८ वैशाख २०८१ शनिबार
अन्य

दुई लघुकथा

रवीन्द्र समीर

समय

यो पुरानो कथा हो। उसकी दिदीको एउटा युवकसँग प्रेम थियो। मनभित्र प्रेमको सागर छताछुल्ल थियो, तर बाहिर एक थोपा पनि देखाउने जमाना थिएन। उनीहरू मुस्किलले भेट्न पाउँथे, लाज र डरले निलोकालो हुन्थे। पत्राचार तथा भेटघाटमा बाचा गर्थे– सँगै बाँच्ने, सँगै मर्ने। कुरा यो जुनीको मात्र थिएन। सातौँ त के लाखौँ जुनीसम्म पनि एकअर्काको लागि साथ दिने प्रण गरेका थिए।

उनीहरूलाई मन पराउन जातले छेकेन, प्रेम गर्न जातले छेकेन, देहसुख लिन जातले छेकेन तर बिहे गर्न जातले छेक्यो। केटोले यात्रामा पाइला विपरीत दिशातर्फ मोड्यो अर्थात् सजातीय केटीसँग बिहे गर्‍यो। बिछोडको पीडा सहन नसकेर उसकी दिदीले सात पेज लामो सुसाइड नोट लेखेर आत्महत्या गरी।

यो नयाँ कथा हो। उसका धेरै केटा साथी थिए। केटाहरूसँग घुम्ने, घरमा आवतजावत गर्ने, सँगै खेल्ने र पढ्नेजस्ता विषय सामान्य थिए। उसको अधिकांश समय सामाजिक सञ्जालमा बित्थ्यो। च्याटमा भइरहने संवादबाट एउटा युवकसँग उसको मन जोडियो। च्याटमै भेट भयो, च्याटमै एकले अर्कोलाई प्रेम गर्ने बताए, च्याट र मोबाइलको स्त्रि्कनमार्फत् एकअर्कालाई चुम्बन गरे। स्काइपमार्फत् दूरदेहसुख अनुभूत गरे।

एकदिन फेसबुकको वालमा युवककी श्रीमतीले बिहेको फोटो ट्याग गरेको उसले देखी। धोकाको अनुभूतिले उसको मथिंगल रन्थनियो त्यसपछि उसले त्यो प्रेमीलाई अनफ्रेन्ड गरी।

चाहना

लाजले गाला रातो पार्दै पूर्वबाट सुन्तला दानाजस्तो सूर्य उदायो। कलिलो सूर्यका कलिला किरणलाई सधँै धरतीमा निशब्द बस्नुपर्दा वाक्क लागेको बिहानी थियो त्यो। धरती उस्तै भए पनि मान्छे सधैँ फरक देखिन्थे। कलिलो किरणलाई आफूजस्तै कलिला बालबालिकासँग खेल्न मन लाग्यो।

त्यसपछि बालकिरण एउटा कला मन्दिरभित्र पस्यो, कलिलो बालक भएर। झन्डै तीन दर्जन बालबालिका नयाँ वर्षको स्वागत गर्न पेन्टिङमा व्यस्त थिए। कलिलो किरण पनि उनीहरूको बीचमा गएर बस्यो।

कला प्रशिक्षकले सबै बालबालिकालाई रंगिचंगी ध्वजापताकामा आआफ्नो कामना लेखेर सुकेको क्षुपको हाँगामा झुण्ड्याउन सिकाइरहेका थिए। उसलाई यो वातावरण निकै मोहक लाग्यो। शुष्क क्षुपका हाँगाहरू रंगिचंगी पताकाले दुलहीझैँ सिंगारिएको थियो। कलिलो किरणले बालबालिकाको कामना पढ्यो–

' म गुलाफको फूल हुन चाहन्छु।'

'म बिल गेट्सजस्तै धनी हुन चाहन्छु।'

'म ठूलो डाक्टर बन्न चाहान्छु।'

'म संसारको सबैभन्दा मोटो मान्छे बन्न चाहन्छु।'

'म हजुरआमा हुन चाहन्छु।'

'म भिलेन हुन चाहन्छु।'

'म बेकरी पसले बन्न चाहन्छु।'

'म आइसक्रिमको पसल खोल्न चाहन्छु।'

'म वाग्मती नदी हुन चाहन्छु।'

'म सुनौलो रंगका कपडा लगाएर परी बन्न चाहन्छु।'

कलिलो किरण उनीहरूका कामना पढेर पुलकित भयो।

सबैको कामना पढ्दै जाँदा उसलाई एउटा कामनाले भित्रसम्म स्पर्श गर्‍यो। त्यो स्पर्श गर्ने कामना थियो– म केही पनि खानु नपर्ने, लगाउनु नपर्ने, जहाँ पनि बस्न मिल्ने, बिरामी नहुने र चार्ज गर्नु नपर्ने रोबोट बन्न चाहन्छु, किनकि मेरो बाबा–मम्मीसँग पैसा छैन रे!'

प्रकाशित: ६ कार्तिक २०७३ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App