८ वैशाख २०८१ शनिबार
अन्य

‘जनताले चाहे राजतन्त्र आउँछ’

भैरहवा–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताले चाहे राजतन्त्र पनि आउन सक्ने बताएका छन्। जनताको मन जितेर दुईतिहाइ मत ल्याउन सके देशमा राजतन्त्र फर्कने उनले बताए।

‘नेपालको संविधान २०७२ ले कुनै कुरामा रोक लगाएको छैन,’ नेपाल नेत्रज्योती संघले भैरहवामा आयोजना गरेको प्रदेश  ५ स्तरीय प्रथम कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘जनताको मन जितेर निर्वाचनमार्फत बहुमत ल्याए राप्रपाले भनेको राजतन्त्र र विप्लवले भनेजस्तो एकात्मक शासन आउन सक्छ।’ ‘संविधानले केही कुरामा रोक नलगाएकोले जनताको विश्वास जित्न सक्ने हो भने संविधान संशोधन गरेर कमल थापाले राजतन्त्र पनि ल्याउन सक्नुहुन्छ,’ उनले भने, ‘नेत्रविक्रम् चन्दले एकदलीय शासन व्यवस्था स्थापना गर्न चाहानुहुन्छ भने पनि पाउन सक्नुहुन्छ तर, जनताको मतबाट दुईतिहाइ ल्याउन सक्नु प-यो।’ जनताको विश्वास जित्न नसक्ने अनि सडकमा समस्या खडा गरेर राष्ट्रलाई कमजोर बनाउन नमिल्ने उनको भनाइ छ।

संविधानले कसैलाई नरोकी, जनतामा जाने हरेकका लागि बाटो सुरक्षित गरिदिए बताउँदै रुपान्तरित संविधान भएको बेलामा राज्यलाई बलियो बनाउने राज्यलाई सस्थागत गर्ने र त्यसको माध्यमबाट जनताको विश्वास जितेर राजनीति गर्न राजनीतिक दललाई आग्रह गरे। पोखरेलले प्रदेश ५ को भविष्य उज्यालोतर्फ अघि बढेको बताउँदै नेपालको सात वटै प्रदेशमध्ये प्रदेश ५ मा सबैभन्दा तीव्र विकासको मार्गमा अघि बढेको बताए। नेपालको अर्थतन्त्रमा औपचारिकभन्दा अनौपचारिक क्षेत्र बलियो भएको उनको भनाइ छ। बाहिर कुरा गरिएजस्तो मुलुकको अर्थतन्त्र कमजोर नरहेको उनले बताए। ‘६० प्रतिशत व्यवसायीले नाफाघाटाको हिसाब राख्नुहुँदैन्,’ उनले भने, ‘तर, अनौपचारिकरूपमा मुलुकमा उहाँहरूको योगदान छ।’

कार्यक्रमको बोल्दै मुख्यमन्त्री पोखरेलले आँखा उपचारलाई १०९ वटै पालिकामा जोड्ने उपाय खोज्न आग्रह गरे। अस्पतालको हिसाबले यो प्रदेश सम्पन्न देखिए पनि राष्ट्रिय औसतभन्दा अन्धोपनको समस्या पनि यहाँ बढी देखिएकोमा अस्पतालको सेवा र परिणाममा चुनौती देखिएकोले विशेष ध्यान दिन आग्रह गरे। सरकारले एक नागरिक बराबर ५० हजार स्वास्थ्यबिमाको नीति ल्याएकोले आधारभूत उपचार गराउन नसक्ने बिरामी कोही पनि नरहने दाबी गरे।

प्रकाशित: २० वैशाख २०७६ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App