१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

चीनबाट सिक्नुपर्ने कुरा

मानव समाजको इतिहासमा सम्भवतः सबभन्दा बढी पूर्वाधार विकास गर्न सफल देश हुनुको नाता चीन आफूले सिकेका पाठ अरूलाई सम्प्रेषण गर्ने सामर्थ्य राख्छ।

सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युग थालनी भयो। जसलाई सुधार र खुलापनको युग भनिन्छ ।सुधार र खुलापनको युगमा पदार्पण गरेयता चीनले आफ्ना वरपर संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न ग-यो। यही युगमा धेरै प्रकारका विचार चीनमा आयात गरियो। ‘बृहत् सिकाइ’ को अवधि भनिने यो समयमा चीनका राजनीतिज्ञ, प्राज्ञ, व्यापारी र अरू तप्काका मानिस संसारभर फैलिएर आफ्नो देशका लागि उपयोगी हुने काम सिके। जर्मनी र जापानबाट विचार तथा अमेरिका र युरोपबाट प्रविधि सिके।

प्रमाणित नतिजा
सुधार र खुलापनको युगले प्रष्टरूपमा दुई नतिजा निकाल्यो। पहिलो, चीनमा भित्र्याइएको नयाँ विचार र प्रविधिले ल्याएको आर्थिक वृद्धि। यो नतिजा सबैले देखेको र प्रशंसा गरेको परिणाम हो। सन् १९७० दशकको उत्तरार्धसम्म चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन केही सय डलर मात्र थियो। आज प्रतिव्यक्ति आम्दानी झन्डै १० हजार अमेरिकी डलर पुगेको छ। आज चीनले विश्वमा मध्यम आय मुलुकको छवि बनाइसकेको छ।

सुधार र खुलापनको युगमा चीनले दशौँ करोड मानिसलाई गरिबीबाट उकास्यो । चिनियाँ अर्थतन्त्र बाँकी संसारको वृद्धिको प्रमुख स्रोत बनेको छ।  
चिनियाँ समाज, संस्कृति र आर्थिक बनोटको आफ्नै विशिष्टताका कारण चीनले बाहिरबाट भित्र्याएको विचारमा आफ्नै अनुकूलतामा रूपान्तरण पनि गरेको छ। चीनले विकासको आफ्नै नयाँ ढाँचा निर्माण गरेको छ। आज त्यो ढाँचाबारे संसारभर चासो र चर्चा छ। संसारले चिनियाँ विकासको ढाँचा अध्ययन गरिरहेको छ। चिनियाँ ढाँचाबारे धेरै थरीका व्याख्या र परिभाषा पनि छन्। तर वास्तविकता के हो भने चीनले बितेका चार दशकमा आफ्नै विकास पथबाट धेरै कुरा सिकेको छ। निःसन्देह आज चीन त्यही आफ्नो अनुभव संसारमा बाँड्ने अवस्थामा पुगेको छ। चीनले आफ्नो अनुभव बाँकी विश्वसँग बाँडिरहेको युगमा हामी बाँचिरहेको भन्नु अतियुक्ति नहोला। हिजो प्रशिक्षार्थी रहेको चनी आज प्रशिक्षकको स्थानमा उक्लिएको छ।

बेल्ट एन्ड रोड परियोजना कसैमाथि दबाब र सिफारिस प्रक्रिया होइन। यसको ध्येय एउटा बृहत् मापदण्ड बनाउनु हो जसको मूल उद्देश्य विकासबारे चीनले सिकेका कुरा अरू देशलाई प्रदान गर्नु हो।


बितेका केही वर्षमा चीन विद्यार्थीबाट शिक्षक बन्ने प्रयासको उपयुक्त माध्यम बनेको छ–एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)। मानव समाजको इतिहासमा सम्भवतः सबभन्दा बढी पूर्वाधार विकास गर्न सफल देश हुनुको नाताले चीन आफूले सिकेका पाठ अरूलाई सम्प्रेषण गर्ने सामथ्र्यराख्छ। सन् २०१४ मा चीन सरकारले एआइआइबीको शुभारम्भ गर्दा धेरै थरी आलोचना भएका थिए। तर विकाससम्बन्धी चीनको विशिष्ट सिकाइ र अभ्यास बाँड्ने अनि प्रयोग गर्ने उसको सिद्धान्त स्वीकार्य बन्दै गयो।

