८ वैशाख २०८१ शनिबार
समाज

प्रेस स्वतन्त्रता भएका देशमा जम्मा नौ प्रतिशत बसोवास

काठमाडौं – विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा रिपोटर्स विथआउट बोर्डर्स (आरएसएफ) ले १० प्रतिशतभन्दा कम मानिस बसोवास गर्ने मुलुकका पत्रकारले मात्र उपयुक्त वातावरणमा काम गर्न पाएको जनाएको छ।

प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा शुक्रबार आरएसएफद्वारा प्रकाशित विवरणअनुसार सन्तोषजनक प्रेस स्वतन्त्रता भएका मुलुकमा विश्वका नौ प्रतिशत मानिसको मात्र बसोवास रहेको छ। प्रेस स्वतन्त्रता कमजोर रहेका मुलुकमा चीन, रसिया, साउदी अरेबियामात्र होइन, मेक्सिको, भारतजस्ता प्रजातान्त्रिक मुलुकसमेत परेका छन्। विश्वका ९१ प्रतिशत जनता बसोवास गर्ने मुलुकको अवस्था चिन्ताजनक छ।

‘विश्व तापमान, भ्रष्टाचार र लैंगिक असमानतालगायतका मानव जातिका सबै ठूला समस्याको समाधान गुणस्तरयुक्त पत्रकारिताबेगर सम्भव छैन,’ आरएसएफ महासचिव क्रिस्टोफ डोलोरियोले भनेका छन्, ‘पत्रकारका निम्ति अवस्था निकै जटिल बनेको छ र सबै मानव जाति सूचनाको अधिकारबाट वञ्चित छन्।’

यी तथ्य विश्व बैंकको जनसंख्या तथ्यांक र आरएसएफको २०१९ प्रतिवेदनको प्रेस स्वतन्त्रता सूचकमा आधारित छन्। यिनीहरूलाई प्रेस स्वतन्त्रता नक्सामा समेत उल्लेख गरिएको छ। बितेको पाँच वर्षमा प्रेस स्वतन्त्रता सूचक ११ प्रतिशतले ओर्लिएको छ।

प्रेस स्वतन्त्रता सूचकमा १४०औं स्थानमा रहेको भारत रातो र १७७औं स्थानमा रहेको चीन कालो स्थानका रुपमा चित्रित छन्। यसरी हेर्दा २.७ अर्ब जनसंख्या खराब प्रेस स्वतन्त्रताको स्थितिमा बाँचेका छन्, जब कि पहिलो स्थानमा रहेको नर्बेमा ५२ लाख मानिसमात्र बसोवास गर्छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App