८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति भण्डारी प्रसिद्ध छिन्नमस्ता शक्ति पिठमा

मुलुकमै पहिलो पटक सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्ति पिठमा हुन लागेको लक्ष्य चण्डी महायज्ञका लागि यज्ञशालाको शिलान्यास गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी साथमा शक्ति पिठका पिठाधिश महाकान्त ठाकुर ।

राजविराज–राष्ट्रपति विद्यादेवि भण्डारी शनिबार विहान सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्ति पिठमा ‘छिन्नमस्ता सखडेश्वरी भगवती’को पूजाआजा गरेकी छन्। मुलुकमै पहिलो पटक हुन लागेको ‘लक्ष्य चण्डी महायज्ञ’को शिलान्यासका लागि छिन्नमस्ता शक्ति पिठ आइपुगेकी राष्ट्रपति भण्डारीले मुलुकमा शान्ति तथा भाइचाराको स्थापनाकालागि आफूले माता छिन्नमस्तासँग कामना गरेको बताइन्।

मन्दिरमा पूजाआजा तथा ‘लक्ष्य चण्डी महायज्ञ’का लागि निर्माण हुन लागेको यज्ञशाला एवम् हवन कुण्डको शिलान्यास पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले छिन्नमस्ता शिक्त पिठ लगायत समग्र सप्तरीको विकासका लागि प्रतिवद्धता समेत व्यक्त गरिन्। विकासका लागि स्थानीयको सक्रियता आवश्यक्त रहेको उनको टिप्पणी थियो।

‘कुनै पनि स्थानको विकासका लागि त्यहाँका स्थानियहरुको उत्सुकता, सक्रियता र सहभागिता अपरिहार्य हुन्छन’, उनले भनिन्, ‘तपाँईहरुको सहभागिता विना यहाँको विकास सम्भव छैनन्, तपाँईहरु सक्रिय हुनुभयो भने मात्र विकास सम्भव हुन्छ।’ स्थानीयले राष्ट्रपति भण्डारीलाई बुझाएको १३ बुँदे ध्यानाकर्षणप्रति चासो देखाउँदै उनले आफू काठमाडौं जाने बित्तिकै उक्त १३ बुँदे अनुरोध पत्र अनुरुप काम गर्न सरकारलाई आग्रह  गर्ने बताइन्।

अनेकतामा एकता विविधता युक्त नेपाली समाजको विषेशता रहेको बताउँदै राष्ट्रपति भण्डारीले जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि मुलुकको आपसी एकता र भाइचारा मजबुत रहने रहेकोप्रति सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरिन्। जातीय, सांस्कृति तथा भाषिक विविधताले परिपूर्ण नेपाली समाज विश्वमै आफ्नो मौलिक पहिचान बनाउन सफल रहेको भन्दै राष्ट्रपति भण्डारीले आफ्नो यस पहिचानलाई जोगाई राख्न सवैमा आग्रह गरिन्। छिन्नमस्ता आउने आफ्नो पुराना चाहना वर्षौ पश्चात पूरा भएको बताउँदै राष्ट्रपति भण्डारीले छिन्नमस्ता तथा सप्तरीवासीले यहाँसम्म आउने अवसर जुराइदिएकोमा धन्यावाद समेत ज्ञापन गरिन्।

नेपाली सेनाको हेलिकप्टरवाट विहान १० बजेर १० मिनेटमा छिन्नमस्ता आइपुगेको राष्ट्रपति भण्डारी करिब १ घण्टा जति छिन्नमस्तामा बिताइन्। आफ्ना दुई छोरीसहित राष्ट्रपति भण्डारी छिन्नमस्ता मन्दिर पुगेकी हुन्।

राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै विहानैदेखि मन्दिर परिसरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको थियो। घण्टौंसम्म मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएका कारण टाढा टाढाबाट आएका श्रद्धालुहरुलाई सास्ती बेहोर्नुपरेको थियो। यता राष्ट्रपतिलाई हेर्न गाउँ गाउँबाट पुगेका सयौं सर्वसाधारणलाई भित्र प्रवेश गर्न नदिँदा उनीहरु आक्रोशित समेत भएका थिए। कार्यक्रममा जिल्लाका गन्य मान्य व्यक्तिका अतिरिक्त विभिन्न मधेसी दलका नेताहरुकोसमेत उपस्थिति  थियो।
 

स्थानीयले बुझाए १३ बुँदे अनुरोध पत्र

 पूजाआजा तथा यज्ञशाला शिलान्यासका लागि छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारीलाई स्थानीयले १३ बुँदे अनुरोध पत्र समेत बुझाएका छन्। मन्दिर तथा समग्र सप्तरीको विकासीय मुद्दाहरुलाई समेटिएर तयार पारिएको उक्त १३ बुँदे अनुरोध पत्र स्थानीयकातर्फबाट छिन्नमस्ता गाविसका पूर्व अध्यक्ष एवम् सदभावना पार्टीका नेता सत्यनारायण यादवले राष्ट्रपति समक्ष पढेर सुनाएका थिए।

छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा सरकारद्वारा घोषणा गरिनुपर्ने, यो क्षेत्र पहाडसँग नजोडिएका हुनाले छिन्नमस्ता–राजविराज–रुपनी–गाइघाट सडक निर्माण गरिनुपर्ने, राजविराज विमानस्थल सुचारु गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइनुपर्ने, माओवादी जनयुद्धका बेलादेखि बन्द रहेका विभिन्न छोटी भन्सार कार्यालय सुचारु गरिनुपर्ने लगायतका माग अनुरोध पत्रमा उल्लेख रहेको छ।

यसैगरी छिन्नमस्तासँग जोडिने भारतीय सीमानासम्म रेल्वे विस्तारका लागि सरकार मार्फत भारत सरकारलाई आग्रह गरिनुपर्ने, मन्दिर परिसरमा सुविधा सम्पन्न धर्मशाला, अतिथि गृह लगयातको निर्माण गरिनुपर्ने, सखडा–राजविराज सडक निर्माणमा व्यापक अनियमितता भएकोले त्यसको छानविन गरिनुपर्ने, छिन्नमस्तामा अस्पताल निर्माण, एकमात्र संस्कृति विद्यालयको स्तरोन्नती, राजविराज स्थित सगरमाथा अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउनुका साथै दरबन्दी अनुरुपको कर्मचारी थपिनुपर्ने, राजविराजस्थित राज रंगशालाको जिर्णोद्वार तथा छिन्नमस्ता–बनैनियाँ–शम्भुनाथ सडक निर्माण लगायतको माग अनुरुप पत्र मार्फत गरिएको छ ।

 

प्रकाशित: ६ कार्तिक २०७३ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App