coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पुनर्जीवित हुँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ– काठमाडौंको रानीपोखरी। तर, भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो। यहीँ भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदै छ।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी भक्तपुरको सैनिक ब्यारेकभित्र रहेको यो पोखरीलाई अहिले पुनर्जीवन दिने काम हुँदै आएको छ। घाँसे मैदानको रूपमा रहेको यो पोखरीको सरसफाइ हुँदै आएको छ।

भक्तपुर नगरपालिकाले आइतबार पनि रानीपोखरीको परिसरको सरसफाइ गरेको छ। भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै वैशाख १५ गते  भक्तपुरको रानीपोखरी परिसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाअध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र सेनाको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो।

प्राडा पुरुषोतम लोचन श्रेष्ठ काठमाडौंको रानीपोखरीभन्दा भक्तपुरको रानीपोखरी ४० वर्ष पुरानो भएकाले ऐतिहासिक रूपले महत्त्वपूर्ण पोखरी रहेको बताउँछन्। सेनाको ब्यारेक (वीरेन्द्र सैनिक आवासी माविको कम्पाउण्ड) भित्र रहेकाले अरुबेला यहाँ सर्वसाधारणलाई प्रवेश निषेध छ।

पोखरी सरसफाइमा सयौं स्कुले बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी रहेका थिए। उनीहरूले पोखरीको आसपास घाँस, झारपात उखेलेर सरसफाइ गरेका थिए। साथै उनीहरूले पोखरीको नजिक रहेको पुतली बगैंचाको पनि सरसफाइ गरेका थिए। उक्त स्थानमा भक्तपुरका स्थानीय प्रजापति समुदाय लगायतका दुगु द्यो (देवाली) पनि भएको हुँदा पोखरी परिसरको सरसफाइमा भक्तपुर नपा वडा नं. १ स्थित विभिन्न गुठीका गुठियारको सहभागिता रहेको थियो। अरु बेला निषेध गरे पनि देवालीको एक दिन भने यहाँ पूजाका लागि स्थानीयका लागि खुला गरिन्छ।  वर्षको देवाली यही वैशाखमा पर्छ।

रानीपोखरी सरसफाइ कार्यक्रम अवलोकनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) पुगेका थिए। त्यस अवसरमा उनले सम्पदा पुनर्निर्माण र संरक्षणमा अरु ठाउँमा भन्दा भक्तपुरमा व्यवस्थित र उल्लेखनीय कार्य भएको बताए। भक्तपुरका ऐतिहासिक ठाउँहरूको मौलिक नामलाई बचाइ राख्नुपर्नेमा जोड उनले दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय चाड देवाली पूजा (दिगु पुजा) नजिकिँदै गएको अवस्थामा यस ठाउँको सरसफाइलाई निरन्तरता दिएको बताए। भक्तपुरको रानीपोखरी जनताकै ठाउँ भएको र यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बीरहरूका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग नगरपालिकाले निरन्तर छलफल भइरहेको उनले जनाए।

भक्तपुरको रानीपोखरी पुनर्निर्माणमा केही प्राविधिक समस्या भएको बताउँदै उनले भक्तपुरको रानीपोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको बताए।

भक्तपुर नगरपालिकाले योसमेत स्थानीय जनता, टीम–क्लब, दाफा–भजन, विद्यालय, सेना, गुठीलगायतको सहयोगमा तीन पटक सफाइ गरिसकेको छ। आइतबारको सरसफाइ कार्यक्रममा प्रजापति समुदायका त गुठी, थिला गुठी, चुकु गुठी, न्हु गुठी, मारी गुठी र ख्वँ रे गुठीलगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: २० वैशाख २०७६ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App