७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोलुमा पुँजी बजारबारे अन्तरक्रिया

सोलुखुम्बु - नेपाल धितोपत्र बोर्डको आयोजनामा जिल्लामै पहिलो पटक पुँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सर्वसाधारणमा सेयर बजारबारे आधारभूत जानकारी दिलाउने उद्देश्यले जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो।

अन्तरक्रियामा बोर्डका निर्देशक रुपेश केसीले नेपालको वित्तीय प्रणाली, पुँजी बजार, संयन्त्र र महत्व, नेपाल धितोपत्र बोर्डको काम, कर्तव्य र अधिकार, धितोपत्रका प्राथमिक र दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, काम र कारोबारका प्रक्रिया, नेप्से परिसूचक तथा घटबढ हुने कारणबारे जानकारीमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै धितोपत्रको प्रकार अनुसार जोखिमस्तर, केन्द्रीय निक्षेप सेवा, सेयर होल्डरको हकहित रक्षासम्बन्धी व्यवस्था, लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष र धितोपत्र बजार सुधारका सम्भावना र पहलबारे जानकारी र अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियामा सहभागीले पुँजी बजारको सूचना अभावमा अल्मलिनु परेको गुनासो गरेका थिए। सल्लेरीका डाक बहादुर राईले सहि समयमा सूचना नपाउनु नै मुख्य समस्या भएको बताए। उनले भने, ‘सर्वसाधारणले पुँजी बजारबारे सजिलै बुझ्ने अवस्था पनि छैन। बुझ्नसके र समयमै जानकारी पाउन सके हिमाली जिल्लाका सर्वसाधारण पनि लाभान्वित हुने थिए।’ नेपाल धितोपत्र बोर्डका अधयक्ष रेवत बहादुर कार्कीले पुँजी बजारमा प्रवेशका लागि सर्वसाधारण आफैले तदारुकता देखाउन आवश्यक रहेको बताए। सर्वसाधारणको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष कार्कीले धितोपत्र बोर्डको वेबसाइटमा सेयर निस्कासनबारे नियमित अपडेट हुने भएकाले कम्तिमा पनि हप्ताको एकपटक हेर्न आग्रह गरे।

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय उद्योगी, व्यवसायी, पत्रकार र विद्यार्थीको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले वास्तविक सूचना र प्रक्रियाको जानकारी अभावमा सर्वसाधारण अल्मिलिनु परेको बताए। उनले विभिन्न हाइड्रोपावरको सेयर राजनीतिक दलको माध्यमबाट भागबण्डाको चर्चा चलिरहेकाले धितोपत्र बोर्डको ध्यानाकर्षणसमेत गराए। केही महिनाअघि मात्र विश्व बैंकको सहयोगमा सल्लेरीमै सेयर बजारसम्बन्धी चेतनामूलक अन्तरक्रिया सम्पन्न गरिएको थियो।

प्रकाशित: १८ वैशाख २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App