साना नानीलाई स्कुलभन्दा घर नै जाती

शुक्रबार, २० बैशाख २०७६, १६ : ३४ सृजना पाण्डेय

स्कुल जानका लागि बालबालिकामा भावनात्मक तयारी, सामाजिक तयारी र बुझ्न सक्ने क्षमताको विकास भइसकेको हुनुपर्दछ।

नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। आफ्ना सानासाना नानीबाबुलाई विद्यालयको पोसाकमा चिटिक्क पारेर विद्यालय पठाउन अभिभावकहरू उत्सुक छन्। तर के बच्चा झोलाभरि किताब बोकेर स्कुल जाने उमेरको भएको हो? उसले झोलामा बोकेका किताब उसको वृद्धि र विकासका खुराक हुन्? बच्चालाई विद्यालय भर्ना गर्ने उमेर कुन हो? सानो उमेरमा स्कुल पठाउँदा फाइदा धेरै छन् कि बेफाइदा? यी विषयमा अधिकांश अभिभावकहरू अनभिज्ञ छन् भने जानकारी भएका अभिभावकले पनि अरूका बच्चा सानै उमेरमा स्कुल जान थालेपछि आफ्ना छोराछोरीलाई मात्र ठूलो हुँदासम्म घरैमा राख्दा अरूभन्दा पछाडि पर्लान् भन्ने डरले सानै उमेरदेखि स्कुल पठाउन थालेको पाइन्छ।

शिक्षा मनोविज्ञानले भन्छ– ६ वर्षको उमेरदेखि स्कुल उमेर सुरु हुन्छ। ६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन्। २ देखि ६ वर्षसम्मको अवस्था आत्मनिर्भरता प्राप्त गर्ने अवस्था हो। यस उमेरका बालबालिकाले आफ्नो वरिपरिको संसारलाई आफैँ बुझ्न चाहन्छन्, अरूको हस्तक्षेप मन पराउँदैनन्। यो उमेर तीव्र रूपमा वृद्धि र विकास हुने अवस्था हो। औपचारिक शिक्षा प्राप्त गर्ने क्षमताको विकास यस उमेरमा भइरहेको हुन्छ। यस बेला बालबालिकाले खेल र अनुकरणको माध्यमबाट वयस्क जीवनको तयारी गरिरहेका हुन्छन्। यस्ता बालबालिकालाई पोषण र असल परिवेश आवश्यक हुन्छ।

मनोवैज्ञानिकहरू बालबालिकालाई सानै उमेरमा स्कुल भर्ना गरिदिनु भनेको उनीहरुको कलिलो दिमागमा धारिलो हतियार प्रहार गर्नु जस्तै भएको बताउँछन्। हाम्रो सन्दर्भमा भने ६ वर्ष पुग्ने बेलासम्ममा बालबालिकाले दश ओेटाभन्दा बढी किताब पढिसकेको हुनुपर्ने अवस्था छ। सानै उमेरदेखि विद्यालयको कक्षाकोठामा शिक्षकको निर्देशनअनुसार क्रियाकलाप गर्नुपर्ने अवस्था छ। बालबालिकाहरू आपूmलाई मन लागेको कुरा बोल्न नपाउने, दिशा–पिसाब, भोक–तिर्खा लागेको भन्न नपाउने र स्वतन्त्र भएर खेल्न नपाउने अवस्था छ।

