coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ मा सरकार फेरिने चर्चा

जनकपुर - पार्टी एकीकरणदेखि सत्ता साझेदारीसम्मको विषयमा संघीय समाजवादी फोरम र राजपाबीच दूरी बढ्न सक्ने सम्भावनाले प्रदेश २ को सरकार फेरिन सकिने चर्चा सतहमा आएको छ। मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने आशय व्यक्त गरेपछि यो चर्चाले व्यापकता पाएको हो।

नेकपा प्रदेश २ का प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेशको ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पाउनुपर्ने आफूहरूको स्वाभाविक आकांक्षा भएको बताए। ‘सुरुमै एमाले र माओवादी मिलिसकेको भए प्रदेश २ को सरकार बनाउन हामीलाई नै आह्वान हुने थियो,’ प्रदेश सांसद विश्वकर्माले भने, ‘त्यसबेला तेस्रो र पाँचौ स्थानमा रहेका हामी दुई पार्टी मिलेपछि प्रदेशको प्रथम दलको पहिचान पाएका हौं। यो मानेमा अहिले पनि नेकपाले यो प्रदेशको सरकारको नेतृत्व गर्न पाउनुपर्ने हाम्रो बुझाइ हो।’ फोरम र राजपा मिलेर पनि जम्मा एक सिट बढी पुगेर सरकार बनाएको उल्लेख गर्दै विश्वकर्माले भने, ‘राजनीतिमा जे पनि सम्भव छ। फोरम र राजपाको गठबन्धन त्यसै टिकाउ छैन। एक कदम फुस्क्यिो कि गयो। यस्तो अवस्थामा हामीले जुनसुकै बेला चान्स पाउने सम्भावना छ।’ ६ वटा पार्टी मिलेर बनेको राजपाभित्रै अनेक असन्तुष्टि र विमति रहेको चर्चा गर्दै उनले फोरम र राजपाको कमजोरी नेकपाका लागि अवसर साबित हुन सकिने दाबी गरे।

माथि र तलको सरकार एउटै समीकरणमा बने विकासको एजेन्डा र आपसी समन्वय गर्न सहज हुने चर्चा गर्दै उनले संघीय सरकारमा नेकपाको सत्ता साझेदार रहेको फोरमले तल पनि नेकपासँग मिलेरै सरकार बनाउन सकिने सम्भावना व्यक्त गरे। त्यस्तै, राजपाले फोरमसँग असन्तुष्ट भएर साथ छाडे पनि पुनः विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्रीले पछि हट्नुपर्ने र नेकपाले राजपासँग मिलेर सरकार बनाउने अर्को सम्भावना रहेको विश्वकर्माको बुझाइ छ।

राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले भने प्रदेश २ मा तत्काल नेकपाले सरकार बनाउने सम्भावनाको चर्चा गर्नु दिवास्वप्न हुन सक्ने जिकिर गरे। ‘अहिलेकै अवस्थामा नेकपाले यस प्रदेशको सरकार चलाउने सपना नदेखे हुन्छ। नेकपाका दिग्गज नेताहरूले भाषण र सडकमा सरकार बनाउन सक्छ। संसदमा सक्दैन,’ उनले भने। संसद्मा विधि र प्रक्रियाअनुसार सरकार गठन हुने उल्लेख गर्दै उनले थपे, ‘त्यो विधि र प्रक्रिया गणितका आधारमा मिल्ने हो, जुन नेकपासँग सम्भव छैन।’ उनले अर्को निर्वाचन नहुन्जेल प्रदेश २ मा फोरम र राजपा बीचको गठबन्धन कुनै हालतमा नटुट्ने ठोकुवा गरे।

प्रकाशित: १९ वैशाख २०७६ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App