७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

वासिङ्टन– भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा यहाँका अधिकारीहरुको मत विभाजन भएको छ। बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।

केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन्। बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचर टिप्पणीहरु आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उहाँका एकजना पूर्व सहयोगीले जनाएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउछन्। उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रुपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए। तर, उनले सैन्य कारबाहीलाई पनि नकारेनन्।

यो संकटको समाधान शान्तिपूर्ण रुपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव नरहेकाे उनको भनाइ छ। केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले भेनुजुएलाका विपक्षी नेता हुवा ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए। यो उनीहरुको अकस्मात निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो।

त्यसयता त्यहाँको राजनीति झन्भन्दा झन जटिल बन्दै गएको छ। विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्ने मा राख्दै आन्दोलन गर्दै अाएका छन्। अहिले आएर उनले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल शृङ्खलाबद्ध रुपमा आम हड्तालको आह्वान गरेका छन्।

शुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारका विरुद्धमा आमहड्ताल थालेका हुन। उक्त सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताएका थिए। यो विद्रोह यस साता थप चर्किएको छ।

विपक्षीहरुले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन्। यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन। साथै तर यसका लागि अर्थात भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूहरुले कुनै तयारी भने नथालेको उसले बताएको छ। यस देशमा यतिखेर यहाँका दुवै जना नेताहरु वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता ग्वाइदो दुवैको आफू नै यहाँको संवैधानिक राष्ट्रपति भएको दाबी छ।

ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रुपमा स्वघोषणा गरेका थिए। तर त्यसलाई सरकारले मान्यता दिएको छैन। त्यसपछि उनका विरुद्धमा सरकारले कारबाही थालेको छ। हाल त्यहाँको सरकारले उनको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाइएको छ। तर सरकारको त्यस घोषणाको उल्लङ्घन गर्न र मडुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका थिए।

उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए। ग्वाइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए। उनले ग्वाइदोलाई असुरक्षाको महसुश हुन दिन नहुने भन्दै मदुरो प्रशासनलाई सचेत समेत गराएका थिए।

केही वर्षयता देखि यस देशले चरम आर्थिक सङकट खेपिरहेको थियो। आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक सङ्कट पनि थपिएको छ। ग्वाइदोको आफै अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन्। त्यसैगरी उता वर्तमान राष्ट्रपति मडुरोलाई पनि रुस र चीनको समर्थन छ। त्यसैगरी उनलाई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीहरुको पनि समर्थन रही आएको छ। रासस

प्रकाशित: १९ वैशाख २०७६ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App