coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाद्य सहयोगका लागि उत्तर कोरियाको आग्रह

साजियोन जिल्लाको जङहङ फार्मको निरीक्षण गर्दै उत्तर कोरियाली नेता किम जोङ–उन। फाइल तस्बिरः एजेन्सी

सोल – प्रतिकूल मौसमका कारण चरम खाद्य संकट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रससमक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य संकट उत्पन्न भएको जनाइएको छ।

गत वर्ष चलेको तातो हावा र ज्यादै कम वर्षात्का कारण समस्या अझ बढेको हो। उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी)ले उत्तर कोरियाको विपद् राहत आपतकालीन कोषका लागि अन्तरराष्ट्रिय रूपमै आह्वान गर्ने तयारी भइरहेको जनाएको छ।

बाली भित्र्याउने आगामी सेप्टेम्बर महिनाअघि नै उत्तर कोरियाली नागरिकलाई थप खाद्यान्नको जरुरत छ। तर ज्यादै कम वर्षा भएका कारण हिउँदे बालीको उत्पादन ज्यादै कम भएको छ। यसले छ महिना धान्न मुस्किल छ। प्रतिवेदनअनुसार खाद्य असुरक्षाको अवस्थाले विकराल रूप लिने देखिसकेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ। सन् २०१८ मा उत्तर कोरियाको खाद्य उत्पादन ४९ लाख ५० हजार टन भएको थियो। यो विगत दशकमै सबैभन्दा कम उत्पादन हो। कूल जनसंख्याको करिब ४१ प्रतिशत जनतालाई खाद्यान्न अभाव रहेको र पाँच वर्षभन्दा कम उमेरका बालबालिका पर्याप्त खानाको अभावमा स्वास्थ्य जोखिममा परेका छन्।

आइएफआरसीले उत्तर कोरियाको खाद्यान्न स्थितिका बारेमा एक साताभित्रै प्रारम्भिक अध्ययन गर्ने जनाएको छ। उत्तर कोरियाले खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रमजस्ता विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामार्फत खाद्यान्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिसकेको छ। आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ। प्योङयाङविरुद्ध संयुक्त राज्य अमेरिका र युरोपका अधिकांश राष्ट्रले पनि प्रतिबन्ध लगाएका छन्।

परम्परागत दुई शत्रु राष्ट्र अमेरिका र उत्तर कोरियाबीच पछिल्लो समय सम्बन्धमा केही सुधार आएको भए पनि प्योङयाङमाथि लाग्दै आएको प्रतिबन्ध हटेको छैन। यसबीचमा उत्तर कोरियाली शासक किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुईपटक शिखर बैठक सम्पन्न भएको छ।

सन् २०१८ को जुन १२ मा सिंगापुरमामा भएको ऐतिहासिक पहिलो शिखर बैठकमा आफ्नो देशको सुरक्षा ग्यारेन्टी भए आफूले आणविक कार्यक्रम त्याग्न र कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरणका लागि आफू तयार रहेको बताएको थियो। त्यसअनुरुप उसले आफ्नो प्रमुख आणविक परीक्षणस्थल ध्वस्त गरेको पनि दाबी गरेको थियो। पहिलो शिखर बैठकलाई पछ्याउँदै यस वर्षको फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा दुई नेताबीच पुनः बैठक भएको थियो। उत्तर कोरियाले आफूविरुद्ध लागेको प्रतिबन्ध हटाउन अमेरिकासँग आग्रह गरे पनि वासिङ्टनले पूर्णरूपमा आणविक कार्यक्रम नत्यागेसम्म प्रतिबन्ध कायमनै रहने बताएपछि दुई नेताबीचको शिखर बैठक बिना निष्कर्ष टुंगिएको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App