डोल्पा– यहाँको एक नगरपालिकामा गैह्र दलितले अपमान जनक व्यवहार देखाउँदै एक दलितलाई कुटपिट गरि जातीय विभेद गरेका छन्। ठुलीभेरी नगरपालिका ११ रह गाउँका २३ वर्षीय दिपक कार्कीले सोही ठाउँका ३८ वर्षीय मनबहादुर विकलाई अपशब्द बोली लात्तीले कुटपिट गरेका हुन्।
हिडिरहेको बेला बाटो छेकेर हिडेको भन्दै अनाहकमा आफुलाई कार्कीले कुटपिट तथा डुमलगायतका अपशब्द बोली अपमान गरेको पीडित मनबहादुर विकले बताए। कुटपिट गरि अपमान हुने गरि गालीगलौज गरेकाले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा जिप्रकाले राजनीतिक दबाबमा निवेदन नबुझेको पीडित विकले नागरिक न्युजलाई बताए।
जिप्रकाले निवेदन नबुझेपछि जातीय विभेद बिरुद्धको अभियानमा हिडेका अभियान्तलाई सहयोग माग्न जाने क्रममा ठुलीभेरी नगरपालिका ११ का वडाअध्यक्ष लक्ष्मी कार्कीले जवरजस्ती वडामा लगेर ठाडो कागज गराएर मिलापत्र गराएको उनले बताए।
नेपालको संविधान २०७२ ले जातीय विभेद बिरुद्धको जघन्य मुद्दा हेर्ने अधिकार क्षेत्र जिल्ला प्रहरी कार्यालयलाई दिएको छ। तर बिभिन्न बहानामा प्रहरी आफ्नो जिम्मेवारीबाट भाग्ने गरेपछि पीडितहरु थप पीडित हुने गरेको जातीय विभेद विरुद्धको अभियन्ता लिला टमटाले बताए।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अबदेश विष्टले निवेदन आफु कहाँ आएको तर आपसी सल्लाहमा मिल्छौं भनेपछि सम्बन्धित वडामा पठाइएको बताए।
जाति, उत्पत्ती र पेशाको आधारमा कोही कसैलाई विभेद गर्न नपाइने संवैधानिक व्यवस्था गरिए पनि कार्यान्वयन र नियमनकारी पक्षको फितलो कारवाहीले जातीय विभेद सम्बन्धि बनेको ऐन नियम कागजमा मात्र सिमित रहेको दलित अगुवा मनबहादुर सार्कीले बताए।
प्रकाशित: १८ वैशाख २०७६ १०:५४ बुधबार