मनोविद् प्रा.डा. रवि शाक्य भन्छन्, ‘औपचारिक शिक्षामा भर्ना गर्नका लागि अभिभावकले स्कुल सानो ठूलो हेर्ने होइन, त्यो स्कुलमा शिक्षक–शिक्षिकाका क्रियाकलाप, स्कुलका क्रियाकलाप, वातावरण आदि कुरामा ध्यान दिनु आवश्यक छ।’ बालबालिकालाई कति वर्षबाट स्कुल भर्ना गर्ने भन्ने विषयमा बाबुआमालाई चिन्ता लाग्ने भए तापनि त्यसमा अभिभावक आत्तिनुपर्ने कुरा नभएको उनी बताउँछन्। ‘औपचारिक शिक्षा सुरु गर्ने उमेर पहिले ५ वर्ष मानिन्थ्यो, अहिले ६ वर्ष मान्न थालिएको छ,’ उनको भनाइ छ। विकसित देशका तुलनामा एसियन मुलुकमा बालबालिकालाई चाँडै स्कुल पठाउन थालेको पाइन्छ। स्कुल त के तोते बोली मात्र बोल्न सक्ने बच्चालाई घरमै बाबुआमाले ए फर एप्पल सिकाउन थालिसकेका हुन्छन्। मेरो बच्चाले चाँडै धेरै कुरा सिकोस् भन्ने उनीहरूले अपेक्षा राख्दछन् तर बच्चालाई सानैमा एकेडेमिक प्रेसर दिनुभन्दा ढिलै गरी औपचारिक शिक्षा दिन सुरु गर्दा राम्रो हुने अनुसन्धानका निष्कर्षहरू आएको उनी बताउँछन्।

सन् १९७० मा स्ट्यान्डफर्ड विश्वविद्यालयमा यससम्बन्धी एउटा अध्ययन सम्पन्न गरिएको थियो। ५ वर्षदेखि स्कुल सुरु गरेका र ६ वर्षदेखि स्कुल सुरु गरेका ५३ हजार परिवारमा ११ वर्ष फलोअप गरेर सम्पन्न भएको यस अध्ययनले ढिलो पढाइ सुरु गर्ने बालबालिकामा सिकाइ क्षमता बढी भएको निष्कर्ष निकालेको थियो। ढिलो पढाइ सुरु गर्नेले पनि पछि गएर क्याच अप गर्ने र ११ वर्षको उमेरमा पुग्दा चाँडै पढाइ सुरु गर्ने र ढिला पढाइ सुरु गर्ने बालबालिकाको उपलब्धि समान हुने उनी बताउँछन्। ‘५ वर्ष वा त्यसभन्दा पहिले नै पढाइ सुरु गरेका बालबालिकामा बढी चुलबुले बानी र लामो समयसम्म स्थिर भएर बस्न नसक्ने स्वभाव पाइयो भने ६ वर्षदेखि पढाइ सुरु गरेका बालबालिकामा अझ थप ध्यान दिएर बस्ने, कम चुलबुले र धैर्य गर्न सक्ने स्वभाव भएको पाइयो’ डा. शाक्यको भनाइ छ।

शिक्षा प्राप्त गर्ने भनेको किताबी ज्ञान सङ्कलन गर्ने मात्र होइन, बालबालिकामा भावनात्मक विकास हुनुपर्छ। स्कुल भर्ना गर्दा बच्चा स्कुल जान तयार भएको छ कि छैन भन्ने विचार गरेर मात्र गर्नुपर्छ। स्कुल जानका लागि बालबालिकामा भावनात्मक तयारी, सामाजिक तयारी र बुझ्न सक्ने क्षमताको विकास भइसकेको हुनुपर्दछ। साथीहरूसँग र आफूभन्दा ठूलासँग कसरी बोल्ने अरूसँग कसरी रिलेट गर्ने भन्ने क्षमता विकास भएपछि मात्र स्कुल भर्ना गर्नुपर्ने डा. शाक्यको तर्क छ। बच्चा आफूमा आएका समस्याको समाधान गर्न सक्ने भएको छ कि छैन भन्ने बुझेर मात्र स्कुल भर्ना गर्नुपर्ने उनको सुझाव छ। चाँडो विद्यालय पठाउन हतारिनुभन्दा ढिलो विद्यालय पठाएको नै राम्रो भएको उनको भनाइ छ। विकसित देशहरूमा बच्चा स्कुल जान तयार भयो कि भएन भनेर जाँच्ने गरिन्छ तर हाम्रोमा त्यो छैन। देखासिकीकै आधारमा हामीले बच्चालाई विद्यालय पठाएका छौँ। आफैँ स्कुल जाने (६ वर्ष) भएपछि मात्र बच्चालाई विद्यालयमा भर्ना गर्नु राम्रो हो। ‘स्कुल भर्ना गर्नका लागि हामी आत्तिनुपर्ने कुरा केही छैन,’ डा. शाक्य भन्छन्, ‘जति चाँडो विद्यालय भर्ना गरे पनि ११ वर्षसम्म पुग्दा एउटै क्षमता हुन्छ। झन् ढिलो पढ्न थालेको बच्चा झन् बढी तीक्ष्ण बुद्धिको, भावनात्मक विकास भएको, सामाजिक विकास भएको र अरूसँग पनि सम्बन्धित कुरा गर्ने क्षमताको विकास भएको हुन्छ।’

