coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखामा हवाई मैदान, अस्पतालदेखि खेलमैदानसम्म अतिक्रमण

अतिक्रमणको चपेटारमा परेको गोरखाको पालुङटार हवाई मैदानको बाँकी भाग गौचरन बनेको छ । तस्विरः नरहरि/नागरिक

गोरखा– सार्वजनिक जग्गा हड्प्ने प्रपञ्च केन्द्रमा मात्रै नभएर जिल्लामा पनि भेटिएको छ। गोरखा जिल्लाकै एउटा मात्रै हवाई मैदान पालुङटार हवाई मैदानको तीन सय १० रोपनी, तीन आना दुई पैसा एक दाम जग्गा अहिले साँघुरिएको छ।

कति मिचिएको भन्ने यकिन नभएपनि पुर्जामा भएअनुसार जग्गा अहिले नरहेको पालुङटार नगरपालिका उपप्रमुख पम्फा बसेलले बताईन। ‘पुर्जा हामीसँग छैन, नागरिक उड्डयन प्राधिकरणको नाममा छ, पहिले भएका तारबार ठाउँ सरेको छ, सडक पनि विमानस्थलकै जग्गाबाट खनिएको छ’ उपप्रमुख बसेलले स्थानीय अगुवालाई उदृत गर्दै भनिन् ‘जग्गा धेरै मिचिएको छ।’ नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर नागरिक उड्डयनलाई जग्गा यकिन गर्न पत्राचार गरेको तर केही खबर नआएको उनले बताईन। हवाई मैदान मिचिएको बारे गतसाता गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पालुङटारका स्थानीयले ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रममा गुनासोसमेत गरेका थिए।

साबिकको गाईखुर गाविसमा पर्ने कित्ता नम्बर ७२० को ९७ रोपनी ११ आना, पालुङटार ९ को किनं १९९५ को दुई सय १२ रोपनी एक आना, कित्ता नम्बर १७०२ को तीन रोपनी ५ आना र १७०७ को १९ रोपनी आठ आना जग्गा रहेको नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ। पहिले तारबार गरिएको यो जग्गा अहिले तारबार सार्दै अतिक्रमण भएको छ। गौचरन र सडकले विमानस्थलको जग्गा झनै खुम्चिएको र अतिक्रमण गर्नेलाई सहज बनाईदिएको छ।

२०४१ सालमा गोरखा अस्पतालको नाममा दर्ता भएको गोरखा नगरपालिका ६ अस्पताल मार्गको जग्गा १९ रोपनी ११ आना थियो। अहिले करिब १६ देखि १७ रोपनीमा खुम्चिएको छ। गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रमा रहेको अस्पताल आसपास अहिले ठुलाठुला घर बनेका छन्। अस्पतालको जग्गाबाट सडक खनिएको छ भने केही घरको आगन पनि अस्पतालको जग्गामा छ। गोरखा अस्पतालले आफ्नो जग्गा छुट्याउन पटक–पटक प्रयास गरेपनि सकेन। ‘जग्गा मिचिएको छ भनिन्छ, तर छुट्याउन सकेका छौनौं’ अस्पतालका प्रमुख डाक्टर श्रीराम तिवारीले भने।

जिल्ला खेलकुद विकास समितिको करिब २४ रोपनीभन्दा बढि जग्गा छ। गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रको बीच भागमा पर्ने उक्त मैदान अहिले साँघुरिएको छ। खेलकुद विकास समितिले यस अघि जग्गा छुट्याउने क्रममा आसपासका स्थानीयसँग विवादसमेत भयो। अन्ततः जग्गा छुट्याउन सकेन। ‘केही जग्गामा सडक, केहीमा नाला छ, पुर्जाअनुसार मैदान छैन, हामीले फिर्ता गर्न खोज्यौं तर सकेनौं’ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष सान्तासिंह बस्नेतले भने। समितिले जग्गा फिर्ता ल्याउने, त्यहाँ भएको सडक, नाला हटाएर पुरै मैदानमा प्रयोग गर्ने गरी काम गर्ने उनले बताए। ‘तर सजिलो छैन’ उनले भने। सार्वजनिक सम्पति हडप्ने प्रवृित्त पहिलेदेखि देखिएको बताउँदै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सम्बन्धित पुर्जाधनी संस्थाले विशेष चासो राख्नुपर्ने बताए। ‘सम्बन्धित कार्यालयले चासो दिनुप-यो, जग्गा फिर्ता ल्याउन, व्यवस्थित गर्न नगरपालिकाले के गर्नुपर्छ सहयोग गर्छ’ उनले भने।

प्रकाशित: २० वैशाख २०७६ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App