८ वैशाख २०८१ शनिबार
कला

महिलाले बनाए बाँसको कलात्मक सामग्री

बाँसद्वारा निर्मित कलात्मक सामग्रीसहित सामूहिक तस्बिर खिचाउँदै तालिमका सहभागी एवं अतिथीहरू। तस्बिर: टंक/नागरिक

सर्लाही - आदिवासी जनजाति महिलाले बाँसबाट कलात्मक हस्तकला सामग्री तयार पारेका छन्। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित आदिवासी जनजाति भवनमा एक महिना लामो तालिम लिएका महिलाले बाँसबाट चुरी स्ट्यान्ड, मोबाइल स्ट्यान्ड, स्टे«, डटपेन स्ट्यान्ड, ब्रस स्ट्यान्ड, जुत्ताचप्पल राख्ने ¥याक, बस्ने मुढा, कपलगायत कलात्मक हस्तकला सामग्री बनाएका हुन्।

‘एक महिने तालिमले हामीलाई निकै टेवा पुगेको छ। अब बाँसद्वारा कलात्मक सामग्री बनाउन सक्ने भएका छौं’, तालिममा सहभागी हरिवन नगरपालिका कार्यपालिका सदस्यसमेत रहेकी सजनी स्याङ्तानले भनिन्, ‘अब तालिमका सहभागी मिलेर सामूहिक रूपमा व्यवसाय गर्ने सोच बनाएका छौं।’ उनले घरमा त्यसै बसेर दिन बिताउने गृहिणी महिलालाई यस्तो तालिमले निकै टेवा पुगेको उल्लेख गर्दै अब व्यावसायिक रूपमा अगाडि बढ्दै स्वरोजगार बन्न आग्रह गरिन्।

एक महिने तालिमले हामीलाई निकै टेवा पुगेको छ। अब बाँसद्वारा कलात्मक सामग्री बनाउन सक्ने भएका छौं।

नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्ले आयोजना गरेको तालिममा स्थानीय २९ जनाले बाँसका सामग्री बनाउन सिकेका थिए। तालिम समापन समारोहकी प्रमुख अतिथि प्रदेश सांसद् बेची लुंगेलीले तालिमबाट आदिवासी जनजाति समुदायका महिलाहरूलाई आत्मनिर्भर बन्न टेवा पुग्ने बताईन्। ‘तालिमले आदिवासी जनजाति समुदायका महिलाले सीप हात पार्नुभएको छ’, लुंगेलीले भनिन्, ‘अब प्राप्त सीपलाई समूहगत रूपले घरेलु उद्योगको रूपमा व्यवसाय गर्दै आर्थिक उपार्जनमा लाग्न म सहभागीलाई अनुरोध गर्दछु। उद्योग स्थापनाका लागि आवश्यक सहयोग गर्नसमेत तत्पर छु।’

सदस्य सचिव गोविन्द माझीले आदिवासी जनजाति समुदायलाई अधिकार मात्र खोज्ने भन्दापनि आर्थिक उपार्जनको बाटोमा अगाडि बढाउन प्रतिष्ठानले मुलुकका १० स्थानमा विभिन्न खाले स्वरोजगार एवं सीपमूलक तालिम सञ्चालन गरेको बताए। माझीले प्लाष्टिकका सामग्रीको तुलनामा कलात्मक देखिने भएकाले पछिल्लो समय बाँसका सामग्रीको बजारमा उच्च माग रहेकोले तालिमका सहभागीले सिकेको सीपलाई व्यवसायीकरण गर्दै आर्थिक उपार्जनको राम्रो माध्यम बनाउन सक्ने बताए।

तालिममा द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले समेत विद्यालय बिदा भएको मौका पारेर स्वतस्फुर्त सहभागिता जनाउँदै सीप हासिल गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App