स्कुल कस्तो छ भन्ने कुरामा पनि अभिभावकले ध्यान दिनु जरुरी छ। बच्चालाई डे केअरमा राख्दा पनि त्यहाँको वातावरण र शिक्षक–शिक्षिकाका क्रियाकलाप बुझेर मात्र राख्न उनी सुझाउँछन्। पारिवारिक सम्बन्ध राम्रो भयो भने पछि गएर बालबालिकाको रिलेसनसिप राम्रो हुन्छ भन्ने उनको तर्क छ।

बच्चालाई बाबुआमा दुवैले समय दिनुपर्छ। शिक्षा भनेको खासमा सामाजिक सीपको विकास, आफ्नो हेरचाह गर्न सक्ने, आफूमा केही समस्या आयो भने समाधान गर्न सक्ने क्षमताको विकास हुनु हो। विदेशीको सिको गर्नुभन्दा हाम्रै देशमा केही गर्न पहल गर्नुपर्छ भन्ने डा. शाक्यको भनाइ छ।

बच्चाहरू सबै विषयमा दक्ष हुनुपर्छ भन्ने छैन, उनीहरूको खुबीको कुरामा ध्यान दिनुपर्ने कुरामा जोड दिन्छन् मनोविद् रवि शाक्य। ‘अरू व्यावहारिक कुरामा त राम्रो अवश्य हुनुप-यो,’ उनी भन्छन्, ‘कुनै एउटा विषयमा राम्रो भए पुग्छ त्यसैले त्यो विषयसँग सम्बन्धित कुराको जानकारी दिनु राम्रो हुन्छ।’

मेरा छोराछोरीले ठूलो र महँगो स्कुलमा पढ्छन् भन्दैमा बाबुआमा ढुक्क भएर बस्न मिल्दैन। बाबुआमाले घरमै राम्रोसँग केअर गर्नुपर्छ किनभने घर नै बालबालिकाका लागि पहिलो विद्यालय हो। कसैले बालबालिकालाई सानैमा विद्यालय राख्ने भएपछि कसैले ठूलो हुँदा मात्र विद्यालय राख्नु पनि राम्रो हुँदैन। यसो गरियो भने ठूलो उमेरका बालबालिकामा हीनताबोध हुने मनोविद् शाक्यको भनाइ छ। सानो उमेरमै स्कुल पठाउने सामाजिक चलनले गर्दा नै हामीलाई गाह्रो भएको हो। देशमा एउटाले मात्र गरेर हुँदैन, त्यस्तो खालको नीति नियम नै बनाउनुपर्छ भन्ने डा. शाक्यको सुझाव छ।

शिक्षाविद् अर्जुनराज पन्तका अनुसार बालबालिकाहरू जबसम्म केही कुरा गर्न तयार हुँदैनन्, उनीहरुलाई यसो गर र उसो गर भनेर दबाब दिनुहुँदैन। बालमनोविज्ञान, उसको उमेर, क्षमता र रुचि हेरेर मात्र अगाडि बढ्नुपर्ने उनको तर्क छ। उपप्राध्यापक अर्जुन पन्त भन्छन्, ‘बच्चालाई दबाएर हुँदैन, खुला वातारणमा स्वतन्त्र छाडिदिनुपर्छ। बालबालिकाको मनोविज्ञान बुझेर मात्र उसलाई सिकाउन सकिन्छ। उनीहरुलाई खुला वातावरणमा छोडिदिनुपर्छ र स्वतन्त्रतापूर्वक आफूले चाहेको गर्न दिनुपर्छ।’

