७ वैशाख २०८१ शुक्रबार
अन्य

‘गाडी ब्याग गरेर हत्या’

धनगढी–क्याम्पस पढेर फर्किरहेकी १९ वर्षीय सुनिता रावलको मंगलबार लम्कीमा मालबाहक ट्रकको टायरमा च्यापिएर घटनास्थलमै ज्यान गयो। मृतक युवतीका आफन्तले ठक्करबाट घाइते भएपछि ट्रक ब्याग गरेर ‘हत्या’ गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

ठक्करबाट बायाँ हातमा गम्भीर चोट लागेकी रावललाई ट्रक ब्याग गरेर टायर शरीरमा चढाइ मारेको भनेर ५५ वर्षीय धनसिंह भण्डारीले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन्। ट्रकका चालक सुनिल भण्डारीका नाममा उनले किटानी उजुरी दिएको कैलाली प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए। गत पुस १ गते साँझ नातीनीलाई विद्यालयबाट घर ल्याउन साइकलमा गएका धनगढी उपमहानगरपालिका–५, का ६७ वर्षीय दुर्गाप्रसाद जोशीलाई धनगढी हसनपुरमा टिप्परले ठक्कर दियो। च्यापिएका जोशीको पनि घटनास्थलमै ज्यान गयो। मृतकका छोरा रघुनाथ जोशीले ट्रकको ठक्करले ढलेका बुबालाई टिप्परले ब्याग गरेर टायर शरीरमाथि चढाएर मारेको भनेर प्रहरीमा किटानी उजुरी दर्ता गराए। कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता भएर टिप्परका चालक अशोक चौधरी पूर्पक्षको लागि कैलाली कारागारमा थुनामा छन्।

यि दुई उदारहणजस्तै धेरै घटनामा गाडीको ठक्करले घाइते भएपछि ब्याग गरेर किचेको कुरा सुनिन्छ। घाइतेलाई उद्धार गरेर अस्पताल लैजानुको सट्टा गाडी ब्याग गरेर मानवताविरुद्ध किचेर हत्या गरिन्छ होला? यदि ब्याग गरेर किचेको सत्य हो भने किन गरिन्छ यस्तो? यि प्रश्नको उत्तर खोज्न गम्भीर अनुसन्धान हुन नसकेको स्थानीय बताउँछन्। ‘तमाम घटनामा पहिलेदेखि नै गाडी ब्याग गरेर मारेको भन्ने सुनिन्छ र घटनाको प्रवृति हेर्दा त्यस्तो शंका गर्ने ठाउँ पनि देखिन्छ,’ मानवअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशी भन्छन्, ‘गाडीले ब्याग गरेर मार्ने गम्भीर अपराध सम्बन्धमा राम्रो अनुसन्धान हुन् सकेको देखिँदैन।’ जहाज दुुर्घटना हुँदा अनुसन्धान गर्ने सरकारले सडकमा ठूलो संख्यामा नागरिकको अकालमै ज्यान गइरहेको भए पनि अनुसन्धानमा ध्यान नदिएको उनको भनाइ छ। सडक धेरै असुरक्षित बनेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा.हेमराज पन्तले बताए। 

१० वर्ष पहिलेसम्म गाडी ठक्कर दिएर कसैको ज्यान गएमा कयौं घण्टा राजमार्ग ठप्प हुन्थ्यो। सयौं यात्रु दिनरात सडकमै अलपत्र पर्थे। तेस्रो पाटीबिमा गरेर गाडीको ठक्कर ज्यान गुमाउनेलाई ५ लाख क्ष्यतिपूर्तिको प्रावधान भएपछि यो समस्या समाधान भएको छ। गाडीको ठक्करले कसैको ज्यान गएमा बिमाबाट ५ लाख दिँदा समस्या समाधान हुन्छ । गम्भीर घाइते भएमा वर्षौंसम्म उपचारका गराउनु पर्ने र धेरै बढी रकम लाग्ने हुँदा आर्थिकरूपमा यात्रुको ज्यान जाँदा व्यवसायीलाई सजिलो हुने स्थानीय बताउँछन्। कैलालीका प्रहरी उपरीक्षक तिम्सिना लम्कीको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि वास्तविक कुरा थाहा हुने बताउँछन्। हसनपुरमा जोशीको ज्यान गएको घटनामा चालकको कमजोरी देखिएकाले पूर्पक्षका लागि जेल गइसकेको उनले बताए।
 

प्रकाशित: २० वैशाख २०७६ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App