८ वैशाख २०८१ शनिबार
समाज

रौतहटका स्थानीय तह उपप्रमुख भन्छन्, – ‘अध्यक्षले हेप्न थाले चुप लागेर बस्दैनौं’

रौतहट - रौतहटका विभिन्न स्थानीय तहका उपप्रमुखले प्रमुखहरुको कार्यशैलीको विरोध गरेका छन्। उपमेयर क्लब रौतहटद्वारा जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा उपस्थित सबै उपप्रमुख प्रमुखविरुद्ध खनिएका थिए।

जिल्लाका १८ स्थानीय तहमध्ये १२ मा का उपप्रमुखहरुले आफूहरुमाथि प्रमुखद्वारा गरिएको भेदभावपूर्ण व्यवहार एवं हेपाहा प्रवृत्तिविरुद्ध संयुक्त रुपमा तीव्र आलोचना गरे। नियमानुसार काम गर्न नदिए उपप्रमुखहरुले प्रमुखहरुविरुद्ध कानुनी उपचारको बाटो अपनाउने चेतावनी दिएका छन्।

योजना तर्जुमा, योजना अनुगमन, न्यायिक, राजस्व परामर्शसहित विभिन्न समितिका संयोजक स्थानीय तहको उपप्रमुख रहने स्पष्ट कानुनी प्रावधान भए पनि प्रमुखहरुले आफूखुसी गर्दै आएका उनीहरुको गुनासो छ।

साथै आफूहरुले यसबारे कुरा गर्न खोज्दा पनि आफूहरुमाथि अभद्र व्यवहार भएको उनीहरुको आरोप छ। यस्तो रवैया देखाइरहे आफूहरु चुप लागेर नबस्ने र अधिकारका लागि कानुनी बाटो अपनाउनेसम्मको संयुक्त प्रतिबद्धता उनीरुहले गरेका छन्।

गत हप्ता यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाले जबरजस्ती कागजमा हस्ताक्षर गराउन दबाब दिएको, हस्ताक्षर गर्न विरोध जनाउँदा अभद्र व्यवहार गरेको उपाध्यक्ष गीतादेवी साहले आरोप लगाइन्। ‘बैठकमै अध्यक्ष मुखियाले योजना अनुगमन फारममा हस्ताक्षर नगर्ने हो भने कार्यालयबाट भाग, तिम्रो यहाँ कुनै काम छैन भने।'

अध्यक्ष मुखियको कुराको प्रतिवाद गर्दा आफूमाथि झण्डै थप्पड प्रहार भएको दुखेसाे उपाध्यक्ष साहले गरिन्। उपाध्यक्ष साहले महिला भनेर अध्यक्ष मुखियाले अपमानित गरेकोले आफू चुप लागेर नबस्ने चेतावनी दिँदै अपमानको बदला कानुनी उपचारको बाटो लाग्ने बताएकी छन्। कटहरिया नगरपालिकाकी उपमेयर नुरजहा खातुनले पनि आफूले काम गर्न नपाएको गुनासो गरेकी छन्।

राजदेवी नगरपालिलाकी उपमेयर श्रीमती अंशु सिंहले जथाभावी रुपमा कर्मचारी भर्ना गरेको, आफूखुसी बजेट बाँडेको, योजना अनुगमन गरेर रिपोर्ट दिँदा उपप्रमुखको अधिकार नभएको भन्दै रिपोर्ट फालेको लगायत घटना सुनाइन्।

साथै मेयरले बिनाटेण्डर लौखौंको फर्निचर खरिद गरेको बताउँदै आफ्नो नगरमा भ्रष्टाचार भएको आरोप उपमेयर सिंहले लगाएकी छन्।

कार्यक्रममा गौर नगरपालिकाकी उपमेयर श्रीमती किरण ठाकुर, दुर्गा भगवती गापाकी उपाध्यक्ष मञ्जुदेवी झा, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी साह, गरुडाकी उपमेयर रंगीलादेवी जयसवाल, गढीमाईकी सुभद्रा गुप्ता, माधवनारायणकी सिमल साह, बौधीमाईकी प्रेमलता कुश्वाहा, इशनाथकी हुस्नआरा खातुनलगायत उपप्रमुखहरुले संयुत्त रुपमै मेयरको विरोध गरेका थिए। उनीहरुले यसविरुद्ध सशक्त रुपमा एक भएर जाने समेत बताएका छन्।

 

प्रकाशित: २० वैशाख २०७६ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App