‘ज्ञान प्राप्त गर्ने आधार प्रकृति हो,’ उनको भनाइ छ, ‘बालबालिकाले प्रकृतिबाटै जीवनोपयोगी ज्ञान प्राप्त गर्छन्। त्यसैले प्रकृतिवादीहरुले बच्चालाई प्रकृतिमै लगेर छोड भन्छन्। जस्तो कि एउटा बच्चालाई चिसोमा लगेर राखिदिने हो भने उसलाई जाडो हुन्छ अनि कपडा लगाउन सिक्छ। त्यसैले बच्चालाई प्रकृतिमा लगेर छोड्नुपर्छ भनिएको हो।’

बच्चालाई सानै उमेरमा विद्यालयमा राख्दा उनीहरुमा मानसिक असर पर्छ भन्ने पन्तको भनाइ छ। हिजोआज बच्चालाई सानो उमेरमा मन्टेसरी स्कुल पठाउने प्रवृत्ति बढेको भए पनि त्यहाँ उनीहरुलाई दबाबमा राख्ने गरेको उनको अनुभव छ। मन्टेसरीको उद्देश्य बालबालिकालाई खुला वातावरणमा राखेर खेलमा सक्रिय बनाउँदै तिनीहरूको मानसिक विकासका लागि उपयुक्त अवसर सृजना गर्ने भन्ने हो। तर त्यहाँ पनि सहज वातावरण बनाउनुभन्दा पढाउने र घोकाउने गरेको पाइएको उनको गुनासो छ।

बालबालिकालाई सानै उमेरदेखि स्कुल भर्ना गर्दा उसमा दीर्घकालीन असर पर्छ। कलिलो उमेरमा पाएको सुरुवाती वातावरणले उसमा जीवनभरि असर पर्छ। बालकको उमेर भनेको नडराउने, गरेर सिक्ने र आफ्ना समस्याको समाधान आफैँ खोज्ने जिज्ञासु अवस्था हो। उसका क्रियाकलापमा हस्तक्षेप नगर्ने हो भने उसमा सृजनशीलताको विकास हुँदै जान्छ। उनीहरुले सोचेजस्तो भएन भने उनीहरु निस्क्रय बन्दै जान्छन्। सहज वातावरण बनाइदिने हो भने उनीहरूमा गरेर सिक्ने बानीको विकास हुन्छ। पन्त भन्छन्, ‘सहज वातावरण बनाइदिनुपर्छ खोजी आफैँले गर्छन् र उनीहरु सक्रिय बन्न सक्छन्।’

सानो उमेरमा स्कुल पठाएर मात्र सबै कुरा सिक्ने होइन, घर परिवारमा बस्दा नै गरेर सिक्ने बानीको विकास हुन्छ। घरमा बोल्न डराउँदैनन् र धेरै सिक्छन् भन्ने पन्तको विचार छ। ‘ज्ञान प्राप्त गर्ने आधार भनेको ज्ञानेन्द्रियहरुले हो,’ उनी भन्छन्, ‘व्यक्तिका इन्द्रिय जति सक्रिय हुन पाए, त्यति छिटो ज्ञान आर्जन हुन्छ। त्यसैले आफैँ गर्दै सिक्दै गर्ने कुरा हो।’
बालबालिकालाई औपचारिक शिक्षाका लागि ६ वर्षदेखि विद्यालय भर्ना गर्दा उनीहरुलाई सहज हुन्छ भन्ने शिक्षाविद् पन्तको विचार छ। आठ वर्षको उमेरदेखि औपचारिक शिक्षाको थालनी गर्ने हाम्रो परम्परा रहेको संस्कृतिविद् हरि पाण्डेयको भनाइ छ। उनी भन्छन्, ‘हाम्रा शास्त्रहरूले ८ वर्षभन्दा मुनिका बच्चालाई बालक भनेका छन्। बालकलाई औषधि खुवाउने, नुहाउने, तेल घस्ने, कपडा लगाउने जस्ता अत्यावश्यक कामबाहेक अन्य अवस्थामा गाली गर्ने र दबाब दिने गर्नुहुँदैन। उसलाई मायालु व्यवहार गर्नुपर्छ, रुवाउनुहुँदैन। उसको चाहनाअनुसार अभिभावकले व्यवहार गर्नुपर्छ र उसले गरेका कामको अनुमोदन गर्नुपर्छ।’