धनवितरण
दशकौँ लामो सुधार र खुलापन प्रक्रियाको दोस्रो र बृहत् सिलसिला हो– ‘बेल्ट एन्ड रोड’ परियोजना। यो परियोजनाले पूर्वाधारसञ्जाल, सूचना प्रविधि, जनस्तरको सम्बन्ध र वित्तीय बन्दोबस्तजस्ता बृहत् क्षेत्र समेटेको छ। चीनले सन् १९७० दशकको उत्तर्राद्र्धतिर अँगालेको ‘बृहत् सिकाइ’ जस्तै सिकाइ प्रक्रियाबाट संसारका अरू क्षेत्र र देशले पनि सिक्न सक्छन्।

बेल्ट एन्ड रोड परियोजनाको यो एउटा सरल व्याख्या हो। केहीले यसलाई भूराजनीतिक आँखाले बांगो कोणबाट पनि बुझिरहेका छन्। तर बेल्ट एन्ड रोड अवधारणाको खुलापन र महत्त्वाकांक्षालाई कुनै एउटा व्याख्याभित्र सजिलै परिभाषित गर्न सकिँदैन। यसलाई बहुकोणबाट व्याख्या गरिनुपर्छ। चिनियाँ सरकार समेतले यसमा लचकताको प्रशस्त ठाउँ रहेको बताउँदै आएको छ। चीन सरकारले परियोजनाको लक्ष्य हासिल गर्न रणनीति वा प्राथमिकतामा परिवर्तन गर्न सकिने संकेत गर्दैआएको छ। सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले पहिलोपटक यो परियोजनाको प्रस्ताव गरेयता थप बृहत् छलफल र बहस चालु छ। बेल्ट एन्ड रोड परियोजना कसैमाथि दबाब र सिफारिस प्रक्रिया होइन। तर कसैले यसलाई त्यही कोणबाट आलोचना पनि गरिरहेका छन्। यो परियोजनाको ध्येय एउटा बृहत् मापदण्ड बनाउनु हो जसको मूल उद्देश्य विकासबारे चीनले सिकेका कुरा अरू देशलाई प्रदान गर्नु हो।

आपसमा सिक्ने ढाँचा भएकाले यो परियोजनाको मनसाय र आकांक्षासँग जोडिएर आउने संशय न्यून छ। चिनियाँ ढाँचा नामको कुनै निश्चित बुझाइ कसैमाथि थोपर्ने यो परियोजनाको ध्येय होइन। बेल्ट एन्ड रोड परियोजनाको सबैभन्दा सकारात्मक पक्ष यही हो। केही दशकअघिसम्म चल्तीमा रहेका असमान अवस्था यसले उल्ट्याएको छ। उतिबेला चीन सधैँ सिक्ने अवस्थामा हुन्थ्यो। आमरूपमा पश्चिमा भनिने(युरोप, संरा अमेरिका, अस्ट्रेलिया र एसियाका केही विकसित देशहरू) चीनलाई सिकाउने अवस्थामा थिए। आज सबै एकआपसमा शिक्षक र विद्यार्थी बनेका छन्। चीनको शिक्षण शक्ति भने अरू देशका लागि चुनौतीपूर्ण बनेको देखिन्छ। यद्यपि यसलाई प्रतिस्पर्धाकारूपमा लिइनु उचित होइन।

नयाँ सम्भावना
चीनको पूर्वाधार निर्माण गर्ने तरिकाप्रति युरोपले चासो राख्नुपर्छ। चीनका केही अनुसन्धानमूलक प्रविधिमा उसले ध्यान दिनुपर्छ। ती अनुसन्धानमूलक प्रविधिले विद्युतीय बेल्ट एन्ड रोड परियोजनालाई बढावा दिनेछ। साथै बेल्ट एन्ड रोड कार्यक्रमले अँगाल्ने केही परियोजनाका लागि दिगो वित्तीय तथा पर्यावरणीय ढाँचाजस्ता नयाँ विषयमा सँगै काम गर्न अहिलेको समय महत्त्वपूर्ण अवसर हो।

