coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आरोहीको ओइरो ः ४८ करोडभन्दा बढी रोयल्टी

काठमाडौं – यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ। यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्यामा उत्साहजनक वृद्धि भएको छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको संख्या ९३ पुगेको छ। सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट सात सय ७८ जना आरोही गएका छन्।
सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार आठ सय ४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ। यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार नौ सय १२ रोयल्टी उठेको छ। सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन्।

त्यसैगरी, ल्होत्सेमा नौ आरोही समूहका ७७ आरोही छन्। अमादब्लमका लागि पाँच आरोही समूहका ४९ आरोही र कञ्चनजंगा आरोहणका लागि पाँच आरोही समूहका ३२ आरोही गएका छन्। त्यस्तै, मकालुका लागि चार आरोही समूहका ५३ आरोही गएका छन्। अन्नपूर्णमा तीन र धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ।

सगरमाथामा कुन देशका कति आरोही ?
वसन्त ऋतुको यो याममा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि तीन सय ७५ आरोही छन्। तीमध्ये दुई सय ९९ पुरुष र ७६ महिला छन्। सबैभन्दा बढी भारतबाट ७५, संयुक्त राज्य अमेरिकाबाट ७४ र चीनबाट ६० आरोही सगरमाथा आरोहणमा गएका छन्।

त्यस्तै, संयुक्त अधिराज्य बेलायतबाट ४३, नेपालबाट १३, नर्वे र क्यानाडाबाट समान आठ र जापान र लेबनानबाट ८–८ तथा ब्राजिल, नर्वे र अर्जेन्टिनाबाट ५–५ जना आरोही छन्।
सगरमाथा आरोहणमा जाने महिलातर्फ सबैभन्दा धेरै चीनबाट २० र भारतबाट १८ जना छन्। पुरुषतर्फ अमेरिकाबाट ७०, भारतबाट ५७ र चीनबाट ४० सबैभन्दा धेरै आरोही रहेका छन्। वैशाख महीनाभर जसो आरोही आउने भएकाले यो संख्या अझै बढ्ने विमागले अनुमान गरेको छ।

रोयल्टी बढी उठ्यो
अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ। यो मौसममा आरोही आउने क्रम जारी रहेको हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ।

अघिल्लो वर्षको सोही याममा सगरमाथासहितका हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ रोयल्टी जम्मा भएको थियो। सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार तीन सय १२ रुपैयाँ रोयल्टी उठेको थियो।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि एक सय सात आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए। सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि एक सय आठ आरोही दल गएका थिए। मुलुकको पर्यटनमा महŒवपूर्ण आधार पर्वतीय पर्यटन हो। राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ।
संसारका ओरीहीको उत्कृष्ठ रोजाइमा सगरमाथासहितका हिमाल पर्छन्। त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य संख्यामा आरोहणका लागि नेपाल आउने गर्छन्। पर्वतारोहण आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये नेपालमा आठवटा हिमाल पर्छन्।

नेपाल पर्वतारोहण संघ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन्।
सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले ७५ हजार रोयल्टी बुझाउनुपर्छ। सरकारले आरोहणका लागि चार सय १५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य हिमाल एक हजार तीन सयभन्दा बढी रहेको बताइन्छ।

प्रकाशित: १८ वैशाख २०७६ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App