७ वैशाख २०८१ शुक्रबार
कला

‘मिस नेपाल’ बन्न प्रशिक्षणमा सुन्दरी

काठमाडौं - ‘मिस नेपाल २०१९’ को अडिसनको दौरान सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएकी प्रतियोगी अस्मिता महर्जन मेकअप गर्न सिक्दैछिन्। ‘मिस नेपाल’ प्रतियोगिता अन्तर्गत सञ्चालन भइरहेको प्रशिक्षणमा सहभागी अन्य प्रतियोगीहरू उनको आँखामा ल्यासेस लगाउन सघाउँदै थिए। ‘म फाउन्डेसन र ल्यासेस लगाएर मेकअप गर्न सिक्दैछु’, उनी भन्दैथिइन्। यो दृश्य द हिडेन ट्रेजरले सञ्चालन गरिरहेको २५ औं संस्करणको ‘मिस नेपाल–२०१९’ अन्तर्गत आयोजना भइरहेको प्रशिक्षणको हो।

मेकअप नगरेको र चस्मा लगाएको विषयमा अडिसनका समयमा निर्णायकमध्ये एक कोरियोग्राफर रचना गुरुङ शर्माले अस्मितालाई प्रश्न गरेको भिडियोले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको थियो। कम्प्युटर इन्जिनियरिङमा अध्ययरत प्रतियोगी नम्बर ८ अस्मिता ब्युटी प्याजेन्टमा मेकअप अनिवार्य भएको बताउँछिन्। ‘मिस नेपालजस्तो ब्युटी प्याजेन्टमा सहभागी हुन अनिवार्य मेकअप गर्न जान्नुपर्छ’, भिडियोबारे उनले भनिन्,‘ निर्णायकहरूले मेरो आत्माविश्वास जाँचेका रहेछन्। अडिसनको दौरान मिस नेपाल प्रतियोगिताको लागि छनोंट भएको जानकारी सोही क्रममा निर्णायकहरूले गराएका थिए।’

सन् २०२० को ‘मिस नेपाल’मा सहभागी हुन पूर्व तयारीअन्तर्गत अडिसनमा पुगेकी उनी प्रतियोगिताको ओरिन्टेसनमा आउँदा बहिनीको लाइनर र फाउन्डेसन बोकेर आएकी थिइन्। ‘अर्को वर्ष मिस नेपालमा सहभागी हुने सोचसहित अडिसनको अनुभव लिन गएको थिएँ। मिस नेपालको लागि छनोंट भएलगत्तै मेकअप सम्बन्धी सामग्रीहरू किनेर सिक्न थालेको थिएँ’,उनले भनिन्। उनले ‘मिस नेपाल’लाई प्रतिभा देखाउने प्लेटफर्मको रूपमा लिएकी छिन्।

पूर्व ‘मिस नेपाल’ इशानी श्रेष्ठको सकारात्मक सोचबाट प्रभावित अस्मिता ‘मिस नेपाल’को उपाधि जित्नेमा आशावादी छिन्। ‘सबैले सबै बौद्धिकताको कदर गर्न सिक्नुपर्छ। मेकअप गरेर जो पनि राम्रो देखिन सक्छन्। मनको सुन्दरतालाई पहिचान गर्न सुन्दर मन चाहिन्छ’, उनले भनिन्।

‘सबैले सबै बौद्धिकताको कदर गर्न सिक्नुपर्छ। मेकअप गरेर जो पनि राम्रो देखिन सक्छन्। मनको सुन्दरतालाई पहिचान गर्न सुन्दर मन चाहिन्छ।

गत वर्षकी ‘मिस वेस्टन नेपाल’की विजेता शिवानी घिमिरेका लागि ‘मिस नेपाल’ महत्वपूर्ण प्लेटफर्म हो। विभिन्न ब्युटी प्याजेन्ट जितिसकेकी उनले ‘मिस नेपाल’को लागि लामो तयारी गरेको दाबी गरिन्। ‘विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदादेखि मैले मिस नेपालको तयारी सुरु गरेको थिएँ। मिस नेपालको प्रशिक्षणको दौरान पाएको विभिन्न गतिविधिले मलाई आत्मविश्वास दिएको छ ’, उनले भनिन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्साशास्त्रमा अध्ययनरत प्रदिप्ता अधिकारी सामाजिक कार्यमा चासो राख्छिन्। विभिन्न सामाजिक गतिविधिमा सक्रिय भइरहेकी उनको मिस नेपालको प्लेटफर्मले सामाजिक काम गर्न प्रोत्साहित गरेको बुझाई छ।

यस पटकको ‘मिस नेपाल’मा निशा पाठक, एलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, संस्कृति घिमिरे, अनुष्का श्रेष्ठ, जेनी महर्जन, अस्मिता महर्जन, किरण थापा, प्रदिप्ता अधिकारी, नितिका कर्माचार्य, रोज लामा, सारा बजिमाया, लक्ष्मी राउत, रक्षा उप्रेती, मीरा कक्षपति, जेनिशा थपलिया, पुजा श्रेष्ठ, विपना सुवेदी, शुभेच्छा अधिकारी, प्रकृति कटवाल, नान्सी बोगटी, शिवानी घिमिरे, सान्त्वना मालाकार र प्रथा अधिकारी गरी २५ प्रतियोगीहरू सहभागी छन्।

आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दर कक्षपतिका अनुसार २५ औं संस्करणको ‘मिस नेपाल’मा देशभरका विभिन्न सहरहरूमा आयोजना गरिएको अडिसनबाट प्रतियोगीहरू सहभागी छन्। ‘यसपटक मिस नेपालमा विभिन्न सहरबाट छनोट भएका प्रतियोगीहरू छन्। यसपटकको फाइनलमा सकेसम्म धेरे दर्शक सहभागी गराउन खुल्ला स्थानमा फाइनलको आयोजना गर्दैछौं’, उनले भने। ‘मिस नेपाल’को अडिसन राजधानीसहित धरान, वीरगञ्ज, बिर्तामोड, चितवन, धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा आयोजना भएको थियो। त्यस्तै चैतको दोस्रो साताबाट प्रशिक्षण सुरु भएको थियो।

यसपटक ‘मिस ओसियाना’, ‘मिस हङकङ’, ‘मिस पोखरा’, ‘मिस पूर्वाञ्चल’, ‘मिस वेस्टन नेपाल’का विजेताहरू सहभागी भएका छन्। प्रतियोगीहरू कोरियोग्राफर रचना गुरुङ शर्माले दिने ६ हप्ते प्रशिक्षणमा सहभागी भईरहेका छन्। यस वर्ष ‘मिस नेपाल’को फाइनल आगामी वैशाख २६ गते कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यमिक विद्यालयको मैदानमा आयोजना हुँदैछ।

प्रकाशित: १९ वैशाख २०७६ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App