coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

धेरैलाई सताउने रोग एलर्जी

तपाई पनि एलर्जीले हैरान हुनुहुन्छ ? एलर्जी किन हुन्छ र यसको उपचार के हो ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. भास्कर कायस्थसित गरेको कुराकानीको अंश:

चिकित्सक सेवामा प्रवेश गर्नुभएको कति वर्ष भयो ?
– यो सेवामा आएको ३० वर्ष भयो। चर्मरोग विशेषज्ञको रूपमा काम गर्न थालेको २१ वर्ष भयो। बंगलादेशमा अध्ययन सकेर फर्केपछि वीर अस्पतालमै सेवा गरिरहेको छु।

एलर्जी भनेको के हो ?
– कुनै पनि चिज या वस्तुले शरीरमा पर्ने उल्टो असरलाई एलर्जी भन्न सकिन्छ। अर्थात् कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो। जस्तो कि घाम, बोटबिरुवा, धुलो, बासना, औषधि आदि। कसैलाई माछा सुँघ्नै हुँदैन, कसैलाई धुलोको एलर्जी हुन्छ भने कसैलाई कुनै औषधिले पनि एलर्जी हुन्छ।


यस्तो कसरी हुन्छ ?
– एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ। हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ। मास सेल सबैभन्दा बढी छालामा हुन्छ। त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ। एलर्जी भयो भने यी अंगहरू प्रभावित हुन्छन्। छालामा भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने, छालामा भयो भने चिलाएर डाबर आउने र आँखामा भयो भने आँसु आउने हुन्छ। यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ। जुन एलर्जीको कारण श्वास फेर्न गाह्रो हुन्छ।

एलर्जी हरेक मानिसको शरीरमा हुन्छ ?
– एलर्जी शरीरमा हुँदैन। सबैको शरीरमा मास सेल हुन्छ। यसले शरीरमा विभिन्न काम गर्छ। जस्तो नाकमा धुलो गयो भने जानेबित्तिकै बाहिर निकाल्छ। त्यो सेलले धुलोलाई शरीरमा हानि गर्ने वस्तु भनेर ठान्छ। धुलो नाकमा जानेबित्तिकै हाच्छिऊँ गरेर बाहिर ननिस्के फोक्सोमा पुग्छ। बच्चा पाउने बेलामा पाठेघरलाई बाहिर निकाल्न मद्दत गर्छ। त्यस्तो मास सेल हरेक मानिसको शरीरमा हुन्छ। शरीरमा आफ्नै तरिकाले काम गरिरहेको सेलले कुनैकुनै वस्तु बढी भएको ठान्छ। शरीरमा भएको हिस्टामिन मास सेलबाट बाहिर निस्कँदा बढी प्रतिक्रिया देखाउँछ र एलर्जी हुन्छ।

–निभिन्न अति महतत्वपूर्ण खाने कुराको पनि एलर्जी हुन्छ। यस्तो अवस्थामा ती खाने कुराको विकल्प खोज्नुपर्छ।
–जटिल एलर्जी भएका कतिपयको अस्पताल भर्ना हुनासाथ मृत्यु पनि भएको छ।
–अमेरिका, सिंगापुर, फिलिपिन्स, जापानतिर सामुद्रिक खाने कुराको एलर्जी बढी हुन्छ। हामीकहाँ ढुसी परेको खानाको एलर्जी, धुलोको एलर्जी, चिसोको एलर्जी, रसायनको एलर्जी, सिमेन्टको एलर्जीआदि बढी हुन्छ।
– खाने कुरा, औषधि, रङ, कोठामा हुने ढुसीआदिले एलर्जी हुन्छ।
– एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ। त्यो सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ।
–एलर्जीका धेरै बिरामी वातावरण प्रदूषणका कारण हुने गरेका छन्।

माससेल बाहिर निस्कने कारण के हो ?
– कहिलेकाहीँ शरीरमा छुँदा पनि डाबर बस्छ। त्यो मास सेलले गर्दा हो। त्यसैगरी ताप, चिसो, संक्रमणका साथै खाने कुरामा पनि एलर्जी हुन सक्छ। कसैकसैलाई दही खाँदा पनि एलर्जी भइरहेको हुन्छ।

