काठमाडौं – दिदी अश्लेषा र भाइ आइभन हो लिसानेविचको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
दिदीभाइको जोडीले जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीलाई ६–१, ७–५ को सोझो सेटमा स्तब्ध बनायो। फाइनलमा दिदीभाइको जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। अर्को सेमिफाइनलमा सन्तोष र गंगाको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ६–३, ६–७, १०–८ ले हरायो।
पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारीले राजु श्रेष्ठलाई ६–२, ६–४ तथा छेवाङ लामाले महेश श्रेष्ठलाई ६–४, ६–४ को सीधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे। पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकारले फादर म्याथ्युलाई ४–० ४–० ले तथा गौतमलाल प्रधानले सेतेन नोर्केललाई ४–०, ४–० ले निराश पार्दै फाइनल यात्रा तय गरे।
पुरुष ५५ वर्षमाथि डबल्समा कमल थापा र छ्याम्बा धोन्डुपको जोडीले समीर शेरचन र राजु गुरुङको जोडीलाई ७–५, ६–४ ले तथा कृष्णराज घले र सुवर्ण धाख्वाको जोडीले करिम मुल्लाह मुस्लिम र कर्मा घलेको जोडीलाई ६–१, ६–१ ले पन्छाउँदै उपाधि भिडन्त पक्का गरेका छन्।
पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घलेले राजु गुरुङलाई ६–०, ६–२ ले, करिम मुल्लाहले छ्याम्बा धोन्डुपलाई ६–७(२), ६–३, १०–२ ले, कमल थापाले ध्रुव गुरुङलाई ६–३, ६–२ ले तथा सुशीलराज पाण्डेले राजेन्द्र घिमिरेलाई ६–४, ३–६, १२–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।
पुरुष ४५ वर्षमाथि डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले आशिष सिग्देल र उत्तमकुमार शेर्पाको जोडीलाई ६–१, ६–२ ले, गोपी भट्टराई र धरम लामिछानेको जोडीले संग्रामसिंह लामा र मधु परियारको जोडीलाई ६–१, ६–२ ले, चन्द्र शाही र दिनेश तुलाधरको जोडीले डेगेन्द्र श्रेष्ठ र राजेश क्षेत्रीको जोडीलाई ६–२, ७–६ ले तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले हेमचन्द्र गुरुङ र धर्म शाहीको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेका छन्।
पुरुष ४५ वर्षमाथि सिंगल्समा राजु श्रेष्ठले स्कोट हेरिङ्गरलाई ६–०, ६–१ ले, मनोज शाहले धरम लामिछानेलाई ६–३, ७–५ ले, राजु राईले उत्तम बोगटीलाई ७–५, ६–१ ले तथा चन्द्र शाहीले आशिष सिग्देललाई ६–०, ६–२ को सीधा सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। पुरुष ३५ वर्षमाथि डबल्समा राजु श्रेष्ठ र सीमान्त गुरुङको जोडीले डेगेन्द्र श्रेष्ठ र राजु क्षेत्रीको जोडीलाई ६–३, ६–२ ले तथा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले आत्माराम कार्की र राजु श्रेष्ठको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पन्छाउँदै फाइनलमा स्थान बनाएका छन्।
प्रकाशित: २० वैशाख २०७६ ०२:५१ शुक्रबार