८ वैशाख २०८१ शनिबार
समाज

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

काठमाडौँ- काठमाडाैं महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन।

विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। महानगरले तत्काल चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माण गर्न लागेको डङ्गोलले जानकारी दिए।

महानगरले चालु आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट विनियोजन गरेको थियो। भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ। सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ। नयाँ ती पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ।

महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन्। सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्था छ। वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ। भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिएको छ।

पुल निर्माण गर्ने आठ स्थानमा टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशालाचोक रहेका छन्। सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदैआएको छ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ। दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा महानगरले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो। रासस

प्रकाशित: १८ वैशाख २०७६ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App