८ वैशाख २०८१ शनिबार
समाज

बिरख कुट्टीको ८४ बिघा अतिक्रमण जोखिममा

रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव। उनले बिरख कुट्टी मन्दिरको जग्गा बेचेर हिनामिना गरेको आरोप लागेको छ। फाइल/ तस्बिर

जनकपुर - जनकपुर नगर क्षेत्रभित्रै ६ बिघा बहुमूल्य जग्गा हिनामिना भई कन्तबिजोग बनेको बिरख कुट्टी मन्दिरको स्वामित्वमा नगरबाहिर रहेको ८४ बिघा जग्गा पनि अतिक्रमणको जोखिममा परेको छ। विगतमा बिरख कुट्टी मन्दिरको नाममा दान गरिएको धनुषा, हंशपुर नगरपालिकास्थित ८४ बिघा जग्गा अतिक्रमणको जोखिममा परेको गुठी संस्थानको कार्यालय जनकपुर शाखाका सहायक रवीन्द्रकुमार रायले बताए।

वर्षौंदेखि स्थानीयले जोतभोग गर्दै आएको उक्त जग्गा गुठी संस्थानले २०७३ मंसिर ५ गतेदेखि लागू हुनेगरी १० वर्षका लागि वरुणप्रसाद मण्डललाई मनखप (भाडा) मा दिएको छ। मण्डलले गुठी संस्थानलाई सुरुको पाँच वर्षसम्म प्रतिबिघा वार्षिक ११ मन (४० किलोको एक मन) र छैटौं वर्षदेखि बाँकी अवधिसम्म वार्षिक १५ मन धान तिर्नुपर्ने सर्त राखिएको छ। सुरुमा स्थानीयले पनि जग्गा जोतभोग गरेबापत गुठी संस्थानलाई नियमित भूबहाल (भाडाबापतको धान) बुझाउँदै आएका थिए। उनीहरुले भाडा तिर्न आनाकानी गर्न थालेपछि गुठीले तेस्रो व्यक्तिलाई दिएको हो। पहिलादेखि जोतभोग गर्दै आएका स्थानीयले जग्गा छोड्न नमानेको भन्दै मण्डलले पनि भूबहाल तिरेका छैनन्।

‘बिरख कुट्टीको स्वामित्वमा रहेको ८४ बिघा जग्गा दशकौंदेखि स्थानीयले जोतभोग गर्दै आएका थिए। उनीहरुको कब्जाबाट उम्काउन हामीले पत्रिकामा सूचना प्रकाशन गरी विधिसम्मत प्रक्रियाअनुसार एकै व्यक्तिलाई मनखप दियौं’, गुठी संस्थानका खरिदार रायले नागरिकसँग भने, ‘मनखप लगाएको झन्डै अढाई वर्ष पुग्न लाग्दा समेत एक किलो धान पनि भूबहालबापत प्राप्त गर्न सकेका छैनौं।’ स्थानीयको कब्जाबाट जग्गा मुक्त गराउन नसकेको भन्दै नयाँ बहालवालाले भाडा तिर्न आनाकानी गरिरहेको उनले बताए। जनकपुर नगर क्षेत्रभित्रैको जग्गा अतिक्रमण रोक्न नसक्दा नगर क्षेत्रबाहिरको जग्गासमेत संरक्षण गर्न कठिन भइरहेको उनको भनाइ छ।

शाखा प्रमुख मनोज शर्मा स्वास्थ्य उपचारको सिलसिलामा काठमाडौं गएपछि राय अघोषित निमित्त प्रमुख हुन्। उनले भने, ‘हाम्रो कार्यालय (गुठी संस्थान) मातहतमा रहेका जग्गाको संरक्षण गर्न विगतमा पटकपटक कानुनी प्रक्रिया अवलम्बन ग¥यौं। अहिले पनि फाटफुट रुपमा जनकपुरकै बहुमूल्य जग्गा अतिक्रमण भइरहँदा केही हुन सकिरहेको छैन।’ स्थानीय प्रहरी, प्रशासनको इमानदार साथ प्राप्त भए गुठीले अतिक्रमण भइसकेका जग्गा पनि फिर्ता गरी संरक्षण गर्न सक्ने उनले बताए।

मन्दिरका संरक्षक नै ‘जग्गा बेचुवा’
बिरख कुट्टीका महन्त वकिल दास कानुनी कारबाहीमा परी महन्त पदबाट बर्खास्त भएपछि गुठी संस्थानले बिरख कुट्टी मन्दिर र त्यसअन्तर्गत पर्ने जग्गा संरक्षणको जिम्मा रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णवलाई दिएको छ। गुठीले बिरख कुट्टी मन्दिर र जग्गाको संरक्षण तथा मन्दिरमा नियमित पूजापाठ सञ्चालनका लागि रत्नसागर मठलाई वार्षिक रुपमा खर्चबापत आर्थिक सहयोग पनि गरिरहेको राय बताउँछन्। रत्नसागर मठका महन्त दासले उक्त मन्दिरको संरक्षण र नियमित पूजापाठ गर्नुको साटो उल्टै भएभरको जग्गा अवैधानिक रुपमा बिक्री गरी मन्दिरलाई समेत ध्वस्त बनाइदिएको आरोप संस्थानका कर्मचारीको छ। बिरख कुट्टीले जानकी आँखा अस्पताललाई एक बिघा दुई कट्ठा र अन्ध अपांग संघलाई १७ कट्ठा जग्गा प्रयोग गर्न दिएबापत ती निकायले नियमित रुपमा भूबहाल रकम गुठीलाई बुझाइरहेका छन्। उक्त रकम पनि मन्दिर संरक्षणका लागि रत्नसागर मठकै महन्तलाई दिँदै आएको रायले बताए। महन्त दासले अनधिकृत रुपमा जग्गा बिक्री गरी दर्जनौं निजी घर ठड्याउन दिएको उनले बताए।

मधेस आन्दोलनको बेला संक्रमणकालीन राजनीतिक अवस्थाको गलत फाइदा उठाउँदै दासले मन्दिरको जग्गा बेचबिखन गरी अकुत सम्पत्ति आर्जन गरेको बिरख कुट्टी मन्दिरकै जग्गामा घर बनाएर बसेकी एक महिलाले बताइन्। चलनचल्तीको दरको एकचौथाइ पैसा लिएर कपाली तमसुकको आधारमा आफूहरुले दाससँग जग्गा खरिद गरेको उनको भनाइ छ। समय अनुकूल बनेपछि जग्गाको लालपुर्जासमेत दिलाइदिने आश्वासनमा दासले जग्गा बेचेको उनको भनाइ छ। मन्दिरको जग्गामा निजी घर बनाएर बसिरहेकाले दासकै सिफारिस आधारमा बिजुलीको मिटर प्राप्त गरेको उनले बताइन्।

महन्त दासले भने आफू महन्त बन्नुपहिले नै बिरख कुट्टीको जग्गामा निजी संरचना ठडिइसकेको दाबी गरे। ‘बिरख कुट्टीको जग्गा बेच्ने अधिकार रत्नसागर मठलाई दिएको छ र’, दासले भने। उनका अनुसार बिरख कुट्टीका साबिक महन्त वकिल सिंह र उनीपछि महन्त भएका अशोककुमार शर्माबीचको विवाद अहिले अदालतमा छ। शर्मा भने दासकै मिलेमतोमा सार्वजनिक जग्गा बिक्री प्रयास गरेको अभियोगमा धनुषा जिल्ला अदालतमा परेको मुद्दाको पुर्पक्षका लागि छ महिनादेखि जलेश्वर कारागारमा छन्।

महन्तको रिट खारेज
यसैबीच सर्वोच्च अदालतले रत्नसागर मठका महन्त बैकुण्ठ दासले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट खारेज गरिदिएको छ। गुठी संस्थानले २०६८ सालमा दासलाई दिइएको महन्त पदको नियुक्तिको म्याद समाप्त भएको भन्दै मन्दिर खाली गर्न अल्टिमेटम दिएको थियो। गुठीको उक्त निर्देशन छल्न महन्त दासले आफू स्थायी महन्त रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिट सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार खारेज गरिदिएको छ। सर्वोच्च अदालतको यो आदेशका आधारमा गुठी संस्थानले महन्त दासलाई मन्दिरको संरक्षकको भूमिकाबाट हटाउन सक्ने जनकपुरका एक अधिवक्ताले बताए।

प्रकाशित: २० वैशाख २०७६ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App