coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रक्सीसँग यार्सा सटही

यार्सागुम्बा पाइने माझा क्षेत्रमा खाल्डो खनेर राखेको भर्जिन मदिरा झिेकर बेच्दै व्यापारी। तस्बिर : जगत/नागरिक

बझाङ - संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

बझाङका सुर्मा र साइपाल गाउँपालिकाले यार्सागुम्बा पाइने चालावन, धनसेरी, कालापानी, सुर्मा ताल, माझा, राइढुंगी, विनायक नाङना, साइपाललगायत क्षेत्रलाई मदिरा निषेधित घोषणा गरे पनि व्यापारीले लुकिछिपी लैजाने सिलबन्दी तथा लोकल मदिरासँग संकलकले यार्सागुम्बा साट्ने गरेका छन्।

‘दिनभर हिउँमा यार्सागुम्बा संक्लन गरिन्छ। बेलुका चिसो हटाउन र थकान मेटाउन यार्सागुम्बासँग मदिरा साटेर पिइन्छ,’ साइपाल–१ का रामबहादुर बोहोराले भने, ‘सदरमुकाम चैनपुरमा २ सय ५० रुपैयाँमा पाइने एक क्वाटर भर्जिनलाई लेक क्षेत्रमा एक हजार २ सयभन्दा बढी पर्छ। प्रतिगोटा यार्सागुम्बा सानोको ४ सय र ठूलोको ५ सय रुपैयाँसम्म मूल्य तोकिन्छ। व्यापारीले कहाँबाट र कसरी मदिरा ल्याउँछन्, थाहा छैन। हामीले आफैं खान ल्याउँछौं भन्दा पाइँदैन।’

महँगोमा मदिरा किनेर खाँदा यार्सागुम्बा संकलकलाई घाटा र व्यापारीलाई नाफा हुन्छ। निषेधित क्षेत्र भएकाले व्यापारीले रक्सी खाल्डो खनेर लुकाउने गर्छन्।

यार्सागुम्बा संकलक जयपृथ्वी नगरपालिका–१ का बमबहादुर सिंहले लेकमा प्रहरी प्रशासन नहुने र जनप्रतिनिधिले बनाएको नियम पनि पालना नहुने सुनाए। यसै मौकाको फाइदा उठाएरर मदिरा र यार्सागुम्बा दुवैका व्यापारीले कालोबजारी गर्ने उनको भनाइ छ। उनले भने, ‘हामीले दुःख गर्ने हो, कमाइजति तिनै व्यापारीको हुन्छ। यार्सागुम्बासँग रक्सी साटेर खाइन्छ। लेकमा निकै बेथिति छ।’ यो वर्ष हिउँ धेरै परेकाले यार्सागुम्बा कम पाइने उनले बताए।

साइपाल गाउँपालिकाको चिडकामा होटेल र पसल गरेका कन्जडो बोहोराले गत साल यार्सागुम्बासँग भर्जिन रक्सी साटेको र यसपालि ३१ पेटी ल्याएको बताए। उनले भने, ‘निषेधित क्षेत्रमा रक्सी ल्याएको थाहा पाए जनप्रतिनिधिले कारबाही गर्लान् भन्ने डर हुन्छ।’ यार्सागुम्बा संकलकलाई मदिरा व्यापारीले भोड्का प्रतिक्वाटर एक हजार ८ सय, टुबोर्ग बियर प्रतिबोतल २ हजार ५ सय, सोफी प्रतिक्वाटर ८ सय र प्रतिपोका ५ सय रुपैयाँमा बिक्री गर्छन्। लेकमा चिनियाँ रक्सी पनि पाइन्छ। संकलकले नगद नभएपछि यार्सासँग मदिरा साटेर सेवन गर्छन्। यति महँगोमा मदिरा किनेर खाँदा यार्सागुम्बा संकलकलाई घाटा र व्यापारीलाई नाफा हुन्छ। निषेधित क्षेत्र भएकाले व्यापारीले रक्सी खाल्डो खनेर लुकाउने गर्छन्।

चैत अन्तिम सातादेखि असार मसान्तसम्म यार्सागुम्बा टिप्न लेकमा घुइँचो लाग्छ। यार्सागुम्बा पाइने लेक क्षेत्रमा रक्सी सेवन गर्नेलाई जनही १० हजार र बिक्री गर्नेलाई जनही २० हजार रुपैयाँसम्म जरिवाना हुने निर्णय गरेको साइपाल गाउँपालिकाकी उपप्रमुख कल्पना बोहोराले बताइन्। मदिरा सेवनका कारण यार्सागुम्बा संकलकबीच झैझगडा नहोस् भनेर यस्तो निर्णय गरिएको उनले प्रस्ट पारिन्। उनले भनिन्, ‘गत वर्ष जरिवानाबापत १२ लाख रुपैयाँ र यार्साको राजस्वबापत २८ लाख रुपैयाँ संकलन भएको थियो। यार्सागुम्बा पाइने उच्च लेकमा सुरक्षागस्ती गरिदिन जिल्ला प्रहरी कार्यालय र सीमा प्रहरीचौकी धुलीलाई अनुरोध गरे पनि जनशक्ति अभाव भएकाले सम्भव नहुने जानकारी पाएको उनले बताइन्।

 

प्रकाशित: १९ वैशाख २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App