७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिकाको खर्चमा रारा भ्रमण

धादिङ - जम्बोटोलीसहित रारा भ्रमणबाट फर्किएपछि नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आलोचित बनेका छन्। मेयर, उपमेयर, कार्यपालिका सदस्य, १२ वटा वडाका अध्यक्षसहित ३० जना सात दिनको भम्रण गरी सोमबार फर्किएका हुन्। मेयर, उपमेयर नै भम्रणमा भएका बेला नगरपालिकाको प्रायः सबै काम रोकियो। वडाध्यक्षहरुले वडासदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि सेवाग्राहीले वडाबाट सन्तोषजनक सेवा पाएनन्।

नीलकण्ठको जम्बो टोली बाँकेका कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र जुम्लाको चन्दननाथपुर नगरपालिका अवलोकनमा निस्किएका थियो। उनीहरु नगरपालिकाको बजेटबाट पाँच लाख रुपैयाँ छुट्याएर रारा पुगेका हुन्।

सवारी साधनको लस्कर नै लिएर मेयर, उपमेयर र वडाध्यक्ष नै भ्रमणमा गएपछि सेवा लिन नगरपालिका पुगेका सेवाग्राही त्यसै फर्किएका थिए। चार दिनअघि नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले अवलोकन भम्रणका लागि नगर परिषद्ले केही रकम छुट्याएको बताए। ‘विभिन्न स्थानीय तहको अवलोकन भम्रणका लागि परिषद्बाट केही बजेट छुट्याइएको छ’, उनले भने, ‘भ्रमणमा कति खर्च भयो, त्यो प्रतिवेदन पेस भएपछि थाहा हुन्छ।’
नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको नेतृत्वमा उपमेयर मनराज भण्डारीसहित ११ वटै वडाका अध्यक्ष भ्रमणमा निस्किएका थिए। यता जनप्रतिनिधिहरु भ्रमणमा गएको थाहा नपाएर सेवा लिन आएका सेवाग्राही आफ्नो काम नहुँदा आक्रोशित बनेका थिए।
सामान्यतया रारा भ्रमण सकेर फर्कंदा एकजनाको कम्तीमा २५ देखि ३० हजार रुपयाँ खर्च हुन्छ। यसरी हिसाब गर्दा नगरपालिकाको ३० जनाको टोलीको खर्च ९ लाख हुन्छ। यो भम्रणमा कम्तीमा १२ लाख खर्च भएको अनुमान विज्ञहरुको छ। भम्रण टोलीले भने ७ लाख मात्र खर्च भएको दाबी गरेको छ। रोचक कुरा त के छ भने नगरपालिकाको नीतिगत विषयमा सधैं विवाद गर्ने मेयर, उपमेयर र वडाध्यक्ष रारा भ्रमणमा भने सँगै थिए।

प्रकाशित: १८ वैशाख २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App