यस अस्पतालमा कस्तो एलर्जीका बिरामी आउँछन् ?
– धेरैजसो छालामा भएको एलर्जी भएका बिरामी आउँछन्। कुनै पनि एलर्जी हुनेलाई अन्यत्र पनि समस्या देखाउँछ। जस्तो कि एलर्जीका बिरामी ग्यास्ट्रोमा उपचार गर्न पुगेका हुन्छन्। कसैलाई धेरै एलर्जी हुँदा छाला र आन्द्रामा समेत डाबर आउँछ र पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ अनि उनीहरू पेटको उपचारका लागि अस्पताल पुग्छन्।

छालामा एलर्जी के कारणले हुन्छ ?
– खाने कुरा, औषधि, रङ, कोठामा हुने ढुसीआदिले एलर्जी हुन्छ। ढुसी कार्पेटमा लाग्छ। केही दिनसम्म कोठा बन्द गरेर खोलेमा ढुसीको एलर्जी हुन्छ। यसलाई माइट्स पनि भनिन्छ। यो माइट्स शरीरमा गएपछि हाच्छिऊँ आउने र दम आउने हुन्छ। प्रायः ढुसी आएको कोठामा एलर्जी बढी हुन्छ।

यस्ता बिरामी कत्तिको आउँछन् ?
– विभिन्न किसिमका एलर्जीका बिरामी गरी दैनिक कम्तीमा पनि ३० जना आउने गरेका छन्। कोही रङको एलर्जी लिएर, कोही चिलाउने डाबर लिएर, कोही सिमेन्टको एलर्जीका कारण हातमा खस्रो दाग लिएर, कोही हाच्छिऊँ लिएर आउँछन्। कोही कस्मेटिकको एलर्जी लिएर पनि आउँछन्।

विदेशतिर पनि यस्तै एलर्जी हुन्छ ?
– अरू देशमा अर्कै कारणले एलर्जी हुन्छ। हामीकहाँ अर्कै कारणले हुन्छ। अमेरिका, सिंगापुर, फिलिपिन्स, जापानतिर खाने कुराको एलर्जी बढी छ। उनीहरूमा सामुद्रिक खाने कुराको एलर्जी बढी हुन्छ। हामीकहाँ सामुद्रिक खाना नभएकाले यसको एलर्जी हुँदैन। हामीकहाँ ढुसी परेको खानाको एलर्जी, धुलोको एलर्जी, चिसोको एलर्जी, रसायनको एलर्जी, सिमेन्टको एलर्जी बढी हुन्छ। सुरक्षा औजार नलगाई सिमेन्ट चलाउने कामदारमा यसको एलर्जी बढी देखिन्छ। हामीकहाँ महिलामा निधारमा लगाउने टीकाको पनि एलर्जी देखिन्छ। त्यसैगरी दही तथा माछाको पनि एलर्जी हुन्छ।

एलर्जीको जटिलता के हो ?
– पहिलो चोटि एलर्जी भयो भने उपचारले निको हुन सक्छ। तर, क्रोनिक एलर्जी छ भने निको नहुन सक्छ। पछिसम्म पनि भइराख्ने हुन्छ। जस्तो सिमेन्टको  एलर्जी पछिसम्म निको नहुने हुन्छ। त्यसैगरी सिमेन्टको एलर्जीले छालामा दाग बसेको छ भने पछिसम्म दुबी जस्तो सेतो दाग आउन सक्छ। माछाको एलर्जी भएको छ भने अर्को चोटि माछा खाँदा झन् गम्भीर एलर्जी हुन्छ। तेस्रो पटक पनि खायो भने श्वास बन्द भएर ज्यानै जान सक्छ। त्यसैगरी नदुख्ने औषधि बु्रफिन, निम्सको एलर्जी छ भने जिउभरको छालामा निस्कन सक्छ। त्यही चिज दोहोरियो भने जिब्रो सुन्निएर, श्वास बन्द भएर र निसास्सिएर मृत्युसमेत हुन सक्छ।

एलर्जी जटिल बनेका बिरामी पनि आउँछन् ?
–आउँछन्, जटिल एलर्जी भएका कतिपयको अस्पताल भर्ना हुनासाथ मृत्यु पनि भएको छ।

नाकको एलर्जी जटिल भयो भने के हुन्छ ?
– नाक बन्द हुने र हाच्छिऊँ आउने समस्या जटिल बन्दै जान्छ।  

आँखाको एलर्जी भयो भने नि ?
–सुरुसुरुमा चिलाउने र सक्रमण हुने हुन्छ। पछि गएर आँखामा फुलो पर्ने तथा ज्योति नै गुम्न सक्छ।

एलर्जी भएको मानिसले औषधि दोहो-याएर प्रयोग गरेमा जटिल हुने हो ?

– हो। औषधिको एलर्जी भएका र त्यही औषधि आफूखुसी प्रयोग गरेका बिरामी थुपै्र आउँछन्। कतिपयको आउँदाआउँदै मृत्यु हुन्छ। कतिपयको उपचारको क्रममा मृत्यु हुन्छ।

एलर्जीको उपचार के हो त ?
– हामीकहाँ उपचार छ।  पहिला त लक्षणअनुसारको उपचार हुन्छ। चिलाउने छ भने नचिलाउने औषधि दिइन्छ। श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि छ। अर्को उपचार भनेको मास सेलभित्र रहेको हिस्टामिन नामक रसायनलाई भित्रै रोकेर राख्ने औषधि हो। तर यस्ता कडा औषधि सधैं खाइरहनु उचित हुँदैन। कतिपय अवस्थामा आफूलाई कुन कुराको एलर्जी छ भन्ने विषयमा जानकारी नहुन सक्छ। यो पहिल्यै थाहा पाएर जोगिन वा आफूलाई कुन खालको एलर्जी छ भनेर परीक्षण गर्ने सुविधा पनि छ। एलर्जी पत्ता लाग्यो भने त्यो चिजबाट टाढा रहने। कतिपय एलर्जी आफ्नै अनुभवबाट पनि थाहा हुन्छ।  

अति चाहिने खाने कुराको एलर्जी भयो भने के गर्ने ?
–निभिन्न अति महŒवपूर्ण खाने कुराको पनि एलर्जी हुन्छ। यस्तो अवस्थामा ती खाने कुराको विकल्प खोज्नुपर्छ। जस्तो दहीको एलर्जी भयो भने भटमासको दही खान सकिन्छ। भैंसीको दूधको सट्टा बदाम, मकैआदिको दूध खाने। भैंसीको दूधको सट्टा गाईको पनि खान सकिन्छ।

नेपालमा एलर्जीको उपचारको अवस्था कस्तो छ ?
– एलर्जीको उपचार नेपालभर छ। कतिपय अस्पतालमा साधारण उपचार हुन्छ भने ठूला अस्पतालहरूमा जटिल उपचार पनि हुन्छ।

एलर्जीको उपचार विशेषज्ञ चिकित्सकले मात्र गर्छन् कि सबैले गर्न सक्छन् ?
– साधारण एलर्जी र छालाको एलर्जीको उपचार छाला विशेषज्ञले गर्छन्। औषधिको एलर्जी हामी गर्छौं। आँखा, फोक्सो, नाकलगायत विभिन्न अंगको एलर्जी छ भने सम्बन्धित विशेषज्ञ चिकित्सकले उपचार गर्छन्।

वातावरण प्रदूषणले एलर्जी बढाएको छ कि छैन ?
– के कति एलर्जी बढ्यो भन्ने तथ्यांक त छैन। तापनि एलर्जी बढेको देखिन्छ। धेरै बिरामी वातावरण प्रदूषणका कारण हुने गरेका छन्। धुलो र धुवाँको एलर्जी भयो भन्दै आउनेको संख्या पनि उत्तिकै छ।

एलर्जीका विशेषज्ञ पर्याप्त छन् कि छैनन् ?
– वीर अस्पतालमा ४० जना जति छाला रोग विशेषज्ञ उत्पादन भइसकेका छन्। इमुनोलोजी तथा एलर्जोलोजी विभाग विदेशमा छ तर नेपालमा छैन। यो समूहका चिकित्सकले एलर्जीको उपचार मात्र गर्छन् र एलर्जीका बिरामी मात्र हेर्छन्।

 

प्रकाशित: २१ वैशाख २०७६ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App