बालबालिकाको वृद्धिका लागि पोषणयुक्त खानपान र सुरक्षाको प्रबन्ध गरेर सहज वातावरण सृजना गरिदिनु नै अभिभावकको कर्तव्य भएको उनी बताउँछन्।

पाण्डेयको विचारमा औपचारिक शिक्षा सुरु गर्ने उमेर ७/८ वर्षदेखि हो। उनको तर्क छ, ‘स्मृतिहरूले ८ वर्षको उमेरमा बालकको उपनयन संस्कार गर्नुपर्छ भनेका छन्। उपनयन भनेको अभिभावकले आफ्ना बालकलाई असल संस्कारमा हुर्काएर गुरुका सान्निध्यमा पठाउने काम हो। उपनयन पछि वेदारम्भ हुन्छ। यो नै औपचारिक शिक्षाको आरम्भ हो।’

उपनयनपछि बालकले गुरुकुलमा रहेर विद्या अध्ययन गर्ने र षडङ्ग वेद अर्थात् ज्ञान–विज्ञानका सबै क्षेत्रको ज्ञान प्राप्त गरेपछि आफ्नो रुचिअनुसारको विषयमा विशेषज्ञता प्राप्त गर्ने परम्परा रहेको उनी बताउँछन्। केटाहरूले २५ वर्षसम्म ब्रह्मचर्यमा रहेर गुरुकुलमा बसी शिक्षा आर्जन गर्ने र अध्ययन पूरा भएपछि समावर्तन संस्कार (स्नातक दीक्षा) प्राप्त गरेर गृहस्थाश्रममा प्रवेश गर्ने परम्परा रहेको उनी बताउँछन्। तत्कालीन समाजमा छोरीहरूलाई व्यावहारिक ज्ञान दिइने भए पनि शास्त्रीय ज्ञान दिने चलन पातलो रहेको र त्यस्तो शिक्षा दिन चाहनेले घरमै गुरुबाट शास्त्रीय शिक्षा दिने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘त्यस बेला पनि विदुषी नारीहरू थिए। वैदिक कालमा पनि मन्त्रद्रष्टा ऋषिकाहरू थिए। उनीहरूलाई घरैमा शास्त्रीय शिक्षा दिइन्थ्यो।’

छोरीहरूको विवाह नै उनीहरूको उपनयन भएको उनको भनाइ छ। शास्त्रीय मर्यादामा चलेको परिवारमा नारीशिक्षाको कमी नभएको उनको तर्क छ।

शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार सानो उमेरका बालबालिकालाई स्कुल पठाउन हतार गर्नुभन्दा घरैमा सहज वातावरणमा हुर्कने मौका दिनु राम्रो हुन्छ। अरूका कुरा बुझ्न सक्ने र साथीहरूसँग समायोजन हुन सक्ने भएपछि मात्र स्कुल भर्ना गर्नु राम्रो हो। कति वर्षदेखि विद्यालय भर्ना गर्ने र सुरुआती अवस्थामा बालबालिकालाई कसरी शिक्षा दिने भन्ने बारेमा नीतिनिर्माता र सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...