coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धनगढीमाईमा खानीको नाममा अवैध उत्खनन्

सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा खोलाको किनारमा खानी माफियाद्वारा अवैध रूपले उत्खनन गरी बनाएको गहिरो खाल्डो। तस्बिर : मिथिलेश/नागरिक

धनगढीमाई (सिरहा) - सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा अवैध रूपमा उत्खनन भइरहेको छ। प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहँदा पनि नियमनकारी निकाय चुपचाप छ। बस्तीनजिक, बीच बस्ती, खोलाकिनार, हाइटेन्सन लाइनको समेत ख्याल नगरी एक्साभेटरबाट भइरहेको उत्खननले आफूहरू आजित भइसकेको स्थानीय बताउँछन्। यस क्षेत्रबाट हरेक दिन करिब एक हजार टिपर ग्राभेल उत्खनन गरी सिरहा, सप्तरी, सुनसरी र धनुषाको ढल्केवरसम्म आपूर्ति हुने गरिएको उनीहरूको भनाइ छ। त्यस किसिमको दोहनले प्रदूषणसँगै प्राकृतिक प्रकोप र दुर्घटनासमेत बढाएको स्थानीय रामप्रसाद सिंहले बताए। राजमार्गभन्दा उत्तरतर्फ प्राकृतिक खतरा बढाएर बस्ती नै विस्थापित हुनेगरी अनियन्त्रित दोहनले सीमिति व्यक्तिलाई फाइदा भए पनि आमजनता पिरोलिएको सिंहको भनाइ छ।

अनियन्त्रित दोहनका कारण आँप र अन्य बालीनालीका लागि उर्वर मानिएको उत्तरी क्षेत्र खण्डहर बन्दै गएपछि स्थानीय चिन्तित बनेका छन्। जिल्लाभित्र विकास निर्माणका काम अवरुद्ध नहोस् भनेर तत्कालीन स्थानीय विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कार्यविधि बनाएर निजी खानी सञ्चालन अनुमति दिने प्रावधान बनाइयो। शून्य दशमलव २५ वर्गकिलोमिटर जग्गामा निजी खानी सञ्चालन अनुमति जिल्ला समन्वय समितिले दिन सक्ने कार्यविधिमा उल्लेख छ। राजमार्ग, घनाबस्ती र वनबाट सय मिटरभन्दा पर र हाइटेन्सन लाइनबाट ५० मिटर दूरी राखेर मात्र अनुमति दिन मिल्ने मापदण्डसमेत कार्यविधिमा उल्लेख छ। १० फिटभन्दा गहिरो खाल्डो नहुनेगरी ग्राभेल खन्ने तथा ग्राभेल झिकिएको खाल्डोमा माटो भरेर पुर्ने प्रावधान रहे पनि कार्यविधि, मापदण्ड, नियमको धज्जी उडाउँदै प्रहरी, नगरपालिका र खानी सञ्चालकको सेटिङमा गैरकानुनी रूपमा ग्राभेल उत्खन्न भइरहेको जनाइएको छ।

सोही कार्यविधिमा टेकेर स्थानीय तहले पनि निजी खानी सञ्चालन अनुमतिपत्र बाँड्यो। जसमा मापदण्ड र नियमलाई समेत धज्जी उडाउँदै १० फिटसम्म गहिराइ हुने मापदण्ड मिचेर २० फिट पु¥याइयो। त्यसैको फाइदा उठाउँदै खानी माफियाहरू अनियन्त्रित दोहनमा सक्रिय भएका हुन्। ‘हामी निर्वाचित भएर आइसकेपछि पोहोर खानी रोक्न प्रयास पनि ग¥यौं,’ धनगढीमाई नगर प्रमुख हरिनाराण चौधरीले भने, ‘कताकताबाट यति धेरै प्रेसर आयो कि थाम्नै सकिएन।’ वनजंगल, बस्ती, खोलाकिनार, विद्यालयका बीचमा खानी सञ्चालनको अनुमति दिएर नगरपालिकाले कार्यविधि र नियमको नियम मिच्यो।

