७ वैशाख २०८१ शुक्रबार
समाज

परराष्ट्रविद् हिरण्यलालको भीमरथारोहण

परराष्ट्रविद् एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको नेवारी परम्परा अनुसार जंको (भीमरथारोहण) गरिएको छ। ७७ वर्ष, ७ महिना, ७ दिन, ७ पाइलाको अवसरमा बिहान आठ बजेर ४० मिनेटको सुभ साइतमा हिरण्यलालको जंको गरिएको हो।

काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–८ भंगालस्थित उनकै निवासमा जंको गरिएको हो। जंकोको क्रममा परम्परा अनुसार उनका जेठो छोरा लुजका एक छोरा र एक छोरी, कान्छा छोरा मुजका एक छोरासहितको ६ जनाको भान्जाभान्जीको टोलीले हिरण्यलाललाई रथमा राखी उचालेर जंको गरिएको हो। परम्परा अनुसार जंको गर्ने बाजे वा बज्यैलाई रथमा राखेर नातिनातिना तथा भान्जाभान्जीहरूको टोलीले संयुक्त रूपमा उचाल्छन्। यस क्रममा कसैले घरमै बनाइएको मण्डपमा, कसैले घर वरिपरि त कसैले आफनो घर रहेको सम्वन्धित नगरपालिकाको नगर क्षेत्र बाजागाजाका साथ परिक्रमा गराउने चलन छ। श्रेष्ठलाई घरभित्रकै मण्डपमा मात्रै राखी नातिनातिना अनि भान्जाभान्जीको टोलीले रथमा राखेर संयुक्त रूपमा उचालिएको थियो।

जंकोको क्रममा उनलाई पूजाआजा पनि गरिएको थियो। घरपरिवार, नातागोता, आफन्त, छरछिमेकलगायतका हजारौंले उनलाई दिनभर पूजाआजा गरी दीर्घायूको आशिर्वाद दिएका थिए। उनलाई उपस्थिति व्यक्तिले टीका लगाएर सगुन पनि दिएका थिए। यस क्रममा बिहानदेखि दिनभर उनको घरमा सयौं शुभेच्छुक सहभागी रहेका थिए। शताव्दी पुरुष सत्यमोहन जोशी, पर्यटन व्यवसायी कर्ण शाक्य, बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, सभासद्लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति उनको घर पुगेका थिए।

नेवारी परम्परा अनुसार पहिलो जंको ७७ वर्ष, ७ महिना, ७ दिन, ७ पाइलाको अवसरमा गरिन्छ। त्यसपछिको दोस्रो जंको ८८ वर्ष ८ महिना ८ दिनमा, तेस्रो जंको ९९ वर्ष ९ महिना ९ दिनमा र अन्तिम जंको सय वर्ष १० महिना १० दिनमा गर्ने परम्परा छ।

कार्यक्रममा उनीबारे विभिन्न व्यक्तिले लेखेका लेखको संग्रह ‘एक व्यक्ति अनेक दृष्टि ः हिरण्यलाल श्रेष्ठ’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो।

पुस्तकमा उनकाबारेमा नेपाली, अंग्रेजी र नेपाल भाषा (नेवारी) मा विभिन्न व्यक्तिहरुले लेखेका लेखहरुको संग्रह सवावेश छन्। पुस्तकको शव्ताव्दी पुरुष सत्यमोहन जोशीले विशेष कार्यक्रका साथ विमोचन गरेका थिए।

यसैबीच हिरण्यलाले अन्तर्राष्ट्रिय मैत्री पुस्तकालय उद्घाटन गरेका छन्। उनले आफ्नो व्यक्तिगत पुस्तकालयलाई थप परिष्कृत गरी सबै जनताको सार्वजनिक रूपमा प्रयोग गर्न सक्ने गरी सार्वजनिक गरिदिएका हुन्। पुस्तकालयको पनि शताब्दी पुरुष सत्यमोहन जोशीले नै उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजदूतसमेत रहेका हिरण्यलालले सबैले सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाइरहेको खवर आइरहेको बेला आफूले व्यक्तिगत पुस्तकालयलाई सार्वजनिक गरेको भन्दै गर्व गरे।

प्रकाशित: २० वैशाख २०७६ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App