८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारीको दुई गुटले जिविसमा भाँडभैलो

बारा–बढी कमिसन आउने शाखाको बिषयलाई लिएर जिल्ला विकास समिति बारामा कार्यरत रहेका स्थानीय कर्मचारीबीचको  बिवादले  जिविस कार्यालयको दैनिक कार्यहरु प्रभावित भएको छ। राजनीतिक भाग बन्डाको आधारमा नियुक्ती भएका एमाले पार्टीसँग नजिक मानिने शाखा अधिकृत बीरेन्द्र महतो र काँग्रेससँग नजिक मानिन अनवर हुसेन मंसुरबीचमा योजना शाखाको बिषयलाई लिएर जिविसका कर्मचारी दुई खेमामा हुँदा नयाँ सरुवा भएर आएका स्थानीय विकास अधिकारी भरत प्रसाद ढुंगानालाई  विवाद मिलाउन समस्या भएको जिविसका कर्मचारीले बताएका छन्।

असोज १९ गते देखि जिविस बारामा हाजिर भएका नयाँ स्थानीय विकास अधिकारी भरतप्रसाद ढुंगानाले कर्मचारीहरुको कार्य विभाजनको विषयमा नै केन्द्रित भएर दैनिक दुई पक्षका कर्मचारीबीच छलफल गर्नु परेको बताएका छन्। ‘कार्य बिभाजन मध्ये शाखा अधिकृत महतो र मंसुरबीचमा कसले बढी योजना शाखाबाट बढी शिर्षकको योजनाहरु संचालन गराउने जिम्मेवारी पाउने होडबाजी रहेको छलफलको क्रममा देखियो,’ ढुंगानाले भने, ‘कर्मचारीको दुई पक्षको विवादले जिल्लाको विकास निर्माणलाई नै प्रभावित पारिने सम्भावन रहेको छ।’

दैनिक जसो दुवै पक्षका कर्मचरीहरुसँग छलफल गर्दा दुवै पक्ष मिलेर काम गर्ने सम्म वातावरण बनेको तर त्यसकालागि अहिले सम्झौता गराएर क्रममा आफू लागि परेको ढुंगानाले दाबी गरे। गत आर्थिक बर्ष २०७१/७३मा संचालन भएका योजनाहरुबाट जम्मा भएका कमिसन रकमलाई योजना शाखा प्रमुख बीरेन्द्र महतोले तत्कालीन स्थानीय बिकास अधिकरी नारायण प्रसाद पाण्डेलाई नदिए पछि पाण्डेले रिसले महतोको जिम्मामा रहेको अधिकाँश शिर्षकका योजनाहरु संचालन गर्नको लागि अर्का अधिकृत अनवार मंसुरलाई तीन महिना पहिला नै दिएका थिए।

बिगत १५ वर्षदेखि भन्दा बढी समयदेखि एकलौटी योजना शाखा सम्भाल्दै आएका शाखा अधिकृत बीरेन्द्र महतोले संचालन गर्ने एक दर्जन शिर्षकका योजनाहरुबाट आधा भन्दा बढी शिर्षकका योजनाहरु कटा गरी अर्काे अधिकृत अनवर हुसेन मंसुरलाई संचालन गर्ने जिम्मेवारी तीन महिना पहिला तत्कालीन स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डेले दिएका थिए।

महतो पक्षले अहिले नयाँ आएका स्थानीय विकास अधिकारी ढुंगानालाई पहिला संचालन गर्दै आएका शिर्षकका योजनाहरु पुनःसंचालन गर्नु माग राखेर बिरोधमा छन् भने मंसुर पक्षले तत्कालीन स्थानीय बिकास अधिकारी पाण्डेले संचालन गर्न दिएको शिर्षकका योजनाबाट कटौटी नगर्न ढुंगानालाई दबाद दिने गरेको जिविसका योजना शाखाका नायब सुब्बा मोहन साहले बताएका छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रम ,झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, स्थानीय स्तरको सडक, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, साना सिंचार्य नदी नियन्त्रण पूर्वाधार कार्यक्रम, गाविस अनुदान, सीमा क्षेत्र विकास कार्यक्रम, जिल्ला विकास समिति कोष, बौद्ध दर्शन प्रवद्र्धन कार्यक्रम, एस एन आर टी पी र दुई जिल्ला जोडने सडक लगाएतका शिर्षकका २५ करोड भन्दा बढीका योजना महतोले पहिला एक्लै संचालन गराउैदै आएको जिविसको योजना शाखाले जनाएको छ।

शिर्षक बाडफाड भएपछि अहिले सीमा क्षेत्र विकास कार्यक्रम, जिल्ला विकास समिति कोष, बौद्ध दर्शन प्रवद्र्धन कार्यक्रम, एस एन आर टी पी, दुई जिल्ला जोडने सडक, र जिल्लाबाट प्रतिनिधित्व गर्ने आधा सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम मात्रै हेर्न पाउने भए पछि महतो समूह बढी चलखेलमा लागेका नायब सुब्बा साहले बताए।

योजना शाखाबाट योजनाहरुलाई ठेकेदार वा उपभोक्ता समितिहरुबाट सम्झौता गराउने देखि लिएर भुक्तानीको लागि टिप्पणी उठाउने कार्य गर्दा एक आर्थिक बर्षमा ७५ लाख देखि एक करोड सम्म कमिशन ठेकेदार वा उपभोक्ता समितिहरुबाट संकलन हुने गरेको योजना शाखाका एक कर्मचारीले बताए।

महतोलाई सूचना तथा समाजिक विकास अधिकृत भरत यादव,नायब सुव्बा बद्रीबहादुर थापा लगाएतका कर्मचारीहरुले साथ दिइरहेका छन भने मंसुरलाई नायब सुब्बा राजीव यादव लगाएतका कर्मचारीहरुले साथ दिई रहेका जिविसका कर्मचारीहरुले जनाएका छन्। जिबिसमा राजनीतिक दलबाट प्रतिनिधितव गर्ने नेपाली काँग्रेस बाराका सभापति जयचन्द चौरसियाले अहिले दुई गुटको बिवादले जिल्लाको बिकास निर्माणमा नकारात्मक असर पारेको बताएका छन्।

‘कर्मचारीहरुले बढी कमिसन आउने फाँटको प्रमुख बन्नको लागि मात्रै बर्षैदेखि झगडा गर्दा जिल्लाको बिकास निर्माणमा प्रगति हुन सकेको छैन्,’ नेता चौरसियाले भने, ‘ कर्मचारीहरुले निजी स्वार्थको लागि अति गरी रहेको थाहा पाएर राजनितिक दलहरु बिचमा तिनीहरुलाई कारवाही गराउने  कुरामा छलफल गरिएको छ।’
जिविस बाराको योजना शाखाको साथ–साथै जिन्सी शाखा,राजश्व शाखा लगाएतका बढी कमिसन आउने शाखाहरु पाउनको लागि राजनितिक स्तरबाट नियुक्ती गरीएका स्थानीय कर्मचारीहरु बिच जिबिसकै कार्यालय भित्र गाली गलौज समेत हुने गरेको कर्मचारीहरुले बताएका छन्।

 

प्रकाशित: ६ कार्तिक २०७३ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App