६ वैशाख २०८१ बिहीबार
कला

न बिमा, न राहत

नाटक ‘जनयुद्ध जारी छ ?’ को एक दृश्य। तस्बिर सौजन्यः नविनबाबु गुरुङ

काठमाडौं - गत असोजमा राजधानीका कालिकास्थानस्थित सर्वनाम थिएटरमा युवा नाट्यकर्मी राज शाह निर्देशित नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन भइरहँदा दर्शकले नाटकलाई निकै मनपराए। नाटक दर्शकले मनपराए पनि नाटक निर्माण गर्दाको पीडा निर्देशक राज र नाटकका कलाकारलाई मात्र थाहा थियो। यो नाटकको रिहल्सल भइरहँदा एक कलाकारको खुट्टा भाँचिएपछि अन्य कलाकार तथा निर्देशक राजसहित व्यवस्थापनले आफ्नै खर्चले उपचार गरे। घाइते ती कलाकारले न त राहत नै पाए न त कुनै बिमावापतको रकम नै।

निर्देशक राजका अनुसार ती कलाकारलाई मानवीय सहयोग गर्नुबाहेक अन्य विकल्प थिएन। ‘त्यो एउटा विशुद्ध मानवीय सहयोग मात्र थियो। गाह«ो साह«ो परेको बेला हामीले एकापसलाई गर्ने मद्दतको कारणले ती कलाकार स्वस्थ भए’, हालैको भेटमा राजले नागरिकसँग भने, ‘हामी नाट्यकर्मी कलाकार दुर्घटनामा प¥यौं वा बिरामी भएर थला प-यौं भने पनि न त कहिँबाट राहत पाइन्छ न त बिमाको रकम नै।’

नाट्यकर्मीको हितको लागि नाट्य संस्था महासंघ गठन भए पनि उक्त महासंघले कलाकर्मीको हितको काम नगरेको राजको दाबी छ। ‘हामीसँग महासंघ नभएको होइन। तर महासंघमा मूलधारको नाटकमा सक्रिय कलाकारको उपस्थिति कम छ। त्यसकारणले पनि हाम्रो सुनुवाई हुन सकेको छैन’, उनी गुनासिन्छन्, ‘भूकम्प पछि कलाकारलाई राहत र बिमाको लागि प्रयास गरेका थियौं। हामी त्यो बेला आफ्नो काममा व्यस्त भएकाले संस्थागत रूपमा पनि जान सकिएन।’
राजका अनुसार नाटकको रिहल्सल गर्दा कलाकार घाइते हुनु, बिरामी हुनु एउटा सामान्य प्रक्रिया नै हो। यस्तो अवस्थामा उनीहरूले आफैं रकम उठाएर उपचार गराउने गर्दछन्। संस्थाको काम गर्ने नेतृत्वको अभावमा कलाकारले समस्या भोग्दै आएको राजको बुझाई छ।

नाटकको रिहल्सल गर्दा कलाकार घाइते हुनु, बिरामी हुनु एउटा सामान्य प्रक्रिया नै हो। यस्तो अवस्थामा उनीहरूले आफैं रकम उठाएर उपचार गराउने गर्दछन्।

थापागाउँस्थित कुञ्ज थिएटर पनि पछिल्लो समयमा व्यस्त थिएटरमा पर्दछ। स्थापनाको छोटो समयमा नै यो थिएटरमा दर्जन बढी नाटक मञ्चन भइसकेका छन्। तर पनि कुञ्ज थिएटरको पीडा सर्वनामका कलाकारको भन्दा कम छैन। थिएटरका प्रमुख कमल ढकालका अनुसार केही समय अघि मञ्चन भएको एक नाटकको रिहल्सलका क्रममा चार कलाकार लगातार बिरामी परे। ‘उनीहरूलाई हामीले आफ्नै खर्चले नजिकैको क्लिनिकमा लगेर उपचार ग¥यौं। हामीले मानवीय नाताले पनि यो काम गर्नुप¥यो। कोही कसैको भर पर्ने अवस्था थिएन’, कमलले सम्झिए, ‘नेपाली नाट्य क्षेत्रमा हामी नयाँ भएर पनि कसलाई सम्पर्क गरेर के भन्ने केही जानकारी थिएन।’

सर्वनामका राज र कुञ्जका कमलको पीडा एउटै भए पनि राजधानी र राजधानी बाहिर थिएटरमा रहेर काम गर्ने अधिकांश कलाकारको समस्या सर्वनाम र कुञ्जकै जस्तो छ। नाटकलाई शोखका रूपमा लिएर अभिनय गर्ने कलाकार भन्दा यसलाई व्यावसायिक रूपमै पेशा बनाउन चाहने कलाकारका लागि भने बिमा र राहत नहुँदा काम गर्न समस्या छ।

लामो समयदेखि अनामनगरस्थित मण्डला थिएटरमा रहेर नाट्य अभिनय गरिरहेका एक कलाकार दातृ निकायको सहयोगमा बनाइएका नाटकमा मात्र बिमाको व्यवस्था भएको खुलाउँछन्। ‘आफैले लेखेर मञ्चन गरिएको नाटकमा बिमाको त कुरै छोडौं। कलाकारलाई पारिश्रमिक दिन पनि धौधौ पर्छ। यस्तो अवस्थामा उनीहरूले पनि समस्या बुझ्छन्’, उनले भने, ‘दातृ निकायको प्रोजेक्ट परेको बेला चाहिँ हामीसँग बिमाको सम्झौता नै हुन्छ। उनीहरूका नाटक देशका विभिन्न स्थानमा पुगेर मञ्चन गर्नुपर्ने किसिमको हुन्छ। त्यसकारण नाटकलाई लिएर जानु अघि उहाँहरूसँग सम्झौता हुन्छ। जसले गर्दा हामीलाई ढुक्कसँग काम गर्ने वातावरण पनि बन्छ।’

कीर्तिपुरस्थित थिएटर मलका केदार श्रेष्ठ थिएटरमा आबद्ध कलाकारहरू एक पटक भेला भएर बिमा र राहतका विषयमा छलफल गरे पनि त्यसयता कुनै प्रगति नभएको बताउँछन्। ‘त्यो छलफल पछि पुनः हामी छलफलमा जुट्न सकेनौं। सबैजना आ–आफ्नो काममा व्यस्त भयौं। अहिलेसम्म कोही कलाकारको पनि स्वास्थ्य बिमा र अन्य बिमा भएको छैन। यो अवस्थामा राहतको विषय परको कुरा हो’, केदार भन्छन्, ‘हाम्रो थिएटरमा अहिलेसम्म कोही कलाकार पनि नाटकको क्रममा घाइते वा बिरामी भएका छैनन्। कोही बिरामी वा घाइते भई हाले पनि मानवीय नाताले सहयोग गर्ने हो। विदेशको हकमा त्यहाँको सरकारले थिएटरका कलाकारको लागि बिमाको व्यवस्था गरेको हुन्छ। तर हाम्रोमा त्यो त कल्पनाको विषयमात्र हो।’

निर्देशक राजले नाट्यकर्मीको हकहितको लागि गठन भएको नाट्य संस्था महासंघले बिमा र राहतका लागि पहल नगरेको भन्ने आरोप लगाइरहँदा महासंघका निवर्तमान अध्यक्ष विजय विष्फोट यसको प्रतिवाद गर्छन्। ‘महासंघले नाटकका कलाकार प्रति चासो दिएन भन्ने बुझाई गलत हो। महासंघ स्थापनाको १० वर्ष भइसक्यो। यो अवधिमा धेरै कलाकारहरूको बिमा भइसकेको छ। हामी कोही पनि कलाकारको घरघर पुगेर बिमा गरिदेऊ भन्न सक्दैनौं’, विस्फोट भन्छन्, ‘महासंघमा आबद्ध केही साथीहरूको एक लाखसम्मको जीवनबिमा गराएका छौं। हामीले सबै कलाकारलाई समेट्न सकेका छैनौं। हामीले सबैलाई समेट्ने प्रयास गरिरहेका छौं। यसो भन्दैमा थिएटरका कलाकारलाई तानेर वा बोलाएर सदस्य बन्नुप-यो भन्न सक्दैनौं।’

विष्फोटले  धरान र बनेपाका गरी झण्डै ८० को संख्यामा कलाकारको बिमा गराइसकेको दाबी गरे। ‘यो संख्या अझै बढ्न सक्छ। किनकी संस्थाले सदस्यता बिस्तारको काम गरिरहेको छ। सदस्यता विस्तारमै बिमाको विषय पनि जोडिएको छ’, उनले भने।

राजधानीमा केही समय अघि सम्पन्न ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव’को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरूको उपस्थिति थियो। उद्घाटनमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षदेखि नाट्य विधा उत्थानका लागि सरकारले बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनको यो प्रतिबद्धताबाट सरकारले नाट्य क्षेत्रमा केही गर्ला कि भन्ने आशा नाट्यकर्मीको छ। सरकारले संगीत र नाट्य क्षेत्रको विकासका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना गरे पनि प्रतिष्ठानले नाट्य विधामा संलग्न कलाकारको सामाजिक सुरक्षाका विषयमा चासो नदेखिएको गुनासो नाट्यकर्मीको छ।

प्रकाशित: २० वैशाख २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App