद्ध छ। गुरिल्ला पदमार्गमा पर्ने रोल्पाको एउटा गन्तव्य हो–जलजला। नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले घोषणा गरेको सय गन्तव्यको सूचीमा जलजला पनि सूचीकृत भएको छ।  

जलजला यात्राका अभियन्ता जिवन रोका मगर, संयोजक मौसम रोकासहित केही साथीले जसरी पनि जलजला पुग्ने निधो गरे। हामीले भने बेलुकीका लागि  खाजापानी बन्दोबस्त गरी बास बस्ने सोच बनायौं। तर एकाएक आकाश उघ्रेला जस्तो हुँदै थियो, अन्य सहकर्मीहरूलाई पछ्याउँदै हामीले पनि पनि बाटो ततायौं। केही माथि पुग्दानपुग्दै आकास बिस्तारै उघ्रिंदै गयो।

हैट ! झन्डै लाज भाको, हिँडेर राम्रै गरिएछ ! जसै कमिलाका ताँती जस्तै टोली अगाडि बढ्यो, बाटाभरि गुराँसको फूलले पाखापखेरा राताम्मे थिए। बेहुलीझैं सिँगारिएको थियो जलजला क्षेत्र। दंग पर्दै हामीले पाइला चाल्यौं।    
बाटाभरि तस्बिर कैद गर्दे हिँडेको म पछाडि परें। तर नेफेजका सुरेश मानन्धर दाइपछि भिडियो खिच्दै आउँदै गरेको देखें। अघिल्लो टोली निकै माथि धरमपानी नजिक पुगेको देखिंदै थियो, सहयात्री युवराज दाहाल र सुमन आचार्य सहितको टोली आफ्नै तालमा थकाइ मार्दे, रमाउँदै थिए। 

साँझ ढल्किंदै गयो, बिस्तारै उकालोमा पाइला चाल्दै थियौं। एक जना म्याडम थचक्कै बसिन्। उनलाई उकालो चढ्न गाह्रो भैरहेको थियो। साथमा थिए स्थानीय नेचर गाइड सुकबहादुर घर्ती मगर, हामीलाई केको डर ! बिस्तारै उनीसँगै हिँड्न थाल्यौं, कछुवाको तालमा।

धरमपानी पुग्दा झमक्कै रात प¥यो। सहिद स्तम्भ हेर्न ढिला भयो। भञ्ज्याङवाट ओरालो लाग्यो यात्रा, अलि चिप्लो बाटो, अप्ठ्यारो पनि। मित्र युवराजले बल्ड्याङ खाइहाले। गललल हाँसो उठ्यो, उनी जुरुक्क उठे। जलजला पुग्दा साँझ झमक्क परिसकेको थियो। अन्य सहयात्रीहरू रात्रिभोजनपछि मस्त निद्रामा ढलिसकेछन्। हामी अन्तिममा पुग्यौं । हामी पुग्दा ठूलो क्याम्प फायर वरपर सेकुवा खाँदै थिए साथीहरू। आगो ताप्दै धमाधम खानपिन चलिरहेको थियो। थवाङे मगर सामुदायिक होमस्टेले खानपिनको राम्रो व्यवस्था गरेको थियो।

जलजला पुग्नु केही समयअघि पानीको चुटाइ खाएका थियौं। ज्यान थाकेको थियो। त्यसैले केहीबेर रमझममा मिसियौं र छिट्टै सुत्नतिर लागियो।   बिहान मौसम खासै खुलेन, जलजला सेरोफेरो अवलोकन गर्न आआफ्नै तालमा तितरबितर भए। गुराँस ढकमक्क फूलेको थियो, मनग्गे तस्बिर कैद गरियो। सबै पर्यटक आआफ्ना क्यामेरा, मोबाइलमा गुराँसलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्न व्यस्त भए।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी परिवारसहित र डिएसपीको टोली लगायत अन्य आन्तरिक पर्यटक पनि जलजला आइपुगेका थिए। दिउँसो मिरुलको सांस्कृतिक समूहले सुन्दर छुरे नाच देखायो।

जलजला क्षेत्र
तीन हजार मिटरदेखि छत्तीस सय पचास मिटर उचाइमा फैलेको जलजला रोल्पाकै अग्लो भूभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रूपले महत्व बोकेको स्थान हो। जलजला क्षेत्रको बीचमा स्यानो उपत्यका भित्र बज्यू बराह, कैलु बराह र सतदेवका मन्दिर छन्। बर्सेनि सयौ भेडा र कुखुराको बलि दिने चलन छ।

जलजलामा वर्षमा तीन पटक वैशाख, जेठ र साउने पूर्णिमाका दिन ठूलो मेला लाग्छ। मेलामा वराह पूजा गरिन्छ। सयौं भेडाको बलि चढाइन्छ। पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

नजिकै पोखरीबाट पानीको मुहान फुटेको छ। खोला दक्षिणतिर बग्छ। मन्दिरबाट करिब २० मिटर दक्षिण हिँडाइमा विशाल भामा गुफा छ। किंवदन्ती अनुसार १२ भाइ वराह र २२ बहिनी बज्यू वराह उत्पत्ति भएको गुफा अभियन्ता जिवन रोका मगरले सुनाए।

