८ वैशाख २०८१ शनिबार
अन्य

वनको जमिन हडप्दै स्थानीय तह

वडा कार्यालय बनाउन थालिएको वेतालदेव सामुदायिक वन क्षेत्र। तस्बिरः नागरिक

कैलाली– कहिले बाढीपीडितका नाममा त कहिले सुकुमबासीका नाममा कैलालीको सरकारी जमिन अतिक्रमणको चपेटामा पर्दै गएको छ। स्थानीय तहले समेत अहिले जंगलको जमिन ओगटेर वडा कार्यालय भवन निर्माण गर्न थालेका छन्।

गौरीगंगा नगरपालिकाका तीनवटा वडाले सार्वजनिक जमिन अतिक्रमण गरेर वडा कार्यालय भवन निर्माण गर्न थालेका छन्। वडा कार्यालय भवन वनको सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गर्न थालेपछि चौतर्फी विरोध सुनिन थालेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया, वडा नम्बर ७ मनिकापुर र वडा नम्बर ३ बाशुदेउमा वडा कार्यालयले जंगलको जमिन अतिक्रमण गरेर भवन निर्माण गर्न थालेको हो। सामुदायिक वन अतिक्रमण गरेर वडा कार्यालय नबनाउन आफूहरूले पटकपटक वडाध्यक्षलाई भने पनि नमानेको बताउँदै वेतालदेव सामुदायिक वनका सचिव पुरन साउँदले भने, ‘हामीले सामुदायिक वनको जमिन अतिक्रमण नगर्न भन्यौं तर, पनि मानेनन्।’ वडा कार्यालय बनाउने भनिएको स्थलमा रहेका ९ वटा सालका काँचा रुखसमेत काटिएको बताउँदै उनले भने, ‘हाम्रो सामुदायिक वनभित्र सहमति नै नलिई आफूखुसी ९ वटा सालका काँचा रुखसमेत काटिएको छ।’ सालका रुख काटेर सोही ठाउँमा वडा कार्यालय भवन बनाउन तयारी थालिएको उनले बताए। सव डिभिजन वन कार्यालय बढैपुरलाई समेत सामुदायिक वनको जमिन अतिक्रमणमा पर्न थालेको र तत्कालै भौतिक संरचना निर्माण कार्य रोकाइदिनका लागि पत्राचार गरिएको समेत उनले बताए।

वडा कार्यालय भवन वनको सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गर्न थालेपछि चौतर्फी विरोध सुनिन थालेको छ।

दाताहरूले लालपुर्जासहितको नम्बरी जमिन वडा कार्यालय बनाउनका लागि दान गर्ने भनिए पनि जनप्रतिनिधिहरूले वडा कार्यालय बनाउन जंगल नै रोजेको स्थानीय महेन्द्र बिकले बताए। वडा कार्यालय बनाउनका लागि लालपुर्जासहितको पाँच कट्ठा जमिन उपलब्ध गराउने भने पनि बेवास्ता गरिएको बताउँदै स्थानीय खडक साउँदले भने, ‘अहिले जुन ठाउँमा जंगल मासेर वडा कार्यालय बनाउँदै छन्, सोही ठाउँनिरै मैले वडा कार्यालय बनाउनका लागि भनेर पाँच कट्ठा दान गर्ने भने पनि जनप्रतिनिधिले लिन चाहेनन्।’ आफूले नम्बरी जमिन दान दिँदा त्यसमा रुख काट्न नपाइने भएकै कारण जनप्रतिनिधिहरूले जंगल रोजेको उनको आरोप छ। ‘जंगल अतिक्रमण गर्दा वरपरका सालका रुख काट्न पाइन्छ,’ उनले भने, ‘मैले दान गरेको जमिनमा किन आँखा लगाउँथे र जनप्रतिनिधिहरु?’

वडा नम्बर ७ का जनप्रतिनिधिले पनि जंगलको सार्वजनिक जमिन अतिक्रमण गरेर वडा कार्यालय निर्माणको कार्य थालेका छन्। निराजन सामुदायिक वनको संरक्षणमा रहेको जमिन वडा कार्यालयले अतिक्रमण गरी भवन निर्माण थालेको हो।  वडा नम्बर ३ झिलस्थित बासुदेवमा पनि वडा कार्यालय भवन निर्माण भएको छ। सामुदायिक वनको जमिन ओगटेर वडा कार्यालय भवन निर्माण थालिएको भन्दै स्थानीयले समेत विरोध गरेका छन्। तत्कालै जमिन किनेर वडा कार्यालय बनाउन सकिने अवस्था नरहेका कारण सामुदायिक वनको जमिनमा स्थानीयको सर्वसहमतिमै वडा कार्यालयहरू निर्माण गरिन थालिएको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले बताए। उनले भने, ‘हामीले अतिक्रमण गरेका हैनौ, स्थानीयसँग सहमति लिएर बनाएका हौँ।’ उनले ठाउँठाउँमा क्याम्पस, मन्दिर वनमै बनेको बताउँदै भने, ‘ठाउँठाउँमा कलेज, मन्दिर वनमै बनेका छन्, अतिक्रमण पनि बढ्दो छ, हामीले बनाउँदा के फरक प¥यो र?’

जंगल मासेर भौतिक संरचना बनाइन नहुने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ कैलाली अध्यक्ष डण्डीराज सुवेदीले भने, ‘हुँदाहुँदा भौतिक निर्माणका नाममा अब वडा कार्यालयले समेत सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न थाल्यो।’ कहिले उद्योगका नाममा, कहिले राजधानीका नाममा त कहिले वडा कार्यालय बनाउने निहुमा वन क्षेत्रलाई मास्न नहुने उनी बताउँछन्। उनले भने, ‘वन क्षेत्र मासिएमा सबैभन्दा बढी समस्या विपन्न वर्गलाई पर्न जान्छ।’ वन क्षेत्रबाटै विपन्न वर्गले जीविकोपार्जन गरिरहेको उनको भनाइ छ।

वडा कार्यालयका नाममा वन अतिक्रमण गर्न नहुने बताउँदै सव डिभिजन वन कार्यालय बढैपुरका प्रमुख मोहम्मद ताह हुसेन निकरानीले भने, ‘सामुदायिक वन अतिक्रमण गरेर भौतिक संरचना नबनाउन पटकपटक जनप्रतिनिधिलाई भन्दै आएको छुँ।’ उनले नगरपालिकाका मेयरलाई पनि जंगल अतिक्रमण गरेर संरचना नबनाउन चेतावनीसमेत दिएको उनी बताउँछन्।

प्रकाशित: २० वैशाख २०७६ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App