coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किन्

काठमाडौं - चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन्। ‘हाइ अल्टिच्युड’ को समस्या देखिएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर फर्किएको उनको सचिवालयले जनाएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो। उनी चिनियाँ समकक्षी सी जिङपिङको निमन्त्रणमा वैशाख ११ मा त्यसतर्फ गएकी थिइन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसिएटिभसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई सम्बोधन गरेकी थिइन्। त्यहाँ रहँदा उनले चिनियाँ समकक्षी सीसँग दुई भेट गरेकी थिइन्। त्यस क्रममा नेपाल र चीनबीच यातायात तथा पारवहनलगायत सातवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो। उनले अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी तथा विश्वका नेताहरु सम्मिलित गोलमेच सम्मेलनलाई समेत सम्बोधन गरेकी थिइन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत सरकारी अधिकारी पनि संलग्न थिए। भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष, मन्त्री, उच्च पदस्थ अधिकारीलगायतले स्वागत गरेका थिए।

जापानी सम्राटलाई बधाई सन्देश
यसैबीच राष्ट्रपति भण्डारीले जापानका सम्राट नारुहितोलाई बधाई सन्देश पठाएकी छिन्। नारुहितोले बुधबार राजागद्दी समालेपछि भण्डारीले सन्देश पठाउँदै बधाईं दिएकी हुन्। सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र जापानबीचको पुरानो मैत्रीपूर्ण एवं सौहार्दपूर्वक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेकी छिन्। सन्देशमा जापानका नयाँ सम्राटको सुस्वास्थ्य, सफलता तथा जापानी जनताको शान्ति, समृद्धि र प्रगतिको कामना गरिएको छ।

उपराष्ट्रपति पुन लैनचौर सरे
काठमाडौं, वैशाख १८ (नागरिक)– उपराष्ट्रपति नन्दबहादुर पुन गैह्रीधारामा रहेको सरकारी निवासबाट बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको भवनमा सरेका छन्। उनी अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका हुन्। मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका बनाउने निर्णय गरेको थियो।

लैनचौरको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति त्यहाँ सरेका हुन्। भवन मर्मत बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय भने केही दिनपछि सर्नेछ। उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जनाएका छन्।

प्रकाशित: १९ वैशाख २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App