लामो समय जलजलाको पर्यटन प्रवद्र्धनमा लागेका समाजसेवी प्रवेश रोका मगरका अनुसार यस क्षेत्रमा करिब १४ प्रजातिका गुराँस फुल्छन। यहाँ घोरल, थार, रतुवा, हरिण, बँदेल, बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगायत जंगली जनावर पाइन्छ। त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौं चराचुरुंगीको  बासस्थान हो। घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे, भारमासे, पातव, ढालमुन्द्र, विन्जोरी, ढोंगे, सुनगाभा आदि फूल तथा जडीबुटी पाइन्छ।

जलजलाबाट उत्तरमा सिस्ने, पुथा, डोगारी, गुर्जा र धौलागिरि हिमश्रृंखलाको लामो लर्कन देखिन्छ। वसन्त ऋतुमा जलजला क्षेत्र गुराँसले मग्मगाउँछ। वर्षा याममा थरीथरीका रंगविरंगका भुइँफूल फुल्छन्। हिउँदमा जलजला हिउँले सेताम्मे बन्छ। त्यहाँ माथिको नीलो आकाशसहित उत्तरमा ढोरपाटन क्षेत्र माथिका हिमालको लामो लर्कन देखिन्छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ। त्यस क्षेत्रमा सांकेतिक चिन्ह राख्ने काम धमाधम भइराखेको छ। केही वर्षअघि एक्सप्लोर गरिएको गुरिल्ला ट्रेल र जलजला ट्रेलको आकर्षक गन्तव्य जलजला नै हो।
 
सामुदायिक होमस्टेको स्वागत
दिउँसोको खानापछि हाम्रो टोली जलजला छाडेर करिब १.५ घन्टाको ओरालो ओर्लेर चलावाङ हुँदै ऐतिहासिक थवाङ गाउँ (२,००० मि)पुग्यो। शुभारम्भ कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, पूर्व सभामुख तथा सभासद् ओनसरी घर्ती मगर, थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती लगायत स्थानीयको बाक्लो उपस्थितिमा सुन्दर मयुर नाच प्रस्तुत गरियो।

मन्त्री पुनद्वारा सरकारले सय गन्तव्यमा घोषणा गरेको जलजला क्षेत्रको उद्घाटन गर्दै औपचारिक रूपमा शुभारम्भ भएको घोषणा गरियो। उनले आन्तरिक तथा बाह्य पर्यटकलाई जलजला क्षेत्र घुम्न निम्तो समेत दिए। 

दश वर्षे जनयुद्दको उद्गमस्थल मानिन्छ थवाङ। मगर संस्कृति, सुन्दर गुजुमुज्ज गाउँ। ढुंगा, माटो र काठका छानाले बनेका घर। करिब २५० घर रहेको बस्तीका अधिकांश बासिन्दा मगर र दलित हुन्। होमस्टेका अध्यक्ष धपलाल पुनकाअनुसार थवाङि मगर सामुदायिक होमस्टे आठ घरमा सञ्चालित छ। उनीहरू पर्यटकलाई लोकल परिकार खुवाउँछन्। त्यहाँ बासको पनि राम्रो व्यवस्था छ। स्थानीय सांस्कृतिक नाचगान पनि हेर्न पाइन्छ। 

गाउँ सुन्दर छ। गाउँले आत्मीय र मिहिनेती छन्। त्यहाँ मगर जीवनशैलीको अध्ययन गर्न पाइन्छ। हरेक वर्ष असार १ गतेदेखि एक सातासम्म उनीहरू धुमधामले भूमे पर्व मनाउँछन्। भूमे अठार मगरात क्षेत्रका सबैभन्दा ठूलो चाड मानिन्छ।

थवाङले पर्यटनबाट आम्दानी गर्न सक्छ। गत कात्तिकमा अध्ययन गर्न थवाङ पुगेका द्वन्द्व, शान्ति र विकास विभाग त्रिविका उपप्राध्यपक चिरञ्जीवी भण्डारी भन्छन्, ‘पर्यटनका माध्यमबाट आयआर्जन बढाउन सके दिगो शान्तिको आधार तयार हुन्छ।’   

जीवनमा एक पटक घुम्नै पर्ने ठाउँ–जलजला। तपाइँ पनि त्यता जान चाहनुहुन्छ भने, असार पहिलो साता भूमे पर्वको रौनकमा रंगिने गरी यात्रा योजना बनाउनुस् है !

कसरी पुग्नेःकाठमाडौं–लिवाङ बसमा १२ घन्टा। लिवाङवाट धवाङ हुँदै पेवासम्म अढाई घन्टा जीपमा। त्यसपछि ओख्रेनी, धरमपानी हुँदै जलजला करिव ५ घन्टा पदमार्ग। त्यसैगरी सुलिचौरबाट जेलवाङसम्म अढाई घन्टा जीपमा। जेलवाङबाट ६ घन्टा सुल्कवाङ हुँदै जलजला। ५ घन्टा जलजलादेखि थवाङ पैदलमार्ग, थवाङवाट मिरुल हुँदै लिवाङ ७ घन्टा जीपमा अथवा थवाङबाट घोराही ८ घन्टा सहिद मार्ग हुँदै बस यात्रामा काठमाडौं। थवाङवाट उवा हुँदै जीपमा सुलिचौर पनि जान सकिन्छ। त्यसैगरी थवाङबाट रुकुम (पूर्व)को महत हुँदै खावाङ बगरमा मध्य पहाडी लोकमार्ग भेटिन्छ, त्यहाँबाट कांक्री, लुकुम, बुर्तिबाङ हुँदै काठमाडौं पनि फर्किन मिल्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...