युरोप र चीनले आपसी परिपुरण क्षेत्र पहिचान गर्न गुणात्मक संवाद गर्न जरुरी छ। बेल्ट एन्ड रोडलाई निकै विशाल, महत्त्वाकांक्षी र चुनौतीपूर्ण अनि चीनको विशिष्टतासँग मात्र मेल खाने परियोजनाकारूपमा हेर्नु हुन्न। यसरी बुझ्दा चीनको विकासको ढाँचा संसारका लागि कसरी उपयुक्त छ भन्ने कुरा सिक्ने अवसरबाट वञ्चित हुनु हो। साझा परियोजनाहरूमा चिनियाँहरूबाट हुनसक्ने गल्तीलाई पनि बेवास्ता गर्न भने मिल्दैन। अनुभवबाट सिक्ने भन्ने अवधारणा चिनियाँहरूले सन् १९७८ पछि बोकेको प्रमुख अवधारणा हो। चीनको यो विचारले गल्ती पनि सिकाइको एउटा हिस्सा हो भन्छ। गल्तीबाट सिक्ने र सिकेको पाठ अंगीकार गर्नु नै यसको मूल सिद्धान्त हो।

बेल्ट एन्ड रोड परियोजनाको युगमा चीन र चिनियाँहरू मात्र होइनन्, हामी सबै ‘बृहत् सिकाइ’ को युगमा छौँ। यतिबेला संसारमा जे जस्ता घटना र गतिविधि भइरहेका छन्, तिनलाई बेल्ट एन्ड रोड परियोजनाको कोणबाट हेर्दा सकारात्मक क्षितिज देखिन्छ। केही असमझदारी, गलत बुझाइ र गलत पक्षधरता सिकाइ प्रक्रियामा पक्कै पनि देखिएको छ। तर अन्ततः यसले सकारात्मक नतिजा नै दिने देखिन्छ। विचारधारा र राजनीतिक पूर्वाग्रहका आधारमा यो सिकाइ ढाँचालाई उपेक्षा गर्ने हो भने हामीले निकै उपयोगी र प्रभावशाली सिकाइलाई उपेक्षा गरिरहेका हुनेछौं। पश्चिम एसियाबाट सिक्नुपर्ने कुरा धेरै उठ्ने गर्छ। विशेषतः चीनबाट सिक्नुपर्ने कुरा चलिरहन्छ। बेल्ट एन्ड रोड परियोजना चीनबाट सिक्ने एउटा बाटो हो।

यतिबेला युरोपलाई प्राप्त रणनीतिक अवसरका आधारमा युरोपेली देशहरूले चीनको यो परियोजनालाई संरा अमेरिकाले भन्दा थप गतिशील तरिकाबाट सोच्न जरुरी छ। बेल्ट एन्ड रोड परियोजना भौगोलिक रूपमा पनि युरोपमा पुगिसकेको हुनाले युरोपले त्यसरी सोच्नु उपयुक्त हुन्छ। चीनलाई सिकाउने र कुनै पनि काम कसरी गर्ने भन्ने कुरा चीनले आफूबाट सिक्नुपर्छ भन्ने चिन्तनशैली युरोपले त्याग्नुपर्छ । बरु आपसमा भएका ज्ञान सिकाउने र सिक्ने सन्तुलित सोचाइ विकास गर्नुपर्छ। बेल्ट एन्ड रोड परियोजनाको यो नै सबभन्दा महत्त्वपूर्ण अन्तर्य हो तर युरोपेली देशलाई यो कुरा स्वीकार्न निकै गाह्रो भइरहेको छ। चीनलाई पनि शिक्षकका रूपमा सोच्ने विचार युरोपका धेरैलाई पाच्य भइरहेको छैन। तर चीनको विकास पथ र विचार हेर्दा नयाँ विकल्पलाई स्वीकार्नुबाहेकअर्को उपाय देखिँदैन। युरोपका मानिस यस विषयमा खुला बन्न चाहन्छन् वा चाहँदैनन् भन्ने नै मुख्य प्रश्न हो? चीनविज्ञ पियरी रेकमेनले भनेका छन्– ‘फरक संस्कृतिप्रति खुला हुनुको अर्थ त्यसबाट परिवर्तित हुनु हो।’ बेल्ट एन्ड रोड परियोजनासँगै युरोपेली र अरूले आफ्नो अभ्यासमा गुणात्मक परिवर्तन ल्याउनुपर्छ।
(लेखक लन्डनको किन्स कलेजअन्तर्गत लुआ चाइना इन्स्टिच्युटका निर्देशक हुन्।)
स्रोतः बेइजिङ रिभ्यु, नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: १८ वैशाख २०७६ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App