coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सरस्वती क्लब फाइनलमा

काठमाडौं  सरस्वती युवा क्लब जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा बिहीबार ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्वन्द्वी जावलाखेलमाथि १–० को साँघुरो जित निकाल्दै जावलाखेल उपाधिनजिक पुगेको हो। सरस्वतीले उपाधिका लागि शुक्रबार हुने दोस्रो सेमिफाइनलमा एपिएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

सरस्वतीले फाइनल तय गर्न उपहार गोलको साहरा लिनुपरेको थियो। खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरे। गोलरक्षक अरुण तामाङसँग तालमेल नमिल्दा गौतमको प्रहारले आफ्नै पोस्टको दिशा लियो। गोलरक्षक पोजिसन बाहिर रहँदा गौतमको ब्याकपास गोलमा परिणत भयो।

सुरुमै पछि पर्नाका बावजुद जावलाखेलले सरस्वतीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन। खेलको चौथो मिनेटमा ड्यानियल बेकेको प्रहार अकासियो। २१औं मिनेटमा जावलाखेलका गोलरक्षक अरुण तामाङको लामो पासलाई फोफाना फोडेले नियन्त्रणमा लिँदै पेनाल्टीक्षेत्र बाहिरबाट गरेको प्रहार दोस्रो बारमाथिबाट बाहिरियो।

३६औं मिनेटमा सरस्वतीका टिना टिनाले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय दिए। पहिलो हाफको इन्जुरी समयमा कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरिँदा सरस्वतीले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो। दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल भएनन्।

४९औं मिनेटमा सरस्वतीका अमित लामाको पासमा सुजित बुढाथोकीको प्रहार जावलाखेलका गोलरक्षक तामाङले मुस्किलले बचाए। ५९औं मिनेटमा सरस्वतीका अमित लामाको फ्रिकिकलाई जावलाखेलका गोलरक्षक तामाङले पुनः मुस्किलले जोगाए। ६३औं मिनेटमा सरस्वतीका सुजित बुढाथोकी वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके।

६४औं मिनेटमा ड्यानियलको प्रहार बाहिरिँदा जावलाखेलले खेलमा फर्किने अवसर गुमायो। ७२औं मिनेटमा पनि ड्यानियलको बक्सभित्रको प्रहार पोस्टमा लागेर फर्किंदा जावलाखेल बराबरी गोल गर्नबाट चुक्यो। त्यसपछिको बाँकी समयमा थप गोल नभएपछि आत्मघाती गोल नै सरस्वतीलाई फाइनल पुग्न पर्याप्त बन्यो। म्यान अफ दी म्याच घोषित सरस्वतीका ओको बोटाले ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा शुक्रबार विभागीय टोली एपिएफ र भ्याली च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। १५ वैशाखबाट सुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समूहसहित विभिन्न ८ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख,  उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २० वैशाख २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App