७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रमुख–उपप्रमुख विवादले विकास निर्माण प्रभावित

रौतहट - रौतहटका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादका कारण विकास निर्माण प्रभावित भएको पाइएको छ। प्रमुखले उपप्रमुखको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने र उपप्रमुखलाई नीति–निर्णयमा संलग्न नगराउने प्रवृत्तिका कारण विवाद देखिएको हो।

यमुनामाई गाउँपालिकाकी उपप्रमुख गीतादेवी साहले आफूलाई प्रमुख श्रीप्रसाद मुखियाले काम गर्नै नदिएको आरोप लगाउँदै आएकी छन्। गत साता प्रमुख मुखियाले आफूमाथि हातपात गरेको आरोप पनि उनले लगाएकी थिइन्। गाउँपालिकाको कार्यालयमा उनी आफैंले ताला लगाउने कामसमेत गरिन्। राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंहले एउटा कार्यक्रममा भक्कानिँदै मेयर धीरेन्द्र यादवले एकलौटी ढंगले हैकमवाद चलाएको आरोप लगाइन्। मेयरले उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै उनले काम गर्ने वातावरण नभएको बताइन्।

जिल्लाका १८ स्थानीय तहमध्ये १७ वटामा पुरुष प्रमुख छन्। महिला प्रमुख रहेको मौलापुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद रहेको अहिलेसम्म सार्वजनिक भएको छैन। अन्य सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनोमालिन्य देखिएको छ।

ऐन कानुनले स्थानीय तहको प्रमुख र उपप्रमुखको अधिकारको किटान नै गरेको छ तर पनि प्रमुखले चाहिँ उपप्रमुखलाई बिल भरपाईमा सही गर्ने व्यक्तिको रुपमा मात्र उपयोग गर्न खोजेको आरोप उपप्रमुखहरुले लगाउने गरेका छन्। कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखबीचको विवाद उत्कर्षमा रहेको छ। नगरपालिकाको परिषद् बैठक हुँदै गर्दा दुवैबीचको विवादको उत्कर्ष सार्वजनिक भएको थियो। मेयर सियाराम कुशवाहाले एकलौटी ढंगले नियम मिचेर नगर परिषद् गराएको भन्दै उपमेयर नुरजहाँ खातुनले विज्ञप्ति जारी गरेकी थिइन्। मेयर कुशवाहाले उपमेयर खातुनले ४ करोड रुपैया भ्रष्टाचार गरेको आरोप लगाएका छन्। अहिले कटहरिया नगरपालिकाको विकास निर्माण ठप्प छ।

चन्द्रपुर, फतुवा विजयपुर, माधव नारायण, देवाही गोनाही, बौद्धिमाई, गरुडालगायतका नगरपालिकाका प्रमुख र उपप्रमुखबीच व्यापक मतभिन्नता बारम्बार सार्वजनिक हुने गरेको छ। विवादकै कारण फतुवा विजयपुर, बौद्धीमाई र देवाही गोनाही नगरपालिकाको नगर परिषद् निकै ढिलो सम्पन्न भयो। गरुडा नगरपालिकाकी उपप्रमुख रंगिलादेवी जयसवाल र फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी महतोले पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जाहेर गरेका थिए। दुवै उपमेयरले आफ्नो नगरपालिकामा भ्रष्टाचार व्यापक मात्रामा बढेको आरोप लगाउँदै सम्बन्धित निकायसित छानबिनका लागि मागसमेत गरेका थिए। केही वडाध्यक्ष र प्रशासकीय प्रमुखलाई मेयरले आफ्नो पक्षमा पारेपछि उपमेयरलाई पाखा लगाउँदै नियम मिचेर चल्ने गरेको पाइएको छ। उपमेयरहरुले पनि बढी भाग खोज्ने भएर विवाद बढ्ने गरेको देखिएको छ।

जिल्लाका १८ स्थानीय तहमध्ये १७ वटामा पुरुष प्रमुख छन्। एउटा नगरपालिकामा महिला प्रमुख छिन्। महिला प्रमुख रहेको मौलापुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद रहेको अहिलेसम्म सार्वजनिक भएको छैन। अन्य सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनोमालिन्य देखिएको छ। जसको असर विकास निर्माणमा परेको भन्दै जिल्लावासीले चिन्ता व्यक्त गरेका छन्। प्रमुख र उपप्रमुख दुवैजना नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति भइरहेको मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साहले बताए।

प्रकाशित: १९ वैशाख २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App