७ वैशाख २०८१ शुक्रबार
अन्य

अध्यात्म र भौतिक विज्ञान बीचको अन्तर्सम्बन्ध

एलपि भानु शर्मा
प्राध्यापक, पोखरा विश्वविद्यालय एवं जीवन विकास विशेषज्ञ


भौतिक विज्ञान र आध्यात्मिक विज्ञानबीच कस्तो सम्बन्ध हुन्छ? के भौतिक विज्ञानको मात्र विकासले मानव जातिको सम्पूर्ण विकास हुन्छ? आज ठूला र भौतिक विज्ञानले विकसित भएका आफ्ना सेवा सुविधाहरु प्रशस्त भएका मान्छेहरु आत्मिक रुपले सुखी छन्? भौतिक सुखसुविधाले मात्रै शान्ति महसुस गर्छन् कि गर्दैनन्?

धेरैजसो विकसित मुलुकमा रहेका मान्छेहरुको प्रमुख समस्या भनेको डिप्रेसनको रोग हो। यो प्रकारको मनोरोग उनीहरुलाई किन लागरिहेको छ? यी र यस्तै प्रश्नले पश्चिमा मुलुकका अनुसन्धानकर्ताहरुलाई झक्झकाएको धेरै भएको छ। उनीहरुको खोज तथा अनुसन्धान आत्मिकतर्फ पनि लम्किएको छ। वैज्ञानिक स्यान्ड्रा म्यागनस र इतिहास विज्ञानका प्राध्यापक युभल नोह हरारीको उदाहरण हामी लिन सक्छौँ। म्याग्नसले आफू अन्तरिक्षको यात्रामा गएको बेलामा पनि विपश्यना ध्यानको प्रयोग गरेको र त्यतिबेला स्पेस क्रिएट भएको अनुभव भएको बताएकी थिइन्। त्यस्तै हरारीले त लामो समय ध्यान गर्ने र त्यसको अधिकतम प्रयोग गर्नेमा पर्छन्।

विज्ञान भनेको कुनै पनि विषयको विशेष ज्ञान हुनुलाई जनाउँछ। त्यस्तो ज्ञान एउटै तरिकाले जसले प्रयोग गरे पनि परिणाम उही आउँछ। परिणाममा भिन्नता आउँदैन। विज्ञान मापनमा भर पर्छ। भौतिक विज्ञानले बाहिरका सबै विषयको अध्ययन गर्छ भने आध्यात्मिक विज्ञानले व्यक्ति भित्रको आन्तरिक तत्त्वको अध्ययन गरेको हुन्छ।

आन्तरिक तत्त्व भन्नाले हाम्रा भावना, संवेदना, सोच, विचार, बुद्धि अझ त्योभन्दा गहिरो आन्तरिक ब्रह्माण्डका हर कुराको अध्ययन अनुसन्धान गरेको हुन्छ। हामी भित्रको क्षमता चिन्ने काम आध्यात्मिक विज्ञानले गरेको हुन्छ।

बाहिर देखिने कुरा भौतिक विज्ञान हो। भित्र के तत्त्वले देखिरहेको छ, त्यो विज्ञान आध्यात्मिक विज्ञान हो। बाहिरका विषयहरु नहुन सक्छन्। हाम्रा बाहिर देखिने इन्द्रियहरु बन्द हुन सक्छन्। हामी भित्रको हाम्रो क्षमता रहिरहन्छ। भौतिक विज्ञान सिद्धिएको दिन पनि आध्यात्मिक विज्ञान रहिरन्छ। यो अनुभोक्ताको अध्ययन हो।

आध्यात्मिक विज्ञानका आयामहरु  
विज्ञानले बाहिरका आयामहरुको अध्ययन गरेको हुन्छ। विज्ञानले आफैँले विकास गर्दैन। केही कुराको खोजी गर्छ। त्यसलाई कर्मको माध्यमबाट पूरा गर्ने कार्य गरेको हुन्छ। सूत्रहरु लागू गर्नुपर्छ। विज्ञानमा दुई प्रकारले काम गर्न सकिन्छ, एउटा ज्ञानको र अर्को कर्मको माध्यमबाट। जस्तो उदाहरणका लागि टेलिभिजनको आविष्कार भयो। अनि बल्ल टेलिभिजनहरु बन्न थाले। यसको अर्थ पहिले के के गर्ने भनेर ज्ञान हासिल भयो अनि मात्र प्रयोग भयो। हामीले जुन कुरा भित्रबाट आफूलाई बुझ्यौँ, तत्काल त्यो कुरा हामीले लागू नगर्न सक्छौँ अथवा भनौँ लागू गर्न सक्दैनौँ। त्यो नै आध्यात्मिक विज्ञान हो।

