८ वैशाख २०८१ शनिबार
समाज

छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै सरकार

सुर्खेत- कर्णाली प्रदेश सरकारले एक सय ५० जना छोरी–बुहारीलाई तीन वर्षे प्राविधिक डिप्लोमा कोर्ष अध्ययनका लागि छात्रवृत्ति दिएको छ। प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउने उद्देश्यले चालू आर्थिक वर्षको बजेटमार्फत एक सय ५० जनालाई छनोट गरिएको कर्णाली प्रदेश शिक्षा निर्देशनालयका प्रमुख भक्तबहादुर ढकालले जानकारी दिए।

स्वास्थ्य, कृषि, वन विज्ञान र प्राविधिक इन्जिनियरिङतर्फ एक सय ५० छोरी–बुहारी छनोट गरिएको उनले जानकारी दिए। ‘प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य अनुसार छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको हो’ उनले भने, ‘सोही कार्यक्रम अनुसार पहिलो वर्ष एक सय ५० जनालाई छनोट गरेका छौं।’

प्रदेश सरकारले स्वास्थ्यतर्फ नर्सिङ, एचए, ल्याव टेक्निसियन, रेडियोलोजी, ल्याव, कृषितर्फ बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङतर्फ सिभिल र मेकानिकल तथा वन विज्ञानतर्फ तीन वर्षे डिप्लोमा कोर्षका लागि छात्रवृत्ति प्रदान गरेको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले छोरी–बुहारीलाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि चालू आर्थिक वर्षमा एक करोड ३० लाख ३६ हजार १३८ रुपैयाँ छुट्याएको छ। छात्रवृत्ति प्राप्त गरेका छोरी–बुहारीले अध्ययन सकेपछि तीन वर्ष प्रदेश सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने हुन्छ। यसका लागि प्रदेश सरकारले छात्रवृत्ति प्राप्त गरेकाहरुसँग लिखित संझौता गरेको छ।

‘छात्रवृत्ति प्राप्त गरेका छोरी–बुहारीले अध्ययन सकेपछि न्यूनतम तीन वर्ष प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ’ उनले भने, ‘शर्तसहित छोरी–बुहारी छात्रवृत्ति दिएका हौं।’ प्रदेश सरकारले तीन वर्षे प्राविधिक शिक्षा अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति दिएको हो।

‘एक जनालाई पहिलो वर्षका लागि न्यूनतम ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति दिएका छौं’ उनले भने, ‘प्रदेश सरकारले शिक्षातर्फ गरेको लगानीले राम्रो प्रतिफल दिने अपेक्षा हामीले गरेका छौं।’ छात्रवृत्ति आएका छोरी–बुहारीहरु विभिन्न कलेजमा अध्ययनरत छन्।

प्रकाशित: १८ वैशाख २०७६ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App