७ वैशाख २०८१ शुक्रबार
अन्य

‘शक्तिशाली’ गीत

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो
बल्लबल्ल नाम निकाल्यो, अहिले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरू देशमा पाइँदैन नेपालमै हो छुट...

लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा रहेको यो गीत ‘लुट्न सके लुट’ गत फागुनमा सामाजिक सञ्जालमा भाइरल भयो। ‘मलाई अमेरिका यही’, ‘के बाहुन केको कामी, केको जनजाति’ जस्ता व्यंग्यात्मक र सन्देशमूलक गीत दर्शक र स्रोतालाई दिइसकेका पशुपति पछिल्लो गीतको चर्चा यति बिघ्न भयो कि यसको समर्थन र विरोधमा सामाजिक सञ्जालमा बहस नै चल्यो। गीत सार्वजनिक भएको लामो समय बित्न नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट युवा संघको विरोधका कारण गायक शर्माले युट्युबबाट गीत नै हटाउनुप¥यो। यो गीतले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म राम्रो चर्चा पायो। गीतले संसद्मा पनि यति धेरै चर्चा पायो कि एक सांसद्ले आफूले गायक पशुपतिलाई २५ हजार रूपैयाँ दिने घोषणा नै गरे।

गायक पशुपतिले गीत सार्वजनिक भएपछि आफूले आमनेपालीले भोगेको पीडालाई गीतमा राखेको बताएका थिए। ‘आमाबाबु, दाजुभाइ, गरिब जनताको मनमा उब्जिरहेको प्रश्न र मर्म गीतमा राखिएका शब्द हुन्। उहाँहरूको मनबाट हेरेको कुरालाई मैले गीतमा प्रस्तुत गरेको हुँ। गीतमा नेपालीको साझा भावना छ,’ उनले भनेका थिए, ‘यी मेरो गीतभन्दा पनि जनताका गीत हुन्। देशका लागि संघर्षरत कुनै युवा वर्ग ‘फ्रस्टेड’ भएपछि के–के समस्या आउन सक्छ भन्ने विषयलाई गीतमा राखेको छु।’

भाको एउटा जाले रुमाल फूल झरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना पिरतीमा बैना
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाऊ पछि हल्लैको

गायिका विष्णु माझीसँग सहकार्य गर्दै गायक कुलेन्द्र बिकले गाएको यो गीतले युट्युबमा सबैभन्दा बढी हेरिएको लोकदोहोरी गीतको कीर्तिमान नै कायम राख्यो। यो गीत सार्वजनिक भएको तीन महिनामा युट्युबमा झन्डै साढे ३ करोड बढीपटक हेरिएको छ। वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको यो गीतले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ जस्तो विरोधको सामना त गरेन। तर, गीतकै कारण गायिका विष्णु माझीलाई सार्वजनिक हुन बाध्य बनायो।

लामो समयदेखि गुमनाम अवस्थामै गीत रेकर्ड गराइरहेकी गायिका विष्णु यो गीतपछि पुनः एकपटक चर्चामा आइन्। उनको सर्वत्र खोजी भएपछि उनी पति सुन्दरमणि अधिकारीसँग स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा उपस्थित नै भइन्। एउटा गीत कति ‘शक्तिशाली’ बन्न सक्छ भन्ने उदाहरण गायक पशुपतिको ‘लुट कान्छा लुट’ र कुलेन्द्र तथा विष्णुको ‘सालको पात टपरी’ले देखाइसकेका छन्। नेपालमा पछिल्लो समय जनचासोका विषय उठाइएका गीत स्रोता तथा दर्शकले रुचाइरहेका छन्। समाजमा दैनिक रूपमा देखिँदै आएको समस्यालाई स्रष्टाले गीतमा राखेपछि चासो ह्वात्तै बढ्ने गरेको छ।

दीर्घकालसम्म रहिरहने गीतहरू सन्देशमूलक हुन्छन्। ती गीतमा प्रयुक्त शब्द र भावहरू दर्शक र स्रोताको मन छुने किसिमका हुन्छन्। त्यसकारण ती गीत ‘शक्तिशाली’ बन्छन्।

संगीतकार अर्जुन पोखरेल लामो समयसम्म दर्शक र स्रोताले गुनगुनाइरहने गीत ‘शक्तिशाली’ हुने दाबी गर्छन्। ‘दीर्घकालसम्म रहिरहने गीतहरू सन्देशमूलक हुन्छ। ती गीतमा लेखिएका शब्द र भावहरू दर्शक र स्रोताको मन छुने किसिमका हुन्छन्। त्यसकारण पनि ती गीत ‘शक्तिशाली’ बन्छन्,’ अर्जुन भन्छन्, ‘उदाहरणका रूपमा सालको पात टपरी गीतलाई हेर्ने हो भने गीतभित्र प्रेमी र प्रेमिकाले एकअर्कालाई ‘कन्भिन्स’ गर्न सफल भएका छन्। गीतमा प्रयोग गरिएका शब्दले पनि जोकोहीलाई छुन्छ। त्यसकारण पनि यो गीतलाई दर्शक–स्रोताले लामो समयसम्म मन पराइरहे।’
अर्जुनको बुझाइमा ‘लुट्न सके लुट कान्छा’मा पशुपतिले जनमानसको कुरालाई ऐनाजस्तै छर्लङ्ग देखाएका कारण पनि गीत छोटो समयमै लोकप्रिय बनेको हो। ‘यो गीतमा नेपाली जनताको ‘फ्रस्टेसन’लाई देखाइएको छ। नेपाली राजनीतिको इतिहासलाई नियाल्दा प्रारम्भकालदेखि नै जनताले हरेक समस्या भोग्दै आएका थिए। ती भोगाइलाई जस्ताको तस्तै टिपेर पशुपतिजीले गीतमा राख्नुभएकाले पनि यो गीत अब्बल बन्यो,’ अर्जुनले बुझाइ छ, ‘वास्तवमा गीत समाजका कथा राखेर र फरक प्रस्तुतिका कारण भाइरल हुन्छन्। तर सबै भाइरल गीत लोकप्रियचाहिँ हुँदैन।’

‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आँखामा तिमी छौ’लगायत गीतका सर्जक डा. कृष्णहरि बराल स्रोता र दर्शकलाई पक्रन सक्ने भावना बोकेका गीत नै शक्तिशाली हुने बताउँछन्। ‘एउटाको अन्तर हृदयको कुराले अर्कोको अन्तरहृदयलाई छुन सक्नुपर्छ। यस्तो गीत लेखियोस् कि त्यो गीत स्रोतालाई घत लागोस्,’ डा. बराल भन्छन्, ‘आममानिसले नोटिस नगरेको सत्यतालाई गीतमा उतार्न सकियो भने त्यो ‘शक्तिशाली’ हुन्छ। गीत ‘शक्तिशाली’ बन्न त्यसमा कथात्मक नवीनता चाहिन्छ। सरलताभित्रको गम्भीरताका शब्दमा पनि ‘शक्तिशाली’ गीत बन्छन्। यसबाहेक लय र संगीत पनि महत्वपूर्ण विधामा पर्छन्।’

२०३१ सालमा भोजपुर, दावाका श्याम तमोटले लेखेर संगीत भरेको गीत ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ सदाबहार ‘शक्तिशाली’ गीत मानिन्छ। गायक रामेशको स्वरमा सजिएको यो गीत विशेषत राजनीतिक आन्दोलन र राजनीतिक परिवर्तनका समयमा बढी बज्ने गर्छ। यो गीत २०३६ सालको जनमतसंग्रह, २०४६ सालको पञ्चायतविरोधी आन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रमुख स्थान पायो। फिल्म ‘बलिदान’मा पनि समावेश गरिएको यो गीत १६ भाषामा रेकर्ड गरिएको छ।

सुन साइँली साइँली
परदेशबाट म आउँला
सुन साइँली साइँली
चालीस काटेसी रमाउँला

गायक हेमन्त रानाले गाएको यो गीत सामाजिक सञ्जालमा भाइरल भएको गीतमा पर्छ। गीतमा हिमाल साउद र कालीप्रसाद बासकोटाको शब्द तथा कालीको संगीत छ। गीतमा अभिनेता गौरव पहाडी र अभिनेत्री मेनुका प्रधान फिचर्ड छन्। यो गीतको एल्बम सार्वजनिक राजधानीमा आयोजना गरेको कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले भनेको वाक्यांशले कार्यक्रममा चर्चा पाएको थियो।

‘हामीले फिल्म छक्का पन्जा रिलिज भएपछि फिल्म हेर्न गएका एक गाउँका दर्शक फिल्म हेरिसकेपछि होटलबाट सिधै गाउँ फर्किएछन्। हामीले फिल्ममा वैदेशिक रोजगारीले समाजको परिवारमा पारेको असरलाई देखाएका थियौं,’ दीपकराजले भनेका थिए, ‘उनी गाउँमा पुगेको केही समयमा सुन साइँली गीत रिलिज भयो। यो गीतमा प्रयोग गरिएको शब्दबाट प्रभावित भएर ती युवा पुनः विदेश फर्किएछन्। एउटा गीतको शक्ति कति धेरै हुन्छ भन्ने कुरा पनि यसबाट प्रमाणित हुन्छ।’

पछिल्लो समयमा संगीतमा आएको परिवर्तनसँगै स्रष्टाहरूले पनि आफ्नो लेखन शैलीदेखि संगीतमा नयाँपन दिइरहेका छन्। गीतमा नयाँपन सुन्न चाहने स्रोता तथा दर्शकलाई पनि कथात्मक नवीनता झल्काउने गीत दिनुपर्ने सुझाव संगीतकर्मीको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App