coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

निजी छाडेर सरकारी विद्यालयमा आउँछन् विद्यार्थी

गोरखा– स्थानीय तहहरूले सामुदायिक विद्यालयमा विद्यार्थी नभएर धमाधम ‘मर्ज’ गरिरहेका बेला गोरखा नगरपालिका ८ आहालेको सरस्वती माध्यामिक विद्यालयलाई भने विद्यार्थी थेग्न मुस्किल छ।

नयाँ भर्ना भएका एक सय ९५ जनासहित एक हजार छ जना विद्यार्थी पढ्ने उक्त विद्यालयमा ८–१० सम्म तीन÷तीनवटा ‘सेक्सन’ छ भने ५ –७ मा दुई/दुईवटामा विद्यार्थी पढ्न थालेका छन्। यो संख्यामा चालु वर्ष नयाँ भर्ना भएका विद्यार्थी जिल्लाका अन्य कुनै विद्यालयमा छैनन्।

अंग्रेजी माध्यामबाट पढाई हुने नाम चलेका सदरमुकामका निजी विद्यालयबाट कक्षा ८ र ९ मा भर्ना हुन सामुदायिक विद्यालय जाने विद्यार्थी संख्या धेरै छन्। ‘बोर्डिङ स्कुलबाट हाम्रो विद्यालयमा पढ्न आएकाहरू धेरै छन्, अझै केही आउने क्रममा छन्’, सरस्वती माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले भने।

कक्षा ८ का हरेक सेक्सनमा ४० जना, ९ का सेक्सनमा ५२ र १० मा ४३ जना छन्। विद्यार्थी थेग्न मुस्किल भएपछि तीनवटासम्म सेक्सन विभाजन गरेर यो वर्षदेखि बस सेवा थपेर पढाउनु परेको प्रधानाध्यापक भट्टराईले बताए। सामुदायिक विद्यालयमा दुईवटा ‘स्कुल’ बस राख्ने सरस्वती मावि पहिलो विद्यालय हो। शहीद लखन गाउँपालिका, गोरखा नगरपालिकाको ३, ६ र ५,७,९ लगायतका वडाबाट विद्यार्थी पढ्न आउने ईच्छा राखेपछि बससेवा सुरु गरिएको हो। 

सामुदायिक भएर पनि विद्यार्थी ओइरो लाग्नुको एउटै कारण हो, निजी विद्यालय सरह छोराछोरीलाई कम शुल्कमा पढाएको महसुस अभिभावकले गर्छन्। यो विद्यालयमा अंग्रेजी माध्यामबाट पढाई हुन्छ। १–१० अंग्रेजी माध्याम छ भने ११–१२ नेपाली अंग्रेजी दवै माध्याममा छ। ‘साईन्स ल्याब, प्रोजेक्टरबाट पढाई, बालकक्षामा बालमैत्री (खेल्दै सिक्दै) कक्षा संचालन, विद्यालयका पक्की र स्तरीय संरचना, शिक्षकहरूको लगाव र निरन्तर जिल्लामा उत्कृष्ट भएका कारण अभिभावक छोरछोरीलाई त्यहाँ पढाउन उत्साहित बनेका हुन्। 

‘निजी विद्यालयकै गुणस्तर सस्तोमा प्रदान गरेका कारण अभिभावकको आकर्षण बढेको हुनसक्छ’, प्रअ भट्टराई भन्छन्। सरस्वती मावि आहाले २०६२ सालमा पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालय बनेको थियो। सामुदायिक विद्यालयतर्फ जिल्लामा कयौँ पटक उत्कृष्ट, ग्रेडिङ प्रणालिमा नजाँदासम्म लगातार सात वर्ष एसएलसीको नतिजामा सत प्रतिशत उर्तिण गराउन सक्नु विद्यार्थीको आकर्षण बढ्नुको एउटा कारण हो। 

शिक्षक र कर्मचारीसहित ३५ जना कार्यरत यहाँ पढाउने विषय शिक्षकले अन्य विद्यालयमा पढाउने शिक्षकले भन्दा औषत उपलब्धी हाँसिल गरेका कारण पटक–पटक सम्मानित भए। प्रअ भट्टराई गणित शिक्षक हुन्। उनी पाँचपटकसम्म उत्कृष्ट विषय शिक्षकका रूपमा शिक्षा कार्यालयमार्फत सम्मानित भएका थिए। 

३५ जना शिक्षक र कर्मचारीमध्ये केही विद्यालयले निजी स्रोतमा राखेको छ। ‘वार्षिक ४५ लाख रुपैयाँ विद्यालयलाई आवश्यक पर्छ, हाम्रो अतिरिक्त खर्च छ’, प्रअ भट्टराईले भने, ‘यो शुल्क अभिभावक र शिक्षकबाटै व्यवस्थापन गरेका छौँ।’

११–१२ को भर्ना शुल्क, परीक्षा शुल्क, एसईई उर्तिण भएर जाने विद्यार्थीले विद्यालयमा चारित्रिक प्रमाणपत्र लिए बापत शुल्क, वार्षिक रूपमा प्रावितहमा प्रति विद्यार्थी पाँच सय, निमावि तह एक हजार, कक्षा नौ तीन हजार र १० मा तीन हजार पाँच सय रुपैयाँ विद्यायले लिने गरेको छ। ‘अभिभावकसँग छलफल गरेर व्यवस्थापन समितिको निर्णयअनुसार लिएका हौँ’, प्रअ भट्टराईले भने ‘अभिभावक खुसी हुनुहुन्छ, हामीले जवरजस्ती शुल्क लिएका छैनौँ, यति शुल्क पनि लिइएन भने अहिले दिइरहेको गुणस्तरमा शिक्षा दिन समस्या हुन्छ।’

निजी स्रोतमा शिक्षक राख्नुपरेको, शिक्षकहरूलाई अतिरिक्त समय पढाउन लागाउँदा प्रोत्साहन रकम दिएको, कक्षा शिक्षकलाई जिम्मेवार बनाउने भत्ताको व्यवस्था गरेकाले विद्यालयको व्ययभार बढी छ।

‘लगानी गरियो भने गुणस्तर बढाउन सकिन्छ भन्ने अभ्यास बर्सेनि गरिरहेका छौँ’, उनले भने, ‘संघ संस्था र सरकारी नियकाबाट पनि सहयोग माग्दै विद्यालय चलाएका छौँ।’ गत वर्ष प्रअ भट्टराई एक दिन पनि बिदा नबसेको बताउँछन्।

अन्य शिक्षकहरू पनि बिदा खासै बस्दैनन्, कारण बिदा नबस्ने शिक्षकलाई बिदा सुविधा वापत पाउने पारिश्रमिक विद्यालयले दिन्छ। ‘शिक्षकले धेरै समय दिएपछि गुणस्तर बढ्छ, विद्यार्थीले पढ्न पाउँछ’, प्रअ भट्टराई भन्छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App