८ वैशाख २०८१ शनिबार
अर्थ

खाद्य बालीमा पनि प्रांगारिक विधि

चितवन- तरकारीमा मात्रै होइन, नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरका किसान धान, मकैजस्ता खाद्यबालीमा समेत रासायनिक मल र विषादी प्रयोग गर्दैनन्। छ वर्षयता त्यहाँका दुई सय ५० घरले प्रांगारिक खेती गर्दै आएका छन्। गाउँलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने तयारी उनीहरूको छ।

स्थानीय दुर्गा भुसालले प्लास्टिक घर (टनेल) भित्र गोलभेडा रोपेकी छन्। गोलभेडामा फूल लाग्न सुरु भएको छ। यसअघि उनले काँक्रो फलाएर बिक्री गरिन्। 'काँक्रोबाट छसात हजार रुपैयाँ आम्दानी भयो। अब गोलभेडाबाट अलि धेरै होला कि', दुर्गाको आशा छ। उनले धेरै उत्पादन लिने लोभमा रासायनिक मल तथा विषादी भने प्रयोग गरेकी छैनन्।

गाईभैंसीको मल र पिना, निम र असुरोको झोल तथा गहुँतलाई किसानले प्रांगारिक मल र विषादीका रुपमा प्रयोग गरेका छन्। मल तथा विषादी तयार गर्ने, रोप्ने, बीउ छनोट, बजार खोज्नेजस्ता काममा कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्था मेड नेपालले सहयोग गर्दै आएको छ।

 'अलि थोरै क्षेत्रफलमा तरकारी लगाएर प्रांगारिक खेतीबारे सिक्दैछु। सबै मेसो पाएपछि खेती विस्तार गर्छु', उनले भनिन्। उनले धान र मकै खेतीमा रासायनिक मल तथा विषादी राख्न छाडेको पाँच वर्ष भयो। पहिला एकदुई वर्ष उत्पादन केही कम भए पनि अहिले राम्रै फल्ने गरेको अनुभव उनको छ।

 देवचुली नगरपालिका वडा नं. १० र ११ का दुई सय ५० घरधुरी जलुके घुमाउरे नहर जल उपभोक्ता समितिमा आबद्ध छन्। उपभोक्ता समितिका सबै सदस्यले प्रांगारिक कृषि अँगालेका छन्। २०२८ सालमा नहर तयार भएको थियो। २०६६ सालमा स्विडेनको स्वर आइएफ नामक संस्थाको सहयोगमा नहरको स्तर उकास्ने काम भयो। सोही संस्थाले प्रांगारिक कृषि सुरु गर्न किसानलाई प्रेरित गरेको हो। 'सोही संस्थाका सरहरूले खेतीमा रासायनिक मल हाल्दा हुने बेफाइदाबारे बताएपछि हामी प्रांगारिक उत्पादनमा लाग्यौं। पहिला पाएजति रासायनिक मल र विषादी हाल्थ्यौं', जल उपभोक्ता समितिका अध्यक्ष पहलसिंह रानाले भने।

 रासायनिक मल र विषादीले मान्छेको स्वास्थ्य, वातावरण र माटोको गुणस्तर बिगार्ने जानकारी उनीहरूले पाए। त्यसपछि संस्थाको सक्रियतामा २५ कट्ठा खेत भाडामा लिएर सामूहिक रुपमा प्रांगारिक खेती सुरु भयो। सात वर्षअघि गरिएको सोही खेतीमा सिकेको ज्ञान किसानले आफ्नो खेतमा प्रयोग गर्न थालेका हुन्। 'अहिले आफूलाई चाहिने तरकारी सबैले प्रांगारिक मल र विषादी राखेर तयार गर्छन्। धान, मकैमा पनि रासायनिक मल, विषादी राख्दैनन्। प्रांगारिक तरकारीको व्यावसायिक उत्पादन पनि सुरु भएको छ। बिक्री गरेर आम्दानी लिन थालेका छन्', स्थानीय लक्ष्मी न्यौपानेले भनिन्।

प्रांगारिक मल र विषादी प्रयोग गरेर तरकारी खेती गर्दा सिजनमा मात्रै उत्पादन लिन सकिने भएकाले धेरैलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गर्न अलि समस्या भएको स्थानीय केशर आलेले बताए। 'कुनै बीउ र बेर्नाले रासायनिक मल विषादी नै खोज्दा रहेछन्। बेसिजनको तरकारीलाई पनि प्रांगारिक मल विषादीले खासै छोएन', आलेले भने।

गाईभैंसीको मल र पिना, निम र असुरोको झोल तथा गहुँतलाई किसानले प्रांगारिक मल र विषादीका रुपमा प्रयोग गरेका छन्। मल तथा विषादी तयार गर्ने, रोप्ने, बीउ छनोट, बजार खोज्नेजस्ता काममा कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्था मेड नेपालले सहयोग गर्दै आएको छ।

 'गाइभैसी पाल्नु पर्‍यो। शत्रु जीव र मित्र जीव चिन्न र छान्न सक्नु पर्‍यो। वास्तवमा किसानलाई प्रांगारिक कृषिले परिश्रमी बनाउँछ', स्थानीय ठानप्रसाद शर्माले भने। उनले गाउँको उत्पादन बिक्री गर्न ठेला किनेका छन्। ठेलामा राखेर डुलाउँदै तरकारी बेच्छन्। पृथ्वीनगरबाट आएको तरकारी भनेपछि प्रायः सबैले किन्ने गरेको उनको अनुभव छ। 'प्रांगारिक उत्पादनको मूल्य अलि बढी भए यसमा लागेका किसानलाई प्रेरणा मिल्थ्यो', शर्माले भने। नहरमा चैत, वैशाख र जेठमा पानी आउँदैन। त्यसैले डिप बोरिङ राख्न सके तरकारी उत्पादनमा राम्रो प्रभाव पर्ने स्थानीय विष्णु भुसालले बताए।

मेड नेपालले प्रांगारिक उत्पादन वृद्धिका लागि किसानलाई थप सहयोग गर्ने भएको छ। मेड नेपालकी परियोजना संयोजक अमृता गुरुङले प्रांगारिक उत्पादनका क्षेत्रमा देखिएका समस्या पहिचान गरेर कम गर्न संस्थाले सहयोग गर्ने बताइन्। 'प्रांगारिक क्षेत्र सम्बन्धित व्यक्ति र निकायले प्रमाणित गर्नुपर्ने हुन्छ। हामी प्रमाणीकरणमा पनि सहयोग गरेर यो क्षेत्रलाई पूर्ण प्रांगारिक गाउँ घोषणा गर्ने तयारीमा छौं', उनले भनिन्।

प्रकाशित: ६ कार्तिक २०७३ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App