८ वैशाख २०८१ शनिबार
राजनीति

आयोगमा सक्षम व्यक्ति सिफारिस गर्न माग

काठमाडौं – द्वन्द्वपीडित साझा चौतारीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगको पदाधिकारीमा नियुक्तिका लागि सक्षम र गैरराजनीतिक छविका विज्ञ सिफारिस गर्न ध्यानाकर्षण गराएको छ। आयोगमा पदाधिकारी चयन गर्न बनेको सिफारिस समितिका संयोजक पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई चौतारीले ध्यानाकर्षणपत्र बुझाएर यस्तो माग गरेको हो।

चौतारीले कुनै दल विशेषको दबाब, प्रभावमा नपरी संक्रमणकालीन न्यायमा विशेषज्ञ, योग्य, सक्षम, गैरराजनीतिक व्यक्तिलाई पदाधिकारीमा सिफारिस गर्न समितिको ध्यानाकर्षण गराएको हो। द्वन्द्वका सत्य तथ्य पत्ता लगाउन बनेका दुई आयोग पदाधिकारीविहीन भएपछि पदाधिकारी छनोट प्रक्रिया अघि बढिसकेको छ।

२०७१ सालमा जस्तो राजनीतिक दलको इसारामा पदाधिकारी सिफारिस गर्न नहुने चौतारीको भनाइ छ। गलत आधारमा सिफारिस गरिएकाले दुवै आयोगले चार वर्षसम्म कुनै परिणाम दिन नसकेको ठहर पनि चौतारीको छ। विगतको समीक्षा गरी उपयुक्त, पारदर्शी प्रक्रियाबाट छनोट र सिफारिस गर्न उसले सुझाव दिएको छ। समितिले दुई आयोगमा पाँचपाँच जना पदाधिकारी सिफारिस गर्ने अधिकार पाएको छ। सर्वोच्च अदालतको फैसला अनुसार सरकारले ऐन संशोधन नगर्दा पनि विगतमा आयोगहरुले काम गर्न नसकेको तर्फ पनि चौतारीले ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App