एउटा भनाइ छ, ‘म्याथमेटिक जानेर म म्याथमेटिकल हुन्नँ तर अध्यात्म जानेर म आध्यात्मिक  हुन्छु।’ भौतिक विज्ञानको अनुसन्धान गर्दैमा त्यो अनुसारको परिणाम नआउन सक्छ तर अध्यात्ममा जुन कुरा गहिरोसँग जानिन्छ, त्यो बन्न थालिन्छ। तसर्थ जे जान्यो, त्यो बन्यो। त्यसकारणले विज्ञानभन्दा धेरै द्रुत गतिमा आध्यात्मिक साधनामा  लाग्यो भने आफैँले थाहा पाउन छिटो सकिन्छ।

आध्यात्मिक विज्ञानले आन्तरिक गुफा भनौँ अथवा आन्तरिक ब्रह्माण्डको अध्ययन गर्छ। आफूभित्रको अध्ययन गर्ने भएकाले आन्तरिक ब्रह्माण्डको अध्ययन गर्छ। जसमा मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहश्रार चक्र रहेको हुन्छ। यो विज्ञानले सात वटा चक्रको बारे वा यसका सम्भावनाहरुबारे अध्ययन गर्छ। प्रत्येक चक्रको आ–आफ्नो भूमिका रहेको हुन्छ, समग्र मान्छेको विकास हुनुमा। मूलाधारबाट शरीर बन्छ, शरीरभन्दा गहिरा हुन्छन्, इन्द्रिय– जसलाई स्वाधिष्ठान चक्रले सञ्चालन गरेको हुन्छ। इन्द्रियभन्दा गहिरो हुन्छ प्राण, जसलाई मणिपुर चक्रले सञ्चालन गरेको हुन्छ। त्यो भन्दा गहिरो हुन्छ– हृदय भाव। सुखदुःखको अनुभुति गर्ने यस हृदय भावलाई अध्ययन अनुसन्धान गर्ने काम गर्छ, अनाहत क्षेत्रले। त्यो भन्दा गहिरो अव्यक्त विचारको जगत् हुन्छ, जसलाई विशुद्धि भनिन्छ। जसले हाम्रो ज्ञानलाई अध्ययन गरेको हुन्छ। त्यसपछि ध्यानको क्षेत्र शुरु हुन्छ, जसलाई आज्ञा चक्र भनिन्छ। त्यो भन्दा पनि गहिरो ब्रह्मको क्षेत्रलाई सहश्रार चक्र भनिन्छ। सात वटा अलग–अलग आयामहरुलाई सात वटा सप्तऋषि, सात समुद्र, सबै धर्मले यसलाई अलग–अलग नाम दिएका छन् । अध्यात्म यसैको वरिपरि घुम्छ।

प्रश्न उठ्न सक्छ, के अध्यात्मले विज्ञानलाई चुनौति दिन्छ या यी दुई बीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ?

सत्य एक हो। अध्यात्मलाई राम्रोसँग बुझ्ने हो भने कसैले कसैलाई चुनौति दिएको हुँदैन। अध्यात्मले आन्तरिक र भौतिक विज्ञानले बाहिरी तत्त्वको अध्ययन गरिरहेको हुन्छ।  बाहिरी विषय फरक हो। एउटा व्यक्तको, अर्काे अव्यक्तको जगत हो। पदार्थको अध्ययन हो। विज्ञान र अध्यात्मको संयोजनबाट मात्र विकास सम्भव छ। भौतिक विज्ञानले बाहिरी सुख त जन्माउँछ तर आन्तरिक सुख जन्माउँदैन। बडो निरस हुन्छ। व्यक्तिका आयामहरु खोज्ने गर्छ।

तसर्थ हामीले के बुझ्न आवश्यक छ भने ज्ञान र कर्मको संयोजन भयो भने हाम्रो भौतिक उन्नति–प्रगति हुन्छ। यसैमा ध्यान थपियो भने हामीमा सुख, शान्ति र समृद्धि आउँछ। कसरी त? यसलाई बुझौँ। हामीलाई ज्ञानले हाम्रो प्रश्नलाई शान्त गराउने काम गर्छ। कुनै पनि कुरा प्रतिको जिज्ञासा शान्त पार्ने काम गर्छ। हामीले केही कुराको ज्ञान त पायौँ, सँगै त्यसलाई प्रयोग गरी हे-यौँ भने त्यो कर्म हुन्छ भने त्यसलाई ध्यानपूर्वक ग-यौँ भने त्यसका सकारात्मक परिणामहरु निस्कन थाल्छन्, जसले गर्दा समृद्धि आउँछ। उदाहरणका लागि योगका बारे हामीले पढेर सुनेर जान्यौँ। यो ज्ञान भयो। यसैलाई प्रयोग ग-यौँ, कर्म भयो। जसले गर्दा हाम्रा शारीरिक मात्र नभई, मानसिक स्थिति बुझ्ने सोच्ने तौरतरिका पनि राम्रो हुन्छ अनि स्वास्थ्यमा समृद्धि आउँछ। यसरी नै हरेक कुरामा लागू हुन्छ।
प्रजु पन्तसँग कुराकानीमा आधारित

प्रकाशित: २० वैशाख २०७६ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App