८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय फोरम र नयाँ शक्तिबीच एकीकरणको तयारी

काठमाडौं - संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरणको तयारी सुरु भएको छ। वैशाखभित्र एकीकरण गर्ने गृहकार्य भइरहेको दुवै पार्टीका नेताहरूले जनाए। संघीय फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा गरी सरप्राइज दिने तयारी भएको स्रोतको भनाइ छ।

पार्टी एकीकरणको विषयमा निर्णय गर्न फोरमले वैशाख २१ गते केन्दीय समितिको बैठक बोलाएको छ भने नयाँ शक्तिले वैशाख २० गते सचिवालयको बैठक बोलाएको छ। ‘वैशाख २१ को केन्द्रीय समितिले निर्णय गरी त्यसको भोलिपल्ट एकीकरणको घोषणा गर्ने तयारी भएको छ,’ फोरमका एक पदाधिकारीले भने। फोरमका महासचिव रामसाह यादवले भने वैशाख २१ गते बोलाइएको केन्द्रीय समितिको बैठक पार्टी एकीकणको विषयमा निर्णय गर्न नभई महाधिवेशनको तयारी गर्न बोलाइएको दाबी गरे। फोरमका नेता तथा स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवले वैशाख २१ को केन्द्रीय समितिको बैठकमा नयाँ शक्तिसँग एकीकरणको विषयमा निर्णय हुने बताए। उनले भने, ‘वैशाख २१ गतेसम्म पर्खनुहोस्। त्यसपछि तपाईं थाहा पाउनुहुनेछ।’

स्रोतका अनुसार एकीकृत पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष बाबुराम भट्टराई हुने सहमति भएको छ। यसमा यादव र भट्टराईले पनि सहमति जनाएको स्रोतको भनाइ छ। वार्ता टोलीका एक सदस्य भन्छन्, ‘पार्टी एकीकरणका लागि सबैभन्दा ठूलो समस्या भनेको एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति नजुट्नु थियो। यो विषयमा कुरा मिलेको छ। त्यसैले अब एकता हुन्छ।’ चुनाव अघि पनि फोरम र नयाँ शक्तिबीचको एकीकरणको प्रयास गरिएको थियो। त्यसबेला एकीकरणका लागि विधान र घोषणापत्रसमेत तयार भएको थियो तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकीकरण प्रयास असफल भएको थियो। चुनावपछि एकीकरणको प्रयास फेरि सुरु गरिएको थियो। फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण भए एकीकृत पार्टीको नाम फेर्न दुवै पार्टीका नेताहरू तयार छन्। तर एकीकृत पार्टीको नाम अझै टुंगो नलागेको स्रोतको भनाइ छ।

नयाँ शक्तिसँग वार्ता गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ भने नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। दुई टोलीबीच पटकपटक औपचारिक÷अनौपचारिक वार्ता भएको छ। यसबाहेक फोरमका अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराइबीच पनि छुट्टै संवाद भएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App