८ वैशाख २०८१ शनिबार
खेल

मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

मेचीनगर गोल्डकपको ट्रफिका साथ पुलिस र आर्मीका प्रशिक्षक तथा खेलाडी। युवराज, नागरिक

दमक - चौथो मेचीनगर गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन्।

आइतबार हुने फाइनलमा दुवै विभागीय टोलीले उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेका छन्। प्रि–म्याच कन्फ्रेन्समा  दुवै टोलीले प्रतिष्ठाको प्रतिस्पर्धाको रूपमा लिँदै निर्धारित समयमै उपाधि उचाल्ने दाबी गरे। आर्मी डिफेन्डिड च्याम्पियन हो। गत वर्ष मनाङ मस्र्याङ्दीलाई २–१ गोलको अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको थियो। यी टोली आठौं राष्ट्रिय खेलकुदमा पनि आमनेसामने भएका थिए। लिगमा १–० ले विजयी बनेको पुलिस फाइनलमा भने आर्मीलाई १–० को नतिजा सुम्पिन बाध्य भएको थियो।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले स्वर्ण पदकको साखका लागि उपाधि जित्नैपर्ने अवस्था रहेको बताए। ‘पाएका अवसरहरू सदुपयोग गर्न सक्यौँ भने हामी जित्छौँ,’ प्रशिक्षक न्यौपानेले भने, ‘केही खेलाडीहरूको पनि अनुपस्थिती खड्किने छ। क्वार्टर र सेमिफाइनलमा मैदानमा नदेखिएका आर्मीका खेलाडीलाई मैदान उतार्नेछांै। उनले निर्धारित समयमा नै स्कोर गर्ने रणनीति अपनाउने उल्लेख गरे।

आर्मी नियमित कप्तान भरत खवास तथा गोलरक्षक विकेश कुथुलाई मैदान उतार्र्ने दाउमा छ। अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार्दै फाइनल खेल्ने योजना रहेको व्यवस्थापक चुनबहादुर थापाले बताए। काँकरभिट्टाको मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने दाबी गरेको छ। ‘मिहिनतको प्रतिफल स्वरूप फाइनल पुगेका छौँ,’ आर्मीका कप्तान नवयुग श्रेष्ठ भन्छन्,‘अब उपाधि पनि उचाल्नेछाैं।’

पुलिसका कप्तान भरत साहले आर्मीको प्रदर्शनलाई विश्लेषण गरेर खेल खेल्ने बताए। उनले पनि निर्धारित ९० मिनेटकै समयमा स्कोर निकालेर उपाधि उचाल्ने दाबी गरेका छन्। फिनिसिङ तथा पासमा कमजोरी देखिएका थियौं,’भरतले भने, ‘अब फाइनलमा दोहोरिदैन। प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। नेपाल पुलिस र आर्मीले प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा लिँदै निर्धारित समयमै उपाधि उचाल्ने दाबी गरेका छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App