निजी खानी सञ्चालनसम्बन्धी कार्यविधिले तोकेको मापदण्डबाहिर गएर उत्खन्न कार्य भइरहँदा बस्ती, हाइटेन्सन पोल, नजिकैको वनमा जोखिम बढाएको स्थानीयको गुनासो छ। बस्तीको बीच भागमा अनियन्त्रित उत्खनन गरी खहरे खोलाजस्तो बनाइदिएपछि बस्ती बाढीपहिरोको जोखिमामा परेको स्थानीय बताउँछन्। ग्राभेल ढुवानी गर्ने टिपरले उडाउने धुलोले स्थानीय आजित बनेको स्थानीय मनोजकुमार महतोले बताए। ‘नगरपालिका र स्थानीय प्रहरीको संरक्षणमा यहाँ धेरैले प्राकृतिक स्रोतमाथि दोहन तीव्र पारेका छन्,’ महतोले भने, ‘अनियन्त्रित दोहान रोक्न नियमनकारी मौन बस्नु विडम्बना हो।’ प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गर्नेसँग धन भएको र धनका अगाडि नियमन फिका बनेको उनको भनाइ छ। खानी सञ्चालनको अनुमति दिने र त्यसउपर निगरानी गर्ने नगरपालिका हो। जिल्लाभरिको नदीजन्य पदार्थको उत्खननलगायत गतिविधि अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति हो। तर अनुमति दिने नगरपालिकाले आँखा चिम्लिनाले अनियन्त्रित उत्खननकारीले प्रश्रय पाएको स्थानीय रामप्रकाश महतोले बताए।

‘यहाँ सञ्चालित खानीले कानुन, नियम र मापदण्ड मिचेकै हुन्, यो काम मलाई पनि चित बुझेको छैन,’ नगर प्रमुख चौधरीले भने, ‘तर चौतर्फी दबाबका कारण चुप बस्नुपरेको छ।’ खानी नियमन र अनियन्त्रित उत्खन्न रोक्ने जिम्मेवारी आफ्नो नभएको बताउने प्रहरी स्थानीयहरूले अनियन्त्रित उत्खनन रोक्न पहल गर्दा टुप्लुक्क आइपुग्ने र उत्खन्नकारीकै पक्ष लिएर थर्काउने गरेको स्थानीय धनीराम यादवले बताए। अनुमति दिनेसँग कारबाही गर्ने अधिकार सुरक्षित हुन्छ। तर मिलेमतो ढाकछोप गर्न नगरपालिकाले प्रहरी र प्रहरी नगरपालिका देखाउँदै पन्छिँदै छ। खानीको नाममा ग्राभेल उत्खन्न गरी सय फिट गहिरो खाल्डो पारिएको छ।

खानी माफियाले विपन्न समुदायका व्यक्तिको जग्गा सस्तोमा खरिद गरेर र लिजमा लिएर त्यहाँबाट ग्राभेल ढुंगा उत्खनन गर्दै आइरहेका छन् । माफियाले स्थानीय प्रहरी तथा नगरपालिकाका पदाधिकारीहरूलाई मिलाएर निर्धक्क खानी उत्खनन गर्दा अहिलेसम्म उनीहरूलाई नरोकिएको स्थानीयको आरोप छ । सम्बन्धित खानी क्षेत्रका वडाध्यक्ष पुष्पलाल तामाङले आफूले पटकपटक खानी उत्खनन गर्ने गिरोहलाई रोक्ने प्रयास गरे पनि हार खाएर चुप बस्न बाध्य भएको बताए। यहाँबाट दिनरात गाउँ थर्काउने गरेरै स्काभेटरर लगाएर उत्खनन हुँदै आएको उनले बताए। तीव्र उत्खननले खण्डहर बनिसकेको यो क्षेत्र छिट्टै मरुभूमिमा परिणत हुने स्थितिमा रहेको उनको भनाइ छ। खानीको अवैध उत्खननमा जिल्लास्थित राजनीतिक दलका केही नेताकै संलग्नता भएको स्थानीयको दाबी छ। धनगढीमाई नगरका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खानी उत्खन्न गर्नेहरूले राजस्व तिरेरै खानी उत्खनन गरेको बताए। ‘अनुगमन नगरिएकाले मापदण्ड वा नियम मिच्यो भनिहाल्न सकिन्न,’ उनले भने।

प्रकाशित: २